नागरिकता विक्रीको पसल खुल्नेभो भनेर कोही पुर्पुरोमा हात लगाइरहेका छन् त कोही धारे हात । तर कोही भने जुँगामा ताउ लगाउँदै छन् । हावामा कावा खाइरहेको कौवा झैं म चाहिँ रनभुल्लमा छु । सामाजिक सञ्जाल हेर्दा देश रणभूमि नै बन्ला जस्तो छ ।
कागले कान लग्यो भनेपछि कागको पछि दौडने जमात भएको देशमा कुहिराको काग बन्नु के अचम्म भो र ? सुझो न बुझोसँग आआफ्नो तर्क तान्यो अनि आफै समस्याको गहिरो खाल्डो खन्यो । अनि त नेपालमा सधैं रमिता ।
ए बाबा फिजी र सिक्किम हुन्छ भनेको सुनेरै एउटा पुस्ता बितिसक्यो, अर्को कति पुस्ता बित्ने हो खै ?
वैवाहिक अंगीकृत नागरिकताको अहिलेको व्यवस्थाले राष्ट्रियता ध्वस्त हुन्छ रे । इजी नागरिकताले नेपाल अब केही दिनमा फिजी बन्छ रे । ए बाबा फिजी र सिक्किम हुन्छ भनेको सुनेरै एउटा पुस्ता बितिसक्यो, अर्को कति पुस्ता बित्ने हो खै ? पहिले नेताहरूले स्वीट्जरल्यान्ड र सिंगापुर बनाउँछु भन्थे । हेर्दाहेर्दै अहिले झिँगापुर बनिसकेको छ । अहिले अझै नेपाल कहिले सिक्किम बन्छ भन्छन्, कहिले फिजी त कहिले श्रीलंका । शंकाले लंका जलाउँछ भन्थे । साँच्चै हो कि क्या हो ? ए बाबा ! रोटी र बेटीको नाता पनि भन्ने, अनि बहूसँग चाहिँ डराउने कस्तो यो राष्ट्रियता हो ? घरबार जोड्न आउनेहरू तरबारै बोकेर आउलान् र भन्या ?
बिहे गर्दै उताको नागरिकता त्याग्दै नेपाली नागरिकता लिएर डिभोर्स गर्दै हिँडे भने क्यार्ने होला भन्ने पिरलो देखियो । हुन पनि नेपाली नागरिकता लिने, भोट हाल्ने, हामीलाई हराउने र भोलि फुत्त भारत फर्केर जाने भयो भने क्यार्ने होला ? तर त्यति मात्रै गर्न त लाखौं हिन्दूस्तानी महिला तयार हुन पर्यो नि ? हैन र ? नेपालको भन्दा बढी कमाइधमाइ भएको उतैको ज्वाइँ छाडेर तन्नम नेपाली वर ताक्ने पनि होलान् हिन्दूस्तानी वधूहरू ?
सबैले भारतकी ‘बेटी’ नेपाल आउने चिन्ता गर्दैगर्दा उल्टै भारतले चैं नेपाली ‘दामाद’ लखेट्न थाले र ती सबै नेपाल आउन थाले भने चैं के होला हँ ? अहिले त झन् बुहारीलाई मात्र किन, विदेशी ज्वाइँलाई पनि नागरिकता दिनुपर्छ भन्ने आवाज संसद्बाटै उठ्न थालेको छ । चिन्ता त यता पो गर्नुपर्ने हो कि ?
नेपाली पासपोर्ट विश्वकै कमजोरमा पर्छ । त्यसमा चिन्ता नलिने । तर नेपालको नागरिकता लिएर नेपाली पासपोर्ट बनाएर विदेश जालान् कि भन्नेमा चाहिँ किन यत्रो चिन्ता होला हँ ?
नागरिकता लिने प्रक्रिया शुरू गर्न सक्ने भनिए पनि कत्तिले त नगर्न पनि सक्छन् । हाम्रो नागरिकताभन्दा अन्य धेरै देशका नागरिकता लिनु या कायम राख्नु बढी फाइदा होला नि, हैन र भन्या ? लाखौं नेपाली टाउको फुटाएर भए पनि विदेशको नागरिकताका लागि मरिहत्ते गरिरहँदा चिन्ता नलिने, तर केही बुहारी नेपाल भित्रने भए भनेर आकाशै खस्छ जस्तो गर्नु कत्तिको उचित होला ?
हुन त छिमेकी बढी बाठो भएपछि कुखुरा जोगाउनसमेत कठिन हुन्छ भन्छन् । रातारात सीमा स्तम्भ समेत सार्ने वा गायब पार्ने छिमेकी भएपछि यस्तो शंका उठनु जायज पनि हो कि !
तर हिसाब हेर्दा साठी वर्षमा हालसम्म भारतका समेत गरेर जम्मा ५ लाख बुहारीले वैवाहिक अंगीकृत नेपाली नागरिकता लिएका छन् रे । यत्तिले राष्ट्रियता संकटमा पुगेको त हैन होला । यसै पनि महिलाहरू शासन सत्तामा कमै पुगेका छन् । ती पाँच लाख सत्तामा र हामी चैं सडकमा पुगेका हौं र ? अनि हामी सडकमा पुग्नुमा त हाम्रै महान् राष्ट्रवादीहरूको बढी हात छ, हैन र ?
एक वर्षमा पाँच लाखले नागरिकता पाए हामी फिजी हुने र सात वर्षमा पाए चैं नेपाल नै रहने हो ? कि हामीलाई आफ्नै देशका नागरिकमाथि चैं शंका हो ? खुरुखुरु भारत जाँदै बिहे गर्दै, नागरिकता बाँड्दै अनि डिभोर्स गर्दै हाम्रा युवाले केही वर्षमा एक करोड बुहारी भित्र्याउलान् र हामी वंशजलाई अल्पसंख्यक बनाइदेलान्् भनेर डराको हो ? नेतामाथि त हामीलाई भरोसा छैन, ठीकै छ । तर अब आफूबाहेक आफ्नै जनतामाथि पनि भरोसा नहुने हो भने देश रहनु र नरहनुले के चैं फरक पार्ला र हो ? नागरिकता विधेयकमा संशोधन गरेर सात वर्ष बनाउँदा के बिग्रन्छ त भन्नुहोला । केही पनि बिग्रन्न । र, धेरै देशले राखेका पनि छन् । हरेक देशको परिस्थिति बेग्लै हुन्छ । अफ्रिकाबाट बेलायत सरेका भारतीय पुर्खाका सन्तान ऋषि सुनक बेलायतको अर्थमन्त्री बनिसके र अब प्रधानमन्त्री बन्ने चर्चा छ । हाम्रै नेपालीले विदेशका अमुक शहरमा मेयरको निर्वाचनमा उम्मेदवार उठ्दा भँगेरे अक्षरमा समाचार छाप्छौं । नाक फुलाएर धाक लाउँछौं । सकेसम्म विदेश जान पाए तँछाडमछाड पनि गर्छौं । तर आफूकहाँ भने विदेशको हावा पनि नछिरोस् भन्छौं । कुनैबेला विश्व विजेता बेलायतले छुन नसकेको हाम्रो राष्ट्रियता एउटी बुहारीले ध्वस्त पार्छिन् भनेर आफै हल्ला गर्छौं ।
लौ डुब्नै लाग्यो, सकिनै लाग्यो भनेर दुष्प्रचार गर्छौं । लौन, यो कस्तो ढोंग हो ?
यदि राष्ट्रियता खतरामै पर्ने हो भने त सात वर्षसम्म खुल्लमखुला भारतीय नागरिकता र पासपोर्ट लिएर बस्ने बुहारी र घरबाट पो खतरा हुनुपर्ने हो नि । संकट त लुकीछिपी र आफ्नो देशको नागरिकता लुकाएर जन्म या वंशजको आधारमा दोहोरो नागरिकता लिनेहरूबाट पो हुन्छ होला । हैन र ? पूर्ण अभिलेखसहित र नागरिकता त्यागको पूर्ण प्रमाणसहित नेपाललाई आफ्नो घर भनेर नागरिकता लिनेबाट यति सशंकित हुनु जरुरी छ र ? मैले नबुझ्या हो कि ? लौ न बुझाइदिनुस् । खासमा चिन्ता नागरिकता लिनेबाट भन्दा जनतालाई धोखा दिनेबाट कसरी जोगिनेमा हुनुपर्ने हो । देशमा विडम्बना यो छ कि जसको हातमा केही छैन, उसलाई देशको चिन्ताले खाइरहेको छ । तर जसको हातमा सबै थोक छ, उसले देशै खाइरहेको छ । त्यसैले, यदि चिन्ता नेताहरूले वा अमुक राजनीतिक दलहरूले नेपाली नागरिकता बेचेर खान्छन् कि भन्ने हो भने उनीहरूले पाए वा सके देशै बेच्न तयार देखिन्छन्, जाबो नागरिकता त के ठूलो कुरा भयो र ?