काठमाडौं । तरलता अभावका बीच पनि गत आर्थिक वर्षमा आफ्नो वित्तीय प्रगति सन्तोषजनक रहेको सिद्धार्थ बैंकले बताएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको हो । गत आर्थिक वर्षमा नेपाल सरकारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २ अर्ब ९० करोड रुपैयाँभन्दा बढी राजस्व तिरेको बैंकको भनाइ छ ।
‘वित्तीय प्रणालीमा देखापरेको असहज परिस्थितिका बीच बैंकप्रति ग्राहकको विश्वास, निरन्तर सहयोग एवं सद्भावका कारण बैंक गत आर्थिक वर्षमा रू. १ खर्ब ९६ अर्ब निक्षेप संकलन गरी रू. १ खर्ब ८६ अर्बको कर्जा प्रवाह गर्न सफल रह्यो,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो अवधिमा २ लाख ५० हजारभन्दा बढी नयाँ ग्राहक आफ्नो बंैकिङ सेवामा आबद्ध भएको बैंकले बताएको छ ।
हाल बैंकका कुल ग्राहक १४ लाख पुगेका छन् । बैंकले चार एक्स्टेन्सन काउन्टरसहित १९० शाखा, ११७ शाखारहित बैंकिङमार्फत कारोबार गर्दै आएको छ ।