काठमाडौं (अस) । एनएमबि क्यापिटल नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध भएको छ । यसका लागि क्यापिटल र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच सोमवार सम्झौता भएको छ । सम्झौतापत्रमा एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्य र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार क्यापिटलले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडेर एनपीएस अन्तर्गतका विभिन्न भुक्तानी प्रणाली प्रयोग गर्न सक्ने बताइएको छ । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपीआईमा हाल ५९ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् ।