ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक राजस्व कार्यालय भरतपुर : साउनमा रू. १ अर्ब ११ करोड राजस्व असुली

२०७९ भदौ, १४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । आन्तरिक राजस्व कार्यालय, भरतपुरले एक महीनामा करीब १ अर्ब ११ करोड राजस्व असुल गरेको छ । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महीना साउनमा कार्यालयले १ अर्ब १० करोड ९९ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

आन्तरिक राजस्व विभागले कार्यालयलाई साउन महीनाका लागि १ अर्ब ६४ करोड ८१ लाख ७५ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएको थियो । संकलित राजस्व निर्धारित लक्ष्यभन्दा ३२ दशमलव ६६ प्रतिशत कम हो । कार्यालयले आयकर र स्वास्थ्य सेवा कर शीर्षकबाहेक अन्य शीर्र्षकमा लक्ष्य अनुसार कर असुल गर्न सकेको छैन, जसअनुसार आयकर शीर्षकमा साउनमा १५ करोड १० लाख २३ हजार रुपैयाँ असुलीको लक्ष्य रहेकोमा १६ करोड ४४ लाख ५३ हजार रुपैयाँ असुली भएको छ । स्वास्थ्य सेवा करमा ५ लाख ५३ हजार रुपैयाँ राजस्वको लक्ष्यमा २६ लाख २८ हजार रुपैयाँ असुली भएको छ । कार्यालयका कर अधिकृत सुशील लम्सालले साउनमा आयकर र स्वास्थ्य करको बक्यौता रकम  करदाताले बुझाएकाले लक्ष्यभन्दा बढी असुली भएको बताए । ‘साउनदेखि आयकर तिर्ने सिजन पनि शुरू हुन्छ,’ उनले भने, ‘हामी अहिले बक्यौता रकम असुलीमा बढी केन्द्रित छौं ।’ कार्यालयमा सबैभन्दा कर असुली हुने अन्त:शुल्क शीर्षकमा १ अर्ब २७ करोड १७ लाख ९ हजार रुपैयाँको लक्ष्यमा ७४ करोड ४३ लाख ९७ हजार रुपैयाँ असुली भएको छ । तर शिक्षा सेवा करमा विभागले कुनै पनि लक्ष्य दिएको छैन । सो शीर्षकमा कर पनि असुली भएको छैन ।

यस्तै ब्याजकर शीर्षकमा कार्यालयलाई २ करोड ३९ लाख १२ हजार रुपैयाँ असुलीको लक्ष्य दिइएकोमा १ करोड ९६ लाख ११ हजार रुपैयाँ संकलन भएको छ । बहालकर शीर्षकमा ६४ लाख ८१ हजार लक्ष्य दिइएकोमा ११ लाख ५९ हजार रुपैयाँ र मूल्य अभिवृद्धि करतर्फ १९ करोड ४४ लाख ९७ हजार रुपैयाँको लक्ष्यमा १७ करोड ७७ लाख ३९ हजार रुपैयाँ संकलन भएको कार्यालयले जानकारी दिएको छ । कर अधिकृत लम्सालले असार मसान्त आर्थिक वर्षको अन्त्य भएकाले सो महीना औसत राजस्व संकलन बढी हुने बताए । ‘आर्थिक वर्षको पहिलो महीना साउनमा राजस्व संकलन सधैं असारको भन्दा कम हुने गर्दछ,’ उनले भने,  ‘अहिले आर्थिक गतिविधि पनि सुस्त छ ।’ विभागले  मासिक रूपमा कर असुलीको लक्ष्य दिए पनि समग्रमा वार्षिक कुल कर असुली सन्तोषजनक हुने उनले बताए । विभागले चालू आर्थिक वर्षका लागि कार्यालयलाई २६ अर्ब २६ करोड ५९ लाख ७४ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)