ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा घरभन्दा गाडी महँगो छ, आम मानिसको गाडी चढ्ने रहर हामी ४/५ हजारमै पूरा गर्छौं : श्रेष्ठ

‘एस सर भेकल’ले दैनिक ४/६ हजार रुपैयाँमै कार चढ्ने सुविधा दिन्छ । दैनिक आउजाउ गर्नुपर्ने कार्यालयको लागि गाडी चाहिँदैन भने २/४ दिन पार्टीमा जानको लागि एस सरले गाडी दिन्छ । 

२०७९ भदौ, ७  
विविध यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गणेश सुवेदी

भदौ ७, काठमाडौं । घरको पार्किङमा थन्किएको पुरानो चिनियाँ फेरोडूवा किनरी कारलाई भाडामा दिएर शुरू भएको विक्रान्त श्रेष्ठको व्यावसायिक यात्राले अहिले साम्राज्य नै खडा गरेको छ ।

श्रेष्ठ २० वर्षको हुँदा शुरू गरेको व्यवसाय अहिले १६ वर्षमा प्रवेश गरिसकेको छ । आफूसँग कार नभए पनि सेल्फ ड्राइभ गर्न चाहनेहरूका लागि श्रेष्ठले भाडामा कार उपलब्ध गराउँदै आएका छन् । 

कसैको पार्किङमा थन्किएको कार आम्दनीको गतिलो माध्यम बन्न सक्छ भन्ने बुझेपछि उनले त्यस्तै थन्किएका कार भाडामा लिएर पनि व्यवसाय बढाएका छन् ।

व्यवसायको शुरूवाती समयमा परिवारलाई पनि विश्वासमा ल्याउन मुस्किल भएको अनुभव छ उनीसँग । धेरैको मुखबाट यसरी एउटाको गाडी मागेर अर्कोलाई चलाउन दिँदा कतै लगेर फाल्दियो वा दुर्घटनामा पार्दियो भने के गर्छस् ? भन्ने प्रश्न बढी सुनेका छन् उनले ।

आफ्ना आफन्तले पनि पढाइ राम्रो भएकाले सरकारी जागिरमै लाग्न भनिरहन्थे । जुन आज पनि भनेरहेकै छन् । व्यपार गर्छु भन्दा ‘के व्यपार गर्नु ? सरकारी जागिर गर, प्रहरीमा जा’ भनेको कुरा आज पनि उनको कानमा गुन्जिइरहन्छ ।

हजुरबा र बुबा प्रहरीमा माथिल्लो पोस्टमै पुगेका थिए । बाबा एसएसपीबाट रिटायर्ड भएका थिए । तर उनी भने अर्कै बाटो हिँडे । एमबीए सम्मको अध्ययन गरेका उनी भेइकल व्यवसाय सहित शिक्षण पेशामा पनि आबद्ध छन् । 

सरकारी जागिरको पारिवारिक पृष्ठभूमिमा हुर्केको भए पनि सरकारी जागिर नै खानुपर्छ भन्ने उनलाई कहिल्यै लागेन । हजुबा र बा सरकारी जागिरे हुँदा सरकारी जागिर चाहिँ खानुपर्छ भन्ने परिवारको ठूलो चाहना थियो ।

नेपालीले सजिलै रिक्स लिन चाहादैनन् तर  ‘हाई रिक्स, हाई प्रफिट’ भन्ने राम्रो बुझेका उनी रिक्स लिन उत्साहित भए । जसको कारण एकैपटक फरक फरक क्षेत्रका काममा सफल छन् । उनले खडा गरेका कम्पनीले हाल करोडौंको टर्नओभर गर्छ भने सयौं मानिसले प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी समेत पाएका छन् ।

एक्लै शुरू गरेको यो व्यवसायमा हाल १० जना आबद्ध भएका छन् । अहिले गाडी पनि थपिँदै जाँदा पार्टनर पनि थप्दै गएको उनी बताउँछन् । हाल उनीसँग ४५ भन्दा बढी गाडी छन् ।  मासिक ५० लाखसम्मको कारोबार हुने गरेको छ । 

नेपालमा घरभन्दा बढी गाडी महँगो रहेको तर सबैलाई गाडीको यात्रा गर्ने रहर हुने गरेको उनको बुझाइ छ । त्यही रहर उनले दैनिक भाडामा गाडी चलाउन दिएर पूरा गरिरहेका छन् ।

'काठमाडौमा घर र गाडीको बराबर मूल्य छ । अझ घरभन्दा गाडी महँगो छ । हाल यस्तो व्यवसाय गर्ने धेरै हुँदा प्रतिस्पर्धा पनि उच्च हुँदै गएको छ । रेगुलर गाडी भाडामा दिने भनेर शुरू गरेको हो । काम शुरू गरेपछि भने बजारले नै सिकायो,' अभियानसँग उनले भने ।

कसरी दिन्छ एससरले गाडी ?

२०१६ मा अरूकै गाडी भाडामा लिएर फेरि भाडामा दिने र कमिसन लिने गरी शुरू गरिएको व्यवसाय त्यसपछि अनलाइनमा प्रमोट हुन थलेपछि विदेशबाट आउनेहरूले ड्राइभर चाहिँदैन, आफैं चलाउँ गरी गाडी माग्न थालेपछि व्यवसायले नै अर्कै मोड लिएको उनको अनुभव छ ।

विदेशमा सेल्फ ड्राइभ सुविधा भए पनि नेपालमा त्यो सेवा थिएन । पटक-पटक अनुरोध आउन थालेपछि रिक्स मोलेरै आफूले चढ्ने कार दिएको श्रेष्ठ बताउँछन् । 

'मलाई के थाहा त ? आफू विदेश गएको छैन, विदेशमा त्यो सेवा पनि पाइने रहेछ । शुरूमा कहाँ पाइन्छ ? त्यसरी भनेर हुँदैन भन्दै गएँ । तर पटक फटक मान्छे आउन थालेपछि अरूको गाडीमा रिक्स लिन त सकिएन, म आफैले चढ्ने गरेको गाडी दिएँ । एउटाबाट शुरू गरेको व्यवसायले राम्रो प्रतिफल दिन थाल्यो । त्यसपछि यसमा पनि जोडतोडले काम शुरू गरे‌ं ।'  उनले भने । 

त्यति बेला सीमित राइडर हुन्थे । जो थिए त्यति सक्षम पनि थिएनन् । तर पनि रिक्स लिएरै अगाडि बढेको उनी सुनाउँछन् । 

‘हाम्रो भौगोलिक बनावट नै सबैभन्दा गाह्रो छ । बाहिर जानै पर्दैन, काठमाडौं भित्रैका सडक कन्डिसनका थिएनन्, त्यो ठूलो च्यालेन्ज थियो । तर कि त फरक गर्नु पर्‍यो कि त गर्दै नगर्न पर्‍यो,' उनी भन्छन् ।

घरमा यत्तिकै बसेको गाडीले ड्राइभर सहित १ लाख मात्रै कमाउँथ्यो । सेल्फमा २,३ लाखसम्म कमाइ हुन थाल्यो । त्यसपछि यो चाहिँ चल्छ भन्ने लागेर यो बिजनेश मोडल नै परिवर्तन गरेको उनले बताए ।

पहिले पहिले गाडी माग्नुपर्ने अवस्था थियो तर अहिले त्यस्तो छैन । उनलाई चिन्नेहरूले मेरो गाडी पनि चलाइदिनुपर्‍यो, भन्दै फोन गर्छन् । 

‘पहिले बिजनेश नयाँ हुँदा विश्वास गर्न गाह्रो थियो । आफन्तको मात्रै गाडी लिएर चलाएँ ।  अहिले सबैले विश्वास गरेका छन् । यो मेरो सबैभन्दा ठूलो कमाइ पनि हो ।’ उनले भने । 

अहिले उनका  ४०/४५ ओटा गाडी दैनिक सेल्फ ड्राइभको लागि मात्र गुड्छन् । ड्राइभर सहित त त्यसको हिसाब नै छैन उनीसँग । शुक्रवार, शनिवार र दशैंको बेलामा गाडी नै पुग्दैनन् उनलाई  । 

ठगहरूबाट जोगिनै मुस्किल
मान्छेहरू गाडी लगेर बैनामा राख्ने अनि पैसा लिएर हिँड्ने गर्छन् । यस्ता केस त दैनिक आउने गरेका छन् उनीसँग। अभियानसँग कुरा गर्दै उनले सुनाए, 'आज एउटा प्रेजा गाडी लगेर गएको थियो, ५० लाखको गाडी छोडेर १८ लाख रुपैयाँ लिएर हिंडेछ ।' 

‘प्रायः गाडी भाडामा लिने उनका ग्राहक जग्गा व्यवसायीहरू हुन् । यस्तो ठगी पनि जग्गा कारोबारीले नै धेरै गरेका छन् । दैनिक ६, ७ हजार रुपैयाँ तिरेर गाडी चढ्ने भनेको सबैको बसको कुरा होइन ।’ उनी भन्छन् । 

'यिनीहरुलाई गाडी आवश्यक पर्दो रहेछ । मान्छे लैजान पर्‍यो, जग्गा देखाउन पर्‍यो, फेरि जग्गावाला हो भन्ने जस्तो पनि त देखिनु पर्‍यो नि !’

अहिले जग्गा कारोबारमा आएको मन्दीले उनको व्यवसायलाई केही असर गरेको छ । 'अहिले त क्रन्च रहेको छ । हरेक दिन आइरहने केसमा यो महीनामा चार ओटा त घरजग्गासँग सम्बन्धित केस छन् । 

'गाडी चढेर आएको छ । कागज पत्र पनि नहेरी पैसा हाल्छ । यति पैसा मलाई देऊ, गाडी राख भन्छन् । पैसा फिर्ता गरेर गाडी लिन आउँछु भन्दै छोडेर हिँड्छन् । हामीले गाडी फिर्ता ल्याउन अनेक दुःख गर्नुपर्छ ।' उनले भने ।   

बिजनेशमा लगानीभन्दा विश्वास ठूलो रहेछ 
बिजनेशमा सबैभन्दा ठूलो विश्वास रहेछ । त्यसमा पनि आत्माविश्वास रहेछ । त्यसपछि मात्रै अन्य कुरा आउने उनको बुझाइ छ ।  

‘पैसा भएपछि स्टार्ट गर्ने कि स्टार्ट भएपछि पैसा आउँछ भनेर धेरैले सोध्ने गरेका छन् । मत भन्छु कन्फिडेन्ट भएपछि स्टार्ट गर्नुस् । जब कन्फिडेन्ट आउँछ, पैसा त परिवार साथीभाइ, वित्तीय संस्था जताबाट पनि आउँछ ।’ 

अहिले पुराना गाडीलाई फेजआउट गर्दै नयाँ गाडी र केही लक्जरी गाडी ल्याउने योजनामा छन् उनी । जति पुरानो हुँदै गयो त्यति नै धेरै खर्च आउँछ । त्यो भन्दा नयाँ गाडी थपेर व्यवसाय विस्तार गर्दा सहज हुने उनको बुझाइ छ । 

मेरो पहिलो गाडी भनेको फेरोडूवा किनरी हो । पछिल्लो पाँच वर्षमा अब लक्जरी गाडीतर्फ पनि जानुपर्छ है भन्ने लाग्यो । तर समस्या यत्रो लामो समय आम्दानी दिएको गाडी फिर्ता गर्न पनि गाह्रो हुने रहेछ । मिडिल क्लासको लागि लक्जरी भनेको अहिलेलाई क्रेटा टेरानो लगायत ५० लाख रेञ्जका गाडी छन् । 

नेपालका बाटोका कारण धेरै समस्या हुने गरेकोले सानो गाडी भन्दा ग्राउण्ड क्लियरेन्स राम्रो भएको गाडीमा जोड दिएको र साना गाडी बिस्तारै फेजआउट गर्न लागेको उनले बताए ।  

कति लाग्छ भाडा ?
उपत्यकाभित्र दैनिक ६ हजार देखिको मूल्य रेञ्ज रहेको छ । सानो गाडी ४ हजार देखि शुरू हुने उनले बताए । महीनाभरिका लागि लगेमा अझै सस्तो पनि हुने गरेको छ । कसैले महीना दिनकै लागि लगेमा १ लाख ४० हजार रुपैयाँदेखि शुरू हुन्छ ।

गाडी दिँदा तेलसहित दिने गरेको भए पनि पछिल्लो समय केही ग्राहकले जता पायो उतै लैजाने, तेल नसकेसम्म फिर्ता नगर्ने गरेपछि त्यो सेवा दिन छोडेको उनले बताए । त्यस्तै पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेका कारण पनि तेल दिन छोडेको उनको भनाइ छ ।

राजनीतिक दल र राजनीतिज्ञलाई गाडी नदिने 
चुनाव आयो, अब त बिजनेश बढ्छ होला भन्ने अभियानको प्रश्नमा भने श्रेष्ठले रोचक जवाफ दिए । सकेसम्म राजनीतिक दललाई भाडमा गाडी नदिने उनले बताए । यसको एउटा कारण- समयमा पैसा नआउने तथा पैसा लिनै समस्या हुने भएपछि कुनै दलगत रूपमा भाडामा माग्नेलाई गाडी दिन छोडेको उनको भनाइ छ ।
 
पहिले पहिले समस्या थियो । गाडी कहाँ पुग्यो भन्ने थाहा हुन्थेन । पछिल्लो प्रविधिले भने सहज भएको उनी बताउँछन् । उनको कन्ट्याक्टमा गाडी बजारमा जान्छ । उनले हरेक गाडीमा जीपीएस जडान गर्दिएका छन् । सवारी धनीले आफ्नो गाडी कुन स्थानमा छ भन्ने जानकारी सहजै लिन सक्छन् । 

पोखरामा पनि सेवा 
अहिले उनको यो सेवा काठमाडौं सहित पोखरामा पनि सञ्चालनमा छ । आफ्नो व्याव‍सायिक यात्रामा १० भन्दा बढी प्रकारका क्षेत्रमा काम गरेको अनुभव लिएका श्रेष्ठ उमेरले ३६ वर्षका भए । तर उनी अब कुनै कामको लागि परीक्षण गर्ने समय नभएकोले सिधै नतिजामुखी कामका लागि व्यवसाय विस्तार गर्ने बताउँछन् ।

अहिले पोखरा बाहेक यो व्यवसायको लागि अन्य शहर तयार भइनसकेकोले हाल पोखरामा पाँच ओटा कारबाट सेवा  शुरू गरेका छन् ।

अरूको कारबाट सेवा दिँदै आएकोमा अब भने आफ्नै गाडी थप्ने योजनाामा रहेछन् उनी। अहिले उनीसँग आठ ओटा निजी गाडी छन् भने बाँकी सबै भाडाका हुन् । 

यो वर्ष भित्र १५ ओटा आफ्नै गाडी कुदाउने लक्ष्य रहेको उनले सुनाए । हिसाब निकाल्दै उनले भने,' 'एउटा गाडीलाई मासिक रूपमा तिर्ने भाडारकम किस्तमा तिर्ने हो भने ५ वर्षमा त आफ्नै गाडी आउँदो रहेछ ।' 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)