काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके)ले रिकरिङ र रिभर्स रिकरिङ निक्षेप खाता सार्वजनिक गरेको छ । बैंकले ११ दशमलव शून्य ३ प्रतिशत ब्याजदरको रिकरिङ र रिभर्स रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याएको हो । ग्राहकको वित्तीय व्यवस्थापनसहित ११ दशमलव शून्य ३ प्रतिशत ब्याज आम्दानीको सुनिश्चितताका लागि रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याइएको बैंकले बताएको छ । सो निक्षेप खातामा खातावाहकले त्रैमासिक रूपमा ब्याज भुक्तानी पाउने बताइएको छ । उक्त खाता न्यूनतम १ हजार रुपैयाँमा खोल्न सकिने बैंकको भनाइ छ ।
यसैगरी रिभर्स रिकरिङ निक्षेप खाता नेपालको वित्तीय क्षेत्रमा पहिलोपटक बीओकेले ल्याएको बताइएको छ । खातावाहकको वर्तमान वित्तीय व्यवस्थापनसहित आकर्षक ब्याजदरको व्यवस्था रहेको यो खातामा एकमुष्ट रकम बचत गरी आवधिक रूपमा आवश्यक रकम आफ्नो इच्छा अनुसार अन्य खातामा रकमान्तर गर्न सकिने बैंकले बताएको छ । न्यूनतम २ लाख रुपैयाँ मौज्दात हुनुपर्ने उक्त खातामा ग्राहकलाई वार्षिक ११ दशमलव शून्य ३ प्रतिशत ब्याज दिइने बैंकले जानकारी दिएको छ । यो खातामा न्यूनतम १ वर्षदेखि अधिकतम १० वर्षसम्मको वित्तीय व्यवस्थापन अवधि रहेको बताइएको छ ।