साउन २२, काठमाडौं । सिटिजन्स बैंकले ‘सिटिजन्स चिरायु मुद्दती योजना’ सञ्चालनमा ल्याएको छ ।
बैंकले ‘सिटिजन्स चिरायु’ तथा ‘रेमिट्यान्स चिरायु मुद्दती योजना’ सञ्चालनमा ल्याएको हो । उक्त दुवै योजनाहरू बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले चितवनको सौराहामा शुरुआत गरेका हुन् । बैंकले सौराहामा ‘तीनदिने लिडरशीप डेभलपमेन्ट तथा क्यापासिटी बिल्डिङ कन्क्लेभ’ कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममार्फत उक्त योजना पनि सञ्चालन गरिएको बैंकले जानकारी दिएको छ ।
सौराहामा आयोजित कार्यक्रममा शाखा प्रबन्धकहरू तथा वरिष्ठ व्यवस्थापकहरूलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकलाई अब्बल बनाउने घोषणा पनि गरे । ‘सिटिजन्स चिरायु मुद्दती योजना’ अन्तर्गत ग्राहकले १३ वर्ष ४ महीनादेखि २२ वर्ष १ महीनासम्म मुद्दती खातामा रकम जम्मा गर्न सक्ने र सोही अनुसार साँवा तथा ब्याजबापत लाग्ने कर समेत एकमुष्ट चार गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने बैंकले जानकारी दिएको छ ।
त्यस्तै रेमिट्यान्स चिरायु मुद्दती योजना अन्तर्गत ग्राहकले १२ वर्ष ३ महीनादेखि २० वर्ष ३ महीनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा ब्याजबापत लाग्ने करसहित एकमुष्ट चार गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने बैंकको भनाइ छ ।
उक्त मुद्दती निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकले न्यूनतम ५० हजार मौज्दातमा खाता खोल्न सक्ने बैंकको भनाइ छ । बैंकका सबै शाखाहरूमा उक्त खाता खोल्न सकिने बैंकको भनाइ छ ।