भौगोलिक अवस्थिति, जलवायु, भूबनोट, धर्म, संस्कृति र परम्पराजस्ता विषयले कुनै पनि मुलुकको उपभोग संस्कृतिको विकास भएको हुन्छ । खानपिन र वेशभूषाजस्ता अभ्यास पनि यही परिवेशमा विकसित हुँदै आम संंस्कृतिको रूप धारण गर्छन् । परम्परागत अभ्यासमा केही खास विशेषता लुकेर रहेका हुन्छन् जसको उपभोग स्वाभाविक कर्मका रूपमा समाजमा स्थापित भइरहेको हुन्छ । ती उपभोगका स्रोत देशभित्रै सहज रूपमा उपलब्ध हुन्छन् । ती वस्तुलाई उपभोग्य बनाउन चाहिने पूँजी र प्रविधि परम्परागत रूपमा स्वदेशभित्रै उपलब्ध हुन्छन् र यस्ता उपभोगलाई सामान्यीकरण गर्न पनि त्यत्तिकै सहज हुन्छ । सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको यी उपभोग स्वाभाविक रूपमा भावनात्मक चरित्रका हुन्छन् र राष्ट्रिय चरित्र ग्रहण गरेका हुन्छन् ।
स्थान विशेषका उत्पादनहरूको व्यावसायिक उत्पादन गर्न सम्बद्ध क्षेत्रलाई सम्बद्ध वस्तुहरूको पकेट क्षेत्रका रूपमा विकास गरी उद्योगको पृष्ठयोजन र अग्रयोजन गर्ने कार्यक्रमहरू पनि सञ्चालन गर्न आवश्यक छ ।
यसरी मुलुकको राजनीतिक पहिचानका लागि विभिन्न प्रकारका राष्ट्रिय प्रतीकहरूको व्यवस्था गरिएजस्तै मुलुकको आम उपभोग संस्कृतिमा पनि राष्ट्रिय चरित्रका उपभोग स्थापित भइरहेका हुन्छन् । उदाहरणका लागि चीनमा चिया उपभोग एक संस्कृतिका रूपमा राष्ट्रिय वस्तुका रूपमा स्थापित भएको छ । स्वीट्जरल्यान्डमा दुग्धपदार्थ र चकलेट राष्ट्रिय भावनासँग जोडिएका उत्पादनका रूपमा रहेका छन् । फ्रान्सको वाइन, स्कटल्यान्डको ह्विस्की, भारतमा मसला, इरानको कार्पेट, अफगानिस्तानको अंगुर र अनार, पाकिस्तानमा छालावेष्टित खेलकुद सामग्रीहरू, बंगालको दही र मिठाई, रूसको भोड्का जस्ता कैयौं उदाहरण छन् जसको उपभोग सम्बद्ध देशको भावनासँग जोडिएको छ । यस्ता वस्तु सम्बद्ध देशहरूमा राष्ट्रिय प्रतीकका रूपमा उपभोग भइरहँदा ती वस्तुहरूको अन्तरराष्ट्रिय ख्याति पनि सोहीअनुरूप बढिरहेको र मुलुकको निर्यात व्यापारको मेरूदण्डका रूपमा रहेको र आयात प्रतिस्थापन पनि सँगसँगै भइरहेको देखिन्छ । जब कुनै स्वदेशी उत्पादनले राष्ट्रिय चरित्र धारण गर्छ, त्यसले स्वाभाविक रूपमा अन्तरराष्ट्रिय चरित्र पनि आफै धारण गर्छ । यो एक प्रकारको स्वतःस्फूर्त ब्रान्डिङ पनि हो ।
यस्ता ब्रान्डिङको उद्भव शुरूमा स्थानीय स्तरमा हुने गर्छ । स्थानीय स्तरमा यसले आम उपभोगको चरित्र धारण गरिसकेपछि यसले राष्ट्रिय चरित्रको रूप धारण गर्छ । राष्ट्रिय रूपमा स्थापित भइसकेपछि यसले स्वतः अन्तरराष्ट्रिय रूपमा चर्चा पाउन थाल्छ । यस चर्चालाई उत्पादन र बजारीकरणका आधुनिक औजारहरूको प्रयोग गर्दा सम्बद्ध वस्तु विश्वकै ब्रान्डका रूपमा स्थापित हुन जान्छ । जसरी आज स्वीट्जरल्यान्डको नेस्ले ब्रान्ड स्थानीय हुँदै अन्तरराष्ट्रिय ब्रान्डका रूपमा स्थापित हुँदै गएको छ । बच्चालाई दुधेलिटो बनाएर शुरू भएको नेस्ले ब्रान्ड आज कसरी विश्वको प्रमुख दुग्ध ब्रान्डका रूपमा स्थापित भएको छ, त्यो सबैका सामु छर्लङ्ङै छ ।
नेपालमा पनि स्थानीय स्तरमा केही ब्रान्ड प्राचीन कालदेखि प्रचलनमा आएका थिए । खोकनाको तेल, पाल्पाको करुवा र ढाका, भोजपुरको खुकुरी, सल्यानको अदुवा, चारकोसेको सालजस्ता दर्जनौं स्थानीय ब्रान्ड नेपालमा सबैका जिब्रोमा झुन्डिएका नाम छन् ।
परन्तु अन्यत्र झैं नेपालमा यस्ता स्थान विशेषका उत्पादनहरूलाई संरक्षण गर्दै विकसित परिस्थिति र प्रविधिसँग मेल खाने गरी व्यवस्थित गर्ने, औद्योगिकीकरण गर्ने, राष्ट्रिय उपभोगको मूलधारका रूपमा स्थापित गर्ने र प्रभावकारी रूपमा बजारीकरण विषयमा ध्यान दिन नसक्दा स्थानीय ब्रान्डको राष्ट्रियकरण र राष्ट्रिय ब्रान्डको अन्तरराष्ट्रिय करण हुन नसकेको हो । स्थान विशेषका उत्पादन क्षेत्रमा व्यापक शहरीकरण, बसाइँसराइ र पेशा परिवर्तनका कारण अहिले प्राचीन कालदेखि ख्याति प्राप्त स्थान विशेषका उत्पादनहरू स्थानीय स्तरमा नै लोप हुने अवस्थामा पुगेका छन् ।
उपर्युक्त परिस्थितिलाई दृष्टिगत गर्दै नेपालले पनि आफ्नो देशको राष्ट्रिय चरित्रका उत्पादनहरूको राष्ट्रिय उपभोग संस्कृतिको अंगका रूपमा विकसित गर्दै आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन र स्थानीय साधनस्रोत, पूँजी र प्रविधिको मूलप्रवाहीकरण गर्ने नीति अंगीकार गर्नु आवश्यक देखिन्छ ।
यसका लागि सर्वप्रथम नेपालमा आम रूपमा उपलब्ध हुने, परम्परागत रूपमा उपभोग भइरहेका उत्पादनहरूको व्यावसायिक उत्पादन हुने वातावरण सृजना गरिनुपर्छ । यस्ता उत्पादनहरूलाई आयातित उत्पादनहरूसँग प्रतिस्पर्धी बनाउन संरक्षणको नीति पनि समानान्तर रूपमा अंगीकार गर्नु आवश्यक देखिन्छ । यस्तै यी उत्पादनको उत्पादन क्षमता हेरी अनिवार्य उपभोग र उपभोग प्रोत्साहनको नीति पनि अंगीकार गरिनुपर्छ । स्वदेशभित्र यस्ता वस्तु उपभोग गर्नु स्वाभिमान र आत्मगौरवको विषय बन्ने गरी समाजमा उपभोग संस्कृतिको विकास गर्नु पनि जरुरी छ । यसको शुरुआत समाजका लब्धप्रतिष्ठित व्यक्तित्व र अग्रजहरूबाट हुन पनि जरुरी छ । स्थान विशेषका उत्पादनहरूको व्यावसायिक उत्पादन गर्न सम्बद्ध क्षेत्रलाई सम्बद्ध वस्तुहरूको पकेट क्षेत्रका रूपमा विकास गरी उद्योगको पृष्ठयोजन र अग्रयोजन गर्ने कार्यक्रमहरू पनि सञ्चालन गर्न आवश्यक छ । स्थान विशेषका यस्ता विशेष उत्पादनलाई स्थानीय र राष्ट्रिय स्तरमा आम रूपमा उपभोग्य वस्तुका रूपमा स्थापित गरिरहँदा यसको अन्तरराष्ट्रिय व्यापारको पक्षलाई पनि समानान्तर रूपमा विकास गर्दै जानुपर्छ । विभिन्न सञ्चारमाध्यमहरूमा विज्ञापन, मेला प्रदर्शनी र बीटुबी सम्मेलनहरूको आयोजना तथा पर्यटकमाझ प्रचारप्रसार गरी आम राष्ट्रिय चरित्र बोकेका विशेष उत्पादनलाई अन्तरराष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्नु पनि त्यत्तिकै जरुरी छ ।
उपर्युक्त पक्षलाई सफल रूपमा कार्यान्वयन गर्न सर्वप्रथम नेपालमा परम्परागत रूपमा ख्यातिप्राप्त वस्तुहरूको सूची तयार गर्नुपर्छ । उक्त सूचीका आधारमा ती वस्तुको उत्पादन वृद्धिको गुरुयोजना तयार गर्नुपर्छ । उत्पादन वृद्धिसँगै त्यस्ता वस्तुलाई सरकारबाट राष्ट्रिय वस्तुको मान्यता दिनुपर्छ । यसरी मान्यता दिइसकेपछि त्यस्तो उत्पादनलाई सहज, प्रतिस्पर्धी, उपभोक्ता मैत्री (गुणस्तर, मूल्य र परिमाण र उपलब्ध हुने समय) बनाउन गरिनुपर्ने कार्यको सूची बनाई लागू गरिनुपर्छ ।
उपर्युक्त सबै पक्षको विकाससँगै सूचीकृत वस्तुहरूको उपभोगमा आम राष्ट्रिय सहमति हुन आवश्यक छ । यस्तो आम राष्ट्रिय सहमति कायम गर्न उत्पादकको पनि ठूलो दायित्व हुन्छ । विशेष संरक्षण प्राप्त गरिसकेपछि एकाधिकार स्थापना गर्ने, मूल्य र गुणस्तरमा मनोमानी गर्ने र समयमा नै आपूर्ति नगर्ने र ग्राहकलाई हेय दृष्टिले हेर्ने र मुनाफाखोर प्रवृत्तिमा फस्ने जस्ता क्रियाकलापबाट टाढा रहनुपर्छ । सरकारका संयन्त्रहरूले पनि यस्ता क्रियाकलाप नियन्त्रण गर्ने संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नु आवश्यक हुन्छ । फलानो स्थान विशेषको उत्पादन हो भन्दै अन्य स्थानका कम गुणस्तरका वस्तुहरू विक्रय गर्ने प्रवृत्तिमा निजीक्षेत्र र सरकार दुवै उत्तिकै चनाखो हुनपर्छ । आकर्षक क्षेत्रका रूपमा उदाउँदै गर्दा अति लगानी गर्ने नेपाली प्रवृत्तिलाई नियमन गर्न जरुरी छ भने एकाधिकार स्थापना हुन नदिन स्वच्छ प्रतिस्पर्धाको संस्कृतिलाई सरकारले नियमन गर्न पनि उत्तिकै जरुरी छ ।
समाजका श्रेष्ठहरूले जस्तो आचरण गर्दै जान्छन्, आम मानिसले पनि त्यही आचरण अनुसरण गर्दै जान्छन् । तसर्थ राष्ट्रिय मान्यताप्राप्त यस्ता उपभोग समाजको माथिल्लो वर्गले संस्कृतिका रूपमा स्वीकार गर्नु पनि त्यत्तिकै जरुरी छ । उदाहरणका लागि नेपालका शासक वर्गले सदैव पाल्पाको करुवामा मात्र पानी खाने गरेको खण्डमा उनका अन्तरङ्ग मित्रहरू पनि पाल्पाको करुवा नै प्रयोग गर्न थाल्छन् । उनका अन्तरङ्ग मित्रले पाल्पाको करुवाको प्रयोग गरेको देखेपछि उनका नजीकका आफन्त, इष्टमित्र, दाजुभाइ, साथीसंगती र चिनजानका मानिसहरूले पाल्पाकै कुरा प्रयोग गर्न थाल्छन् । स्वदेशभित्र आम चरित्र धारण गरिसकेपछि त्यो उपभोग संस्कार छिमेकी देश हुँदै विश्वव्यापी हुन जान्छ । यसरी स्थानीय उत्पादनको महिमा र कीर्ति स्थापना हुने गरी स्वदेशमा उपभोग संस्कारको विकास गर्नुपर्छ । समाजका यस्तो भावना स्थापना हुनपर्छ कि यस्ता वस्तु उपभोग गर्दा पवित्रता र आत्मसम्मान दुवै एकैचोटि प्राप्त होस् । यस विधिबाट नेपाल अघि बढ्ने हो भने नेपालको वर्तमान भीमकायी व्यापारघाटा न्यून हुने, वर्तमान घस्रिदो निर्यातले तीव्रदरको वृद्धि प्राप्त हुने र स्वदेशमा रोजगारका अवसरहरू सृजना भई देशका बलियो धरातलयुक्त औद्योगिकीकरणको जग बस्ने निश्चित छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।