नेपाल प्राकृतिक सौन्दर्यका कारण विश्व पर्यटन बजारमा उच्च सम्भावना बोकेको मुलुक मानिन्छ । यद्यपि उचित प्रचार रणनीतिको अभावमा विश्व पर्यटन बजारमा नेपालले खासै अंश ओगटेको पाइँदैन । नेपालमा गुणस्तरीय पर्यटकको आगमन हुन नसकेको सन्दर्भमा विभिन्न खालका पर्यटन प्याकेज र सम्भावनाको खोजी जारी छ । यसै अनुसार नेपालमा तारे होटेलहरू र अन्य केही पूर्वाधारमा लगानी बढ्दो छ । नयाँ प्रडक्टको खोजीका क्रममा एलजीबीटीलाई पनि सम्भावनाको बजार मानिएको छ । यद्यपि नेपाल बन्द समाज भएकाले यस्तो पर्यटनबारे खुलेर पर्याप्त बहस भने हुन सकेको छैन । विश्वभरि नै यस्तो पर्यटनको पक्ष र विपक्षमा बहस भइरहेका बेला नेपालमा पनि यसबारे बहस चलाउनु समसामयिक भएको छ । यस आलेखमा यसै पक्षबारे चर्चा गर्ने प्रयास गरिएको छ ।
नेपालमा भएका ट्राभल कम्पनीहरूमध्ये थोरैले मात्र एलजीबीटीहरूका लागि उपयुक्त प्याकेजहरू प्रस्ताव गरेका छन् ।
विश्वमा पछिल्लो समय यौनिक विशेषता एजीबीटीक्यु (लेस्बियन, गे, बाइसेक्सुयल र ट्रान्सजेन्डर) पर्यटनको बजार निकै बढेको छ । विश्वमा समलिंगी विवाहलाई कानूनी मान्यता दिने क्रम बढेसँगै यस्तो पर्यटनको बजार पनि बढेको हो । संयुक्त राष्ट्रसंघ, विश्व पर्यटन संघले गरेको एक अध्ययनले यसको बजार बढ्दै गएको देखाएको छ । खासगरी सम्पन्न र विकसित देशमा एलजीबीटीक्युको संख्या र पहिचान बढ्दै गएको र उनीहरू खर्चालु पनि भएकाले नेपालले उनीहरूलाई आकर्षित गरेर गुणस्तरीय पर्यटन बढाउन सक्छ । उनीहरू आफूप्रति नकारात्मक धारणा नराख्ने समाजमा निर्धक्कसँग घुम्न चाहन्छन् र मजाले खर्च पनि गर्छन् । यिनीहरू शौखिन पनि हुन्छन् ।
हो, नेपालको धार्मिक आस्था, सामाजिक सोच र सांस्कृतिक पक्षले एलजीबीटीलाई सकारात्मक रूपमा लिएको पाइँदैन । यद्यपि नेपालमा ब्लु डाइमन्ड सोसोइटीजस्ता संस्थाले यसबारे पर्याप्त काम गरिरहेका छन् । तैपनि नेपालमा यो शब्दावलीसँग झस्कने मानिसहरूको संख्या उल्लेख्य रहेको छ । यस्ता पर्यटक आगमनले नेपालको धार्मिक, सामाजिक र सांस्कृतिक विशेषतालाई प्रभावित नपार्ने गरी उनीहरूलाई नेपालमा आकर्षित गर्न सकिन्छ । यसका लागि कुनै विशेष लगानी गर्नुपर्ने होइन । समाजमा यसले सीधै असर पार्ने पनि होइन । तर, उनीहरू नेपालमा सुरक्षित किसिमले घुमघाम गर्न सक्छन् भन्ने सन्देश प्रवाहित गरे पुग्छ । नेपालमा पनि यौनिक अल्पसंख्यकहरू संगठित भइरहेका छन् र उनीहरूले आफ्नो अधिकारको माग गरिरहेका छन् । त्यसैले यस्ता पर्यटक नेपालमा भित्र्याउने न नभित्र्याउने भन्ने बारेमा बहस गर्नु खासै आवश्यक देखिँदैन । विश्व पर्यटन बजारमा यसले निकै प्रभावित पारिरहेकाले नेपालले यसलाई उपेक्षा गर्न मिल्दैन ।
विश्वमा कैयौं देशले समलिंगी विवाहलाई मान्यता दिन थालेका छन् । तर, विश्वका ७२ वटा देशमा समलैंगिक विवाहलाई अपराध मानिन्छ र यस्ता मानिसलाई जेलमा हाल्ने कानूनी प्रावधान छ । त्यस्तै, १२ ओटा देशमा त मृत्युदण्ड दिने कडा नीति नै लिएको पाइन्छ । यस्ता मानिसलाई अपराधी नमानिए पनि सामाजिक रूपमा बहिष्कार गर्ने प्रवृत्ति थुप्रै देशमा पाइन्छ । तर, कतिपय देशमा यस्ता मानिसहरूले सुरक्षित रूपमा घुमफिर गर्न पाउँछन्, आत्मीय व्यवहार पाउँछन् । स्थानीयले उनीहरूलाई स्वीकारेको पाइन्छ । यसरी स्वीकार हुने ठाउँमा यस्ता मानिस पर्यटनमा जान रुचाउँछन् ।
नेपालमा भएका ट्राभल कम्पनीहरूमध्ये थोरैले मात्र एलजीबीटीहरूका लागि उपयुक्त प्याकेजहरू प्रस्ताव गरेका छन् । नेपालभित्र एलजीबीटी मानिसहरूका लागि टुर प्याकेज प्रदान गर्ने टुर अपरेटरहरू रहेका छन् । यस्ता पर्यटकहरूले साहसिक, तीर्थयात्रा, ध्यान, प्राकृतिक चिकित्सा, संस्कृति, खाना मार्फत नेपाल अन्वेषण र भ्रमण गर्न सक्छन् ।
नेपालमा सुशील पन्तले खोलेको पिन्क माउन्टेन ट्राभल्स एन्ड एस्कर्सन्स पहिलो एलबीटीक्यु ट्राभल एजेन्सी हो जसले यस्ता पर्यटकलाई विभिन्न प्याकेज ल्याएको पाइन्छ । त्यस्तै नेपालमा गे टुर्स, लेस्बियन टुर, लेस्बियन भ्याकेशन, गे एडभेन्चर ट्राभल, लेस्बियन एडभेन्चर टुरजस्ता ट्रेकिङ प्याकेजहरू रहेको पाइन्छ । नेपाल यस्ता पर्यटकका लागि मैत्रीपूर्ण गन्तव्य मानिन्छ । एशिया नै समलिङ्गी र समलिङ्गी जोडीहरूको लागि लोकप्रिय पर्यटक गन्तव्य मानिन्छ यद्यपि यूरोपेली देश जस्तो यहाँ एलजीबीटीहरूले पहिचान पाइसकेका छैनन् ।
यस्ता पर्यटकहरू नेपालमा शान्त वातावरणमा बिदाहरू बिताउन मन पराउँछन् । नेपाल पर्यटन बोर्डले एलजीबीटी पर्यटनलाई सकारात्मक रूपमा लिएको छ । एलजीबीटी स्वीकार्ने मामिलामा नेपाल पनि अघि बढेको पाइन्छ । नेपालको संविधानले एलजीबीटीको अधिकार स्थापित गरेको छ । सर्वोच्च अदालतले एलजीबीटी समुदायको अधिकारको रक्षा गर्ने ग्यारेन्टी छ । नेपाल प्रजातान्त्रिक मुलुक भए पनि यौनिक अल्पसंख्यकको अधिकारको लामो यात्रा तय भएको छ । तर, अहिलेको परिप्रेक्ष्यमा नेपालीहरू यी कुरामा बढी खुलेका छन् ।
नेपालीहरू आतिथ्यका लागि विश्वमा परिचित छन् । एलजीबीटीहरूलाई नेपालमा कुनै भेदभावपूर्ण व्यवहार गरिँदैन । हो, सार्वजनिक स्थलमा कतिपय कुरा गर्न वर्जित गरिएको छ । यस्तो प्रतिबन्ध एलजीबीटीलाई मात्र होइन, सबै खालको पर्यटकका लागि हो ।
नेपाल घुम्नका लागि दक्षिण एशियाकै तेस्रो सुरक्षित देश हो । नेपालमा अपराध दर निकै कम छ । एलजीबी पर्यटकले पनि स्थानीय मानिससँग कुराकानी गर्न र ठाउँका बारेमा जान्न सक्छन् । धेरै मानिसलाई एलजीबीटी के हो भन्ने थाहा पनि छैन । त्यसैले पनि यहाँ यस्ता पर्यटकले भेदभावको शिकार हुनु पर्दैन ।
एलजीबीटी पर्यटनलाई सहयोग पुग्ने गर्ने जर्मन पोर्टलले गे ट्राभल एन्डेक्स निकाल्न सन् २०१२ देखि शुरू गरेको थियो । यसको २०२१ को प्रतिवेदनअनुसार एलजीबीटीका लागि क्यानडा एक नम्बर स्थानमा रहेको छ । त्यसपछि स्पेन, माल्टा, पोर्चुगल रहेका छन् । तर चेचेन्या, सउदी अरब र सोमालिया ऋणात्मक अंकका साथै सबैभन्दा तल रहेका छन् । नेपालले भने शून्य अंकको स्कोर पाएको छ ।
नेपालीहरू खुला ह्दयका भएकाले यस्ता पर्यटकहरूलाई छिः छिः र दुरदुर गर्ने बानी छैन । यसले गर्दा उनीहरू यस देशमा निर्धक्कसँग डुल्न पाउँछन् । हो, खुला रूपमा यस्तो पर्यटनबारे पर्याप्त छलफल भने भएको छैन । अब यसबारे चर्चा गर्ने र यस्ता पर्यटक लक्षित प्याकेजको प्रचार जरुरी देखिन्छ ।
सर्वथा नयाँ कुरो लेख्नु भो, लेखक ज्युले । हो यो र यस्तै नयाँ कुरा अपेक्षा छ भविश्यमा पनि लेख्नको...। साथै...''एलजीबीटीका लागि क्यानडा एक नम्बर स्थानमा रहेको छ । त्यसपछि स्पेन, माल्टा, पोर्चुगल रहेका छन् ''...खुसी लाग्यो, जानकारीका पाएर त्यसका लागि धन्यवाद....!?