भदौ ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गरेको नेपाल बन्दको प्रभाव राजधानी शहर काठमाडौमा पनि परेको छ ।
बिहान स्कुल/कलेजमा भौतिक आक्रमण गरेका बन्द कर्ताले केही समय गाडी चल्न दिएनन् । अहिले गाडीहरू आंशिकरुपमा चलेपनि बन्दको प्रभाव भने सडकमा देखिएको छ ।
गन्तव्यमा पुग्न नपाएका यात्रुहरू प्रतिक्षालयमा लाइन लागेका छन् । कोही पैदल यात्रा गरेरै गन्तव्यमा पुगिरहेका छन् ।
बन्दको घोषणापछि बिहानैबाट प्रमुख चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । सरकारसँग वि.सं. २०७७ फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता र थुनाबाट मुक्त गर्नुपर्ने माग गर्दै विप्लव नेतृत्वको नेकपाले आजका लागि देशव्यापी बन्दको घोषणा गरेको थियो ।
केही ठाउँमा भने बन्दकर्तालाई स्थानीयले कुटपिट गरेको पाइएको छ । पछिल्लो समय जुनसुकै दलले बन्द आह्वान गरेपनि यो असफल हुँदै आएको छ ।
तस्वीरहरू : सुनिल शर्मा र आस्था सुवेदी