काठमाडौं । नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिका र अभिभावकलाई लक्षित गरी ल्याइएको डिजिटल एपमा आधारित प्रडक्ट हो ।
अभिभावकले यस एपमार्फत आफ्ना बालबालिकाका लागि दैनिक कार्यहरू सृजना गर्न, सेट गर्न र तोक्न सकिने बताइएको छ । बालबालिकाले पनि दिइएको कार्यसम्पादनपछि अंक आर्जन गर्न र त्यही अंक लिंक गरिएकोे खातामा पैसाका रूपमा बचत हुने प्रावधान रहेको बैंकले बताएको छ । यो प्रडक्टमार्फत बालबालिकालाई जीवन शीप र बचतको महत्त्व सिकाउने तथा अभिभावकको दिनचर्या सहज बनाउने लक्ष्य बैंकले लिएको छ ।
रेग्मीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गर्न पाउँदा गर्व महसूस भएको बैंकले बताएको छ । रेग्मीले महामारीको समयमा सर्जिकल मास्क वितरण गरेर आठ वर्षको उमेरमा सामाजिक कार्यको थालनी गरेकी थिइन् । पोखराको बिरौटाकी स्थायी बासिन्दा ९ वर्षीया रेग्मीले भर्खरै दुबईमा ‘ग्लोबल चाइल्ड प्रोडिगी अवाडर््स २०२२’ जितेकी छिन् ।