ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनले महँगीविरुद्ध हेजिङ गर्न किन सकेन ?

२०७९ साउन, २३  
लेख | दृष्टिकोण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

महँगीको समयमा मूल्यमा हुने उतारचढावका कारण हुन सक्ने नोक्सानीबाट बच्ने तरीका हो हेजिङ । जसरी हामीले आफ्नो घरवरिपरि पर्खाल लगाएर घर सम्पत्तिको सुरक्षा गर्छौं, त्यसैगरी हेजिङको सहाराले महँगीको अवस्थामा आफ्नो लगानीलाई सुरक्षित गर्छौं त्यसैगरी भविष्यमा बजारमा हुन सक्ने उतारचढावबाट बच्न हेजिङको सहारा लिइन्छ । यसले घाटा वा क्षतिको सम्भावना कम गर्न मद्दत गर्छ ।

महँगी बढेको अनि डलरको मूल्य घट्दै गएको अवस्थामा डलरको अवमूल्यनबाट जोगिन लगानीकर्ताले सुनमा लगानी गर्छन् । यसरी लगानी गर्दा सुनको भाउ बढ्छ । डलरको भाउमा आएको कमीको भर्पाई हुन्छ । यसलाई नै गोल्ड हेजिङ भनिन्छ ।

अहिले विश्वभर महँगी आकाशिरहेको भए पनि सुनको भाउ खासै बढेको छैन । सुनलाई परम्परागत रूपमा महँगीविरुद्ध हेजको राम्रो विकल्प मानिँदै आएको छ । आर्थिक उतारचढाव होस् या भौगोलिक द्वन्द्व वा अशान्ति जस्तोसुकै अनिश्चयका समयमा सुनलाई लगानीका लागि सुरक्षित सम्पत्ति ठानिन्छ । आर्थिक कठिनाइ, ठूला खर्च आदिमा काम लाग्छ, बेचेर गर्जो टार्न सकिन्छ भनेर हामीहरू आफूसँग भएको पैसा सकेसम्म सुनमै लगानी गर्ने प्रवृत्ति छ ।

अहिले विश्वभर सबैतिर महँगी बढेको छ । नेपालमा महँगी ६ वर्षयताकै उच्च स्तरमा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बेलायत, अमेरिकालगायत कयौं देशमा मुद्रास्फीति ४ दशकयताकै उचाइमा छन् ।

विश्वको आर्थिक अवस्था सन्तोष मान्न सकिने खालको छैन । महँगी नियन्त्रण गर्न मौद्रिक नीति कस्ने प्रवृत्ति हाबी बन्दा माग घटेर महँगी सुस्ताउने अवस्था त बढेको छ नै आर्थिक गतिविधिहरूमा उल्लेख्य रूपमा सुस्ताएर अर्थतन्त्रहरू मन्दीमा जाने जोखिम उच्च छ । तर, यस वर्ष सुनको भाउ खासै चम्किएको छैन । जुलाई महीनाभर अन्तरराष्ट्रिय बजारमा सुनको भाउ १ हजार ७ सयदेखि १ हजार ८ सय डलरबीच रह्यो । अमेरिकी डलरसँग तुलनामा गर्ने हो भने यसको प्रदर्शन राम्रो मान्ने खालको छैन । मार्चको शुरूमा प्रतिऔंस २ हजार ५० डलरको कीर्तिमानी उच्च बिन्दुबाट अहिले सुनको भाउ करीब १० प्रतिशत तल छ । यो वर्ष शुरू भएयता सुनसँग विपरीत सहसम्बन्ध मानिएको अमेरिकी डलरको भाउ झन्डै १५ प्रतिशतले बढेको छ । मार्चको शुरूयता भने यो वृद्धि १० प्रतिशत हाराहारी छ । पछिल्ला केही महीनामा डलरको भाउ ओरालो लाग्दा सुनको भाउले त्यसको लाभ लिन नसकेका  उदाहरण टन्नै छन् । यसपटक सुनले महँगीको समयमा मानिसहरूले खाई नखाई गरेर जोगाएको पैसाको सुरक्षा गरेको छैन ।

अहिले महँगी दशकौंयताकै उच्च बिन्दुमा रहेको अवस्था हेर्दा त सिद्धान्ततः सुनको भाउ झनै चम्कनुपथ्र्यो । तर, पछिल्लो समय सुनको भाउ ५ महीनायताकै न्यून बिन्दुमा छ । मार्चयता अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर वृद्धि आक्रामक बनाइरहेको छ । जुन र जुलाईको नीतिगत बैठकमा मात्रै ब्याजदर १ दशमलव ५ प्रतिशतले बढ्यो । फेडको ब्याजदर वृद्धि आक्रामक भइरहँदा डलर झनै चम्किने र सुनको भाउ दबाबमा आउने आकलन पनि व्यापारीहरूले गरिरहेका छन् । शेयरबजार उच्च दरले घटेको अवस्थामा लगानीकर्ताले महँगीको प्रभावबाट आफूलाई बचाउन घरजग्गा, टे«ेजरी बिललगायत बजारका अन्य क्षेत्रमा आश्रय लिइरहँदा विश्व बजारमा सुनले महँगीविरुद्धको भरपर्दो हेजको हैसियत गुमाउँदै गएको छ ।

सन् १९७० को दशकमा महँगी उच्च स्तरमा उक्लिएको थियो । सन् १९७१ मा प्रतिऔंस ३५ डलर रहेको सुनको भाउ सन् १९७४ को अन्त्यतिर १८० डलरको उच्च बिन्दुमा उक्लियो । त्यसपछि सुनको भाउमा करेक्शन देखियो । सन् १९७६ को अगस्तमा प्रतिऔंस १४० डलरमा आयो । अमेरिकी केन्द्रीय बैंकले मौद्रिक नीति खुकुलो बनाउने अनि वित्तीय खुकुलोपनाको नीति अपनाउन थालेको परिणति १९८० मा अमेरिकामा महँगी १४ प्रतिशतमा पुगेको थियो । महँगी नियन्त्रण गर्न फेडले ब्याजदर बढाएर २० प्रतिशतसम्म पुर्‍याउनु परेको थियो । दोहोरो अंकमा पुगेको महँगी, कच्चा तेलको भाउको झट्का, कमजोर डलर र राजनीतिक अस्थिरताका कारण लगानीकर्ता निकै त्रस्त थिए । भय र अनिश्चय बढ्ने क्रमसँगै सुनमा लगानी झनै बढ्यो । दशकको शुरूमा प्रतिऔंस ३५ डलर रहेको सुनको भाउ दशकको अन्त्यसम्ममा अर्थात् सन् १९८० को जनवरीमा सुनको भाउ प्रतिऔंस ८५० डलरमा आयो । अर्थात् त्यस दशकमा सुनको भाउ २ हजार ३०० प्रतिशतले बढ्यो ।

सुनको मूल्यमा उतारचढाव आइरहन्छ । छिटै नाफा आउँदैन । नाफा कमाउन लामो समय कुर्नुपर्छ । भविष्यमा सुनको भाउ कतातिर जान्छ भन्ने थाहा हुँदैन । कोरोना भाइरसको महामारी शुरुआती चरणमा रहँदा सुनको भाउ बढेको थियो । तर, महँगी बढ्न थालेपछि पनि सुनको प्रदर्शन राम्रो भएन । सन् १९८० देखि २००० को बीचमा महँगी दोहोरो अंकले बढ्दा सुनको भाउ उल्टै ४० प्रतिशतभन्दा धेरैले घटेको थियो । महँगी बढेको अवस्थामा सुनमा गरिएको लगानीले महँगीबाट बच्नै सकिन्छ भन्ने चाँहि होइन । सुनको भाउ महँगीभन्दा पनि लगानीकर्ताको मनोबलका आधारमा घटबढ भइरहेको हुन्छ । कोरोना भाइरसको महामारीको शुरुआती समयमा सुनको भाउ बढेको छ । सन् २०२० को जनवरीदेखि सन् २०२२ को फेबु्रअरीको बीचमा यो २० प्रतिशतले बढेको छ ।

लगानीकर्ताले सुनको मूल्य नबुभ्mनु यसमाथि अभर गर्नु, सुनको उपभोगिता अभाव, पछिल्लो समय विश्वभर घरजग्गामा लगानी ओइरिनु, घरजग्गाको मूल्य वृद्धि आदिका कारण सुनको भाउमा अपेक्षित वृद्धि नभएको हो । विश्वभर धमाधम ब्याजदर बढ्न थालेसँगै घरजग्गा बजारमा लगानी ठप्पै हुने अवस्था बलियो बन्दै गएको छ । यस्तो भयो भने चाँहि सुनले बिस्तारै टेवा पाएर सुनको मूल्य वृद्धिले महँगीलाई जित्न सक्ला कि ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)