ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यति धेरै अँध्यारो किन ?

२०७९ भदौ, १०  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

देश चलाउन आउँदैन तर चलाइरह्यो भने नतीजा त्यस्तै हुन्छ, जस्तो अहिले भइरहेको छ । जुन काम गर्न आउँदैन, तर पनि त्यसलाई गरिरह्यो भने नतीजा त्यही नै निक्लन्छ, जस्तो निक्लनुपर्छ । प्रत्यक्ष प्रमाण चाहनुहुन्छ भने त्यो गायकको गीत सुन्नुस् वा त्यो नायकको नृत्य हेर्नुस्, जसलाई गाउन वा नाच्न पटक्कै आउँदैन, तर पनि गाइरहेछ वा नाचिरहेछ । जुन मिस्त्रीलाई मशिन बनाउन आउँदैन, तर पनि बनाउँछु भनेर लाग्यो भने मशिन कस्तो बन्छ भन्ने अनुमान सहजै गर्न सकिन्छ ।

चन्दाको धन्दा नसप्रेपछि नीतिगत फन्डा बनाएर कुनै राजनीतिक नेता र दललाई देशको ढुकुटी सुधार्न दिने अनि कसैले विरोध गरे डण्डा चलाइहाल्ने यो कस्तो भागबन्डा हो प्रधानमन्त्रीज्यू ?

हाम्रो सार्वजनिक संस्थानहरूमा ती संस्थानहरूलाई राम्रो बनाउने गफ दिएर नेतृत्वमा बसेकाहरूले ती संस्थानहरूको हालत कस्तो बनाएका छन्, तिनको काम कारबाही र नतीजाबाटै प्रष्टै देखिएकै छ नि ।

तपाईंले साइकल चलाउन सिक्न खोजेका मान्छेलाई देख्नुभएको छ नि । हो, जसलाई साइकल चलाउन आउँदैन, तैपनि चलाइरहेको छ भने त्यस्तै देखिन्छ, जस्तो हाम्रा नीति निर्माणमा वा सरकारका नेतृत्वमा बसेकाहरूले आआफ्नो ठाउँबाट नेतृत्व चलाइरहेका छन् । बरु साइकल चलाउन प्रयास गर्दा गर्दै धेरैले राम्ररी चलाउन सिकिहाल्छन् । तर हाम्रा नीति निर्माणमा वा सरकारका नेतृत्वमा बसेकाहरूले त सरकार चलाउन कहिल्यै सिक्नेवाला छैनन् भन्ने अब त स्पष्टै झैसक्यो नि, हैन ? कहिले संघमा त कहिले प्रदेश संसद्मा आफूले भने अनुसार पक्षले नगरे संसदै चल्न नदिने चलन विपक्षीमा बस्नासाथ सांसदहरूले चलाइरहेका हुन्छन् । त्यो पनि हुलदंगा गरेर । हुलदंगा मारमुग्री नै गर्ने हो भने सडक वा पार्टी कार्यालयहरू छँदै थिए, संसद् वा संसदीय व्यवस्था किन चाहियाथ्यो त ? देश यदि लोकतन्त्रको शरीर हो भने संसद उसको आत्मा हो । तर हिजोआज यो आत्माका मालिकहरू आफूलाई परमात्मा भएको व्यवहार देखाइरहेका छन् । सांसदहरूले यस्ता यस्ता कर्तुत देखाइरहेका छन् कि सर्कस चलाउनेहरूको हर्कत पनि हार खान्छ ।

मेरो कुरा अझै राम्रोसँग बुझ्नलाई अन्त जानै पर्दैन नि । वैकल्पिक भनेर खोलिएका दलहरूलाई नै हेर्नुस न्, जसलाई दल चलाउनै आएन । अनि जसले एउटा आफ्नो दल वा संगठन चलाउन जान्दैनन्, तिनले फेरि देश चलाउने डिङ हाँक्छन् । यस्तो देखेपछि मलाई आफ्नो बाल्यकालको सम्झना आउँछ, जुनबेला मेरो बुबाको स्कुटरमा अगाडि बसेर म आफै स्कुटर चलाउँछु भनेर जिद्दी गर्थें । धन्न बुवाले चलाउन दिनुभएनछ । नत्र मेरो यो कुरा तपाईंले अहिले सुन्न पाउनुहुन्नथ्यो होला । तर दुर्भाग्य हामीले भने ती बुढाबालकहरूको कुरा सुन्ने मात्र हैन, उनीहरूले हाँकिरहेकै देशको गाडीमा चढेर भीरको बाटो सवार छौं ।

हाम्रा अर्थमन्त्रीको हिसाबकिताब राख्ने तौरतरीका र परिणामलाई नै हेर्नुस् न । तयारी वस्तु आयात गर्दा भन्सार नलाग्ने । कच्चापदार्थ आयात गर्दा भन्सार लाग्ने । अनि उस्तै विदेशी वस्तु आयात गर्दा भन्सार कम । तर स्वदेशी वस्तु हो भने त्यसमा अनेकथरी कर । यो कस्तो आत्मनिर्भरताको सूत्र हो ? कुन अर्थशास्त्र हो, कुन व्यापार शास्त्र हो ? मैले त फिटिक्कै बुझिनँ । यो त त्यस्तै भयो कि हिसाब किताब राख्न नजान्ने मान्छेलाई लेखाशाखाको प्रमुख बनाएजस्तो । चन्दाको धन्दा नसप्रेपछि नीतिगत फन्डा बनाएर कुनै राजनीतिक नेता र दललाई देशको ढुकुटी सुधार्न दिने अनि कसैले विरोध गरे डण्डा चलाइहाल्ने यो कस्तो भागबन्डा हो प्रधानमन्त्रीज्यू ?

ठगबन्धन सरी गठबन्धनको नाममा हरेक ६/६ महीनामा मन्त्रीहरू फेरिरहनुपर्ने, तिनलाई जनताको कमाइ काटेर जबरजस्ती उठाउने गरिएको करबाट जीवनभरि सरकारी गाडी, चालक, भत्ताले पोसिरहनुपर्ने यो कस्तो समृद्धिको यात्रा हो सम्माननीयज्यू ? लोकतन्त्र, गणतन्त्र भने पनि दलतन्त्र, त्यसमा पनि गुटतन्त्र र अझ त्यसमा पनि केही व्यक्तिले चलाउने यो कस्तो लुटतन्त्र हो ? कि यो बाँदरको हातमा परेको नरिवल भएको हो हाम्रो लोकतन्त्र ?

अति भएपछि मैले एकजना नेतालाई सोधेँ, ‘नेताजी देशमा जताततै यति धेरै भद्रागोल किन ?’ उहाँले भन्नुभयो, ‘तपाईं उल्टो देख्नुहुन्छ त्यसैले । हाम्ले जस्तै टाउकोले भुइँमा टेकेर हेर्न शुरू गर्नुस्, सबैथोक ठीक देख्न थाल्नुहुन्छ ।’ मसँग जवाफ थिएन । वास्तवमा अहिले हरेक नेता, शासकका यस्तै यस्तै जवाफ आउने गर्छ ।

जनताबाट निर्वाचित, जनताका आवाज उठाउने, जनताका लागि लड्ने भनिएकाहरू नै आज जनताका शासक बनेका त छन् । तर अहिले सबैले प्रश्न गरिरहेका छन् कि देशमा जताततै यति धेरै अँध्यारो किन ? वास्तवमा अँध्यारो त जनताका नेता शासक बनेपछि घना हुन शुरू भएको देखिन्छ । अँध्यारोले आफ्नो सत्ता यति धेरै बलियो बनाइसकेको छ कि यसको पर्खाल भत्काउन वा प्वाल पार्न करीब करीब असम्भव बन्दै गएको छ ।

व्यक्ति हत्याबाट शुरू भएको जनताको नामको राजनीति पहिले जेलको हावा खानबाट नेताहरूले शुरू गरेका थिए । सित्तैमा खाने बानी परेछ कि क्या हो, अहिलेसम्म आइपुग्दा नेताहरू जे जे पाइन्छ, त्यै खानेतिर लागेको देखिन्छ । यो खाने र ख्वाउने कर्मले गर्दा देशमा चारैतिर असहिष्णुता, घृणा, डर, अव्यवस्था, अविश्वास, असफलताको अँध्यारो छाएको छ । स्थिति यहाँसम्म पुग्यो कि कुनै चीजमा ५० पैसा १ रुपैयाँ भाउ बढ्दा लड्न भिँड्न उद्यत हुनेहरू आज पेट्रोलियम लिटरमा एकैपटक पचास, सय रुपैयाँ बढ्दा समेत चुँ पनि नगर्ने भएका छन् । मान्छेकोे तब मात्रै बोली बन्द हुनुपर्ने हो, जब उसको विवेकमा ताला लाग्छ वा कि आश सकिन्छ कि सास । तर यहाँ के भइरहेछ मैले बुझ्न सकेको छैन ।

बन्द राजनीति गर्न सबै तयार, तर जसको नाममा राजनीति गरिरहेको हो, उसका लागि सानो केही गरिदिन कोही तयार छैनन् । किनकि उनीहरू आफैलाई अझै पुगेको छैन । देख्नुभएन मन्त्री पाउन र छाड्नुपर्दा दलमा कत्रो हलचल, कत्रो रुवावासी ? राजनीतिका नाममा समाजलाई यति धेरै तरीकाले छिन्नभिन्न पारिएको छ कि अब यो शायदै एक हुन सक्ला । यो अँध्यारोले सबैलाई निलिरहेको प्रतीत हुन्छ ।

यो अँध्यारो कहिले खुल्छ भन्न सकिन्न । सत्ताबाट बाहिरिनु परेकाहरू पानीविनाका माछा बनेका छन् र सत्तामा बसेकाहरू विनासंकोच कुम्भकर्ण निद्रामा छन् । कवि शिरोमणि लेखनाथ पौड्यालले भनेजस्तै ‘यो सारा सृष्टि कालो मनबीच छ भने दम्भदुर्भाव कालो ।’ हो, अहिले यत्रतत्र कालो वा अँध्यारो नै अँध्यारोको सत्ता छाएको देखिन्छ । के कसैले भन्न सक्छ ? यो अँध्यारो सुरुङबाट हामी कहिले बाहिर निक्लन सक्छौं र एउटा उज्यालो दियो कहिले जलाउन सक्छौं ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)