साउन २४, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सोमवार एक विज्ञप्ती जारी गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका नर्भिक अस्पतालका टहरा २४ घण्टाभित्र नभत्काए कानून अनुसार भत्काउने घोषणा गरेका थिए ।
मंगलवार नर्भिक अस्पतालको निरीक्षणमा आएका शाहले अस्पतालले बनाएका टहरामा डोजर लगाउँछन् की भन्ने त्रास थियो । तर शाह भने अस्पताल सञ्चालक बसन्त चौधरीलाई नमस्कार गरेर फर्किएका छन् ।
नगरपालिकाका प्राविधिकहरूको सल्लाह अनुसार उक्त संरचना हटाउन ३५ दिनको समय दिने शाहले बताएका छन् । अस्पतालमा भर्ना भएका बिरामीहरूमा नकारात्मक असर पर्ने भएकाले तत्काल हटाउन नहुने प्राविधिकहरूले सुझाव दिएका थिए ।
विज्ञप्ती जारी गर्दा नै २४ घण्टाको समय नराखेर ३५ दिनको समय राखेको भए बालेनको आलोचना हुने थिएन । तर उनले रातारात टहरा हटाउन निर्देशन दिए र पछि लुसुक्क फर्केर जाँदा उनको आलोचना भइरहेको छ । अस्पताल जस्तो संवेदनशिल ठाउँमा रातारात भौतिक संरचना फेरबदल गर्दा त्यसले बिरामीको उपचारमै समस्या आउन सक्नेतर्फ बालेन अगाडि नै सचेत हुनुपर्ने उनका आलोचकहरूले बताएका छन् ।