ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यात्रुको ‘मुभमेन्ट’ बढेपछि जहाज थप्दै वायुसेवा कम्पनी, तीन कम्पनीले तत्कालै नयाँ जहाज ल्याउने

२०७९ साउन, २२  
समाचार यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

साउन २२, काठमाडौं । कोभिडपछि हवाई उडानमा यात्रुको ‘मुभमेन्ट’ बढेसँगै सरकारी र निजीक्षेत्रका वायुसेवा कम्पनीहरूले जहाज थप्ने योजना अघि सारेका छन् । आन्तरिक हवाई सेवामा वर्चस्व राख्दै आएका निजी क्षेत्रका एयरलाइन्ससहित सरकारी वायुसेवा निगमले पनि जहाज थप्ने योजना अघि सारेका हुन् ।

निजी क्षेत्रबाट बुद्ध एयर र यती एयरलाइन्सले जहाज थप्न लागेका छन् । अन्य कम्पनी भने तत्काल जहाज नथप्ने मनस्थितिमा छन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले भने आन्तरिकतर्फ दुर्गम (स्टल) र सुगम (ट्रंक) दुवै रूटमा जहाज थप्ने योजना अघि सारेको छ ।

मासिक अधिकतम ४ हजार पटकसम्म उडान/अवतरण गरेको बुद्ध एयरले आगामी अक्टोबरसम्ममा थप १/२ थान जहाज ल्याउने तयारी गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक (एमडी) वीरेन्द्रबहादुर बस्नेतले ५ जहाज ल्याउने योजना सुनाए । त्यसमध्ये पहिलो चरणमा अक्टोबरसम्ममा १/२ थान आइपुग्नेछ । कम्पनीले एटीआर–७२ सिरिजका जहाज ल्याउँदै छ । बुद्धले अहिले प्रदेशलाई पनि हब बनाएर उडान शुरू गरेको र मर्मतसम्भार गर्दा जहाज अपुग हुने समस्या नआओस् भनेर थप्न लागेको हो ।

कोरोना संक्रमणमा केही महीना ठप्प भएको उडान क्षेत्र अहिले लयमा फर्किएको छ, जसले गर्दा जहाज उडान/अवतरणमा उल्लेख्य सुधार आएको छ । बुद्ध एयरले सन् २०२२ को जनवरीमा मात्रै न्यूनतम ३ हजार २५२ पटक उडान अवतरण गरेको छ । 

बुद्धले सबैभन्दा धेरैपटक (४ हजार २०६ पटक) उडान/अवतरण भने मार्चमा गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय (टीआईए)को तथ्यांकअनुसार मार्चमा २ लाख ३३ हजार ९६० यात्रुले बुद्ध एयरबाट यात्रा गरेका छन् ।

दोस्रो स्थानमा रहेको यती एयरलाइन्सले पनि तीनओटा जहाज थप्दै छ । तीमध्ये पहिलो जहाज अगस्त अन्तिमसम्ममा आइपुग्छ । एटीआर–७२ सिरिजको जहाज ल्याउने कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । 

यससँगै सन् २०२२ भित्रै यतीले दुईओटा जहाज ल्याउने उनको भनाइ छ । तेस्रो जहाज ल्याउने विषयमा पनि कुरा भइरहेको बर्तौलाले बताए । ‘अहिले अकुपेन्सी ७० प्रतिशत छ,’ उनले भने, ‘अफ सिजनका कारण अहिले बिजनेश कम छ ।’ टीआईएका अनुसार यतीको मासिक उडान संख्या न्यूनतम (फेब्रुअरीमा) १ हजार २५५ देखि अधिकतम (मेमा) १ हजार ५२२ पटक छ । यतीले सबैभन्दा धेरै मार्चमा ८९ हजार ४५९ यात्रुलाई सेवा दिएको छ ।

८ वर्षपछि पुरानै ब्रान्डमा फर्किएको निजीक्षेत्रको गुण एयरलाइन्सले भने तत्काल जहाज थप्ने योजना बनाएको छैन । श्री एयरलाइन्सले पनि अवस्था हेरेर मात्रै जहाज थप्ने तर तत्काल ल्याउने योजना नबनाएको प्रतिक्रिया दिएको छ । गुण एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीके श्रेष्ठले सन् २०२३/२४ तिर मात्रै थप जहाज ल्याउने योजना रहेको बताए । 

अहिले सातओटा जहाजमार्फत सेवा दिएको गुणको बजार अंश पनि सकारात्मक नै देखिन्छ । उक्त कम्पनीले जनवरीमा मात्रै ६९४ पटक उडान/अवतरण गरेको छ । यस्तै श्री एयरलाइन्सको उडान/अवतरण सबै भन्दा धेरै मार्चमा देखिन्छ । मार्चमा श्रीले १ हजार ४६ पटक उडान/अवतरण गरेको छ । सरकारी स्वामित्वको नेपाल एयरलाइन्स (एनएसी) ले भने अप्रिलमा सर्वाधिक उडान/अवतरण गरेको छ । उक्त महीनामा एनएसीका जहाजले १ हजार ११३ पटक उडान/अवतरण गरेका छन् । 

केही समयअघि नेपाल वायुसेवा निगमले जारी गरेको एक प्रतिवेदनअनुसार सन् २०२२ मा आन्तरिकतर्फ स्टल र ट्रंक रूटमा ५ थान जहाज थप्ने योजना छ । त्यसका लागि २ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने उल्लेख छ । १० वर्षे व्यावसायिक योजनाअनुसार सन् २०२३ मा आन्तरिकतर्फ २ थान स्टल र २ थान ट्रंक रूटका लागि जहाज थप्ने उल्लेख गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)