काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) तथा हिमालयन बैंकले मेलम्ची खानेपानी आयोजनालाई काउन्टर ग्यारेन्टीबापत भुक्तानी गरेको रकम चिनियाँ बैंकबाट फिर्ता पाएका छन् । नेपाली बैंकहरुलाई काउन्टर ग्यारेन्टीबापतको रकम भुक्तानी गर्न चिनियाँ अदालतले आदेश दिएसँगै चाइना कन्स्ट्रक्सन बैंकले बिओकेलाई ६६ लाख २५ हजार १० डलर र १४ लाख ११ हजार ४५३ युरो तथा हिमालयनलाई ६६ लाख डलर भुक्तानी गरेको हो । चिनियाँ बैंकबाट मंगलवार भुक्तानी प्राप्त भएको बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिए ।
मेलम्ची आयोजनाको चिनियाँ ठेकेदार चाइना रेल्वे कम्पनीले सम्झौताअनुसार आयोजनाको काम गर्न नसकेपछि ठेक्का रद्द गरी आयोजनाले ग्यारेन्टीबापतको रकम दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो । अदालतको आदेशअनुसार नेपाली बैंकहरुले आयोजनालाई ग्यारेन्टी रकम भुक्तानी गरे पनि चिनियाँ बैंकबाट रकम पाएका थिएनन् । ठेकेदार कम्पनी चाइना रेल्वेविरुद्धको मुद्दामा चीनको हेनान प्रान्तस्थित पिपुल्स इन्टरमिडिएट कोर्ट तथा हेनान पिपुल्स उच्च अदालतले नेपाली बैंकको पक्षमा आदेश दिएको थियो । नेपाली बैंकहरुले चीनमा कानूनी परामर्शदाता पठाएर उच्च अदालतमा मुद्दा लडेका हुन् ।