नेपालको आयात व्यापारमा भारी वृद्धिको अवस्था विद्यमान रहेको छ । २००७ सालयता कुनै पनि वर्ष नेपालको पक्षमा व्यापार सन्तुलनको उदाहरण पाइँदैन । सन्तुलन मात्रै होइन, निर्यात र आयातबीचको दूरी पनि वर्षेनि बढ्दो छ । कुनै समय ४०:६० को अनुपातमा रहेको निर्यात आयात अनुपात करीब १०:९० को हाराहारीसम्म पुग्न गएको छ । आयातको आकार पनि वर्षेनि भीमकाय हुँदै गएको छ । आर्थिक वर्ष (आव) २०७८/७९ मा नेपालको कुल आयात रू. १९ खर्ब २० अर्ब पुग्न गएको छ जबकि आयात रू. २ खर्र्बको हाराहारीमा मात्र समेटिएको छ । नेपालमा यसरी बढ्दो व्यापारका कारणहरू यसप्रकार रहेका छन् ।
आयात न्यूनीकरण गर्ने जम्मा पाँचओटा औजार उपलब्ध छन् । पहिलो स्वदेशमा उत्पादन, दोस्रो वैकल्पिक उपभोग, तेस्रो बुद्धिमत्तायुक्त उपभोग, बुद्धिमत्तायुक्त आयात र पाँचांै आयातको नियमन ।
विनिमय दर
नेपाली मुद्रा परिवत्र्य विदेशी मुद्रासँग दिनानुदिन कमजोर हुँदै गएको छ । आव सन् १९६५/६६ मा ७ रूपैयाँ ६४ पैसा बराबर रहेको नेपाली रूपैयाँको अमेरिकी डलरसँगको विनिमयदर २०७८/७९ सम्म आइपुुग्दा १२१ रूपैयाँ २० पैसा पुग्न गएको छ । देशका निर्यातको आधार कमजोर हुँदा कमजोर मुद्राको लाभ नेपालले लिन सकेको छैन । आयातमुखी आर्थिक गतिविधिका कारण कमजोर मुद्राले आयातको आकार मात्र बढाइरहेको छ । यसरी नेपाली मुद्रा कमजोर हुुनु नेपालको आयात वृद्धिको एक प्रमुख कारणका रूपमा रहेको छ ।
भौतिक संरचना निर्माण
२००७ सात सालपूर्व नेपालको वैदेशिक व्यापार नेपाल पक्षमा रहनुमा निर्वाहमुखी अर्थतन्त्र प्रमुख रूपमा जिम्मेवार रहेको छ । २००७ सालपछि देशभर भौतिक संरचनाको निर्माणले गति लिएसँगै यस क्षेत्रका लागि चाहिने निर्माण सामग्रीका कारण नेपालको आयातमा वृद्धि भएको देखिन्छ । यो प्रवृत्ति सार्वजनिक भौतिक संरचनामा मात्र सीमित रहेन । घर निर्माणमा प्राय: नेपाली वस्तु प्रयोग हुनुको साटो आयातित वस्तुको प्रयोग बढ्दै जान थाल्यो ।
सडक निर्माण र यातायातका साधनको प्रयोग
२००७ सालयता सडक निर्माण विकासको मापनका रूपमा देखापरेको छ । सडक विस्तारसँगै यातायातका साधन र इन्धनको खपत वृद्धि हुनु स्वाभाविक नै मान्नुपर्छ । यातायातका साधन उत्पादन गर्न नेपालको क्षमता नभएको र इन्धनको भरपर्दो स्रोत नेपालमा उपलब्ध नभएको तथा जलविद्युत्को विकासले गति लिन नसकेको सन्दर्भमा सडक निर्माण र यातायातका साधनको प्रयोग नेपालको आयात वृद्धिको प्रमुख कारणका रूपमा रहेको छ ।
सूचनाप्रविधिमा विस्तार
सूचनाप्रविधिको विस्तारसँगै यी वस्तुको स्वदेशमा माग बढ्न थालेको देखिन्छ । रेडियो नेपालको स्थापनासँगै रेडियो र ब्याट्रीको आयातमा विस्तार भएको देखिन्छ भने नेपाल टेलिभिजनको स्थापनासँगै टेलिभिजन, एन्टेना, डिस्कको आयातमा गुणात्मक वृद्धि भएको देखिन्छ । सूचनाप्रविधि क्षेत्रमा भएको विकाससँगै तदनुकूलका वस्तुहरू स्वदेशमा उत्पादन गर्ने पूँजी र प्रविधिको अभावमा यस्ता आयात बढ्नु स्वाभाविकै हो । विशेष गरी दूरसञ्चारका सामग्री, श्रव्यदृश्यका सामग्री त्यससँग सम्बद्ध एक्सेसरिज तथा पार्टस्को आयातमा वृद्धि हुँदा यसले देशको समग्र आयातमा वृद्धि गराइरहेको देखिन्छ ।
आडम्बरयुक्त उपभोग
नेपाली आम उपभोक्ता मानसिकतामा आडम्बरयुक्त उपभोगको प्राधान्य रहेको छ अर्थात् आवश्यकताभन्दा बढी अरूलाई देखाउन उपभोग गर्ने प्रवृत्ति नेपालमा आम रूपमा रहेको छ । यस प्रवृत्तिले नेपालमा आडम्बरयुक्त उपभोग र जति महँगो भयो उत्ति बढी किन्ने प्रवृत्तिलाई बढावा दिइरहेको छ । नेपालमा उत्पादनमूलक वस्तुहरूको माग बढ्नुमा यो पक्ष पनि जिम्मेवार रहेको छ ।
वैदेशिक रोजगार
वैदेशिक रोजगारले नेपाली जनताको क्रयशक्तिमा व्यापक वृद्धि गराइदिएको छ भने उत्पादनशक्तिमा सोही अनुपातमा ह्रास पनि ल्याइदिएको छ । कुनै न कुनै रूपमा कुल गार्हस्थ्य उत्पादनमा योगदान दिइरहेको नेपाली वैदेशिक रोजगारका लागि विदेश जाँदा त्यसले देशको कुल गार्हस्थ्य उत्पादनमा ह्रास ल्याउँछ नै । यसरी एकातिर कुल गार्हस्थ्य उत्पादन घट्ने तथा अर्कोतिर विप्रेषणका कारण जनताको क्रयशक्ति बढ्ने कारणले स्वदेशमा उत्पादन कम हुन जाँदा त्यस रिक्त स्थानलाई आयातले परिपूर्ति गरिरहेको छ ।
यसरी उपर्युक्त पाँच कारणले आयात बढ्दै जाँदा यसलाई न्यून गर्ने उपायका बारेमा पनि बहस प्रारम्भ भएको छ । आयात न्यूनीकरण गर्ने जम्मा पाँचओटा औजार उपलब्ध छन् । पहिलो स्वदेशमा उत्पादन, दोस्रो वैकल्पिक उपभोग, तेस्रो बुद्धिमत्तायुक्त उपभोग, बुद्धिमत्तायुक्त आयात र पाँचांै आयातको नियमन । नेपालमा हुने आयातमा पूँजी, प्रविधि र अर्थशास्त्रका दृष्टिले सम्भव भएका उत्पादनहरूको आयात प्रतिस्थापन गर्ने नीति अंगीकार गर्नु आवश्यक छ । कृषिजन्य, वनजन्य, वस्त्रजन्य, छालाजन्य उत्पादनहरूमा आयात प्रतिस्थापनको नीति अंगीकार गरिनु आवश्यक देखिन्छ । खनिज इन्धनको साटो जलविद्युत्को अधिकतम उपभोग गरिँदा यस क्षेत्रका रहेको ठूलो आयात विस्थापित हुन सक्ने सम्भावना अधिक रहेको छ ।
आयात न्यूनीकरणमा तेस्रो उपाय भनेको बुद्धिमत्तायुक्त उपभोग नै हो । ठूला आकारका सार्वजनिक यातायातको उपयोग, अस्वस्थवर्द्धक आयातमा रोक, अधिक मात्रामा उपभोग भइरहेका वस्तुहरू, जस्तै चिल्लो पदार्थ, नुन, जन्कफुड आदि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उपभोग गर्ने कार्यले पनि आयातमा धेरै हदसम्म कमी आउन सक्छ । बेमौसमी आयातको उपभोग नगर्ने चलनलाई मात्र स्थापित गर्ने हो भने उत्पादनको सिजनमा नेपाली उत्पादनले नै पुग्ने देखिन्छ । विशेष गरी तरकारी तथा फलपूmलको आयात यस विधिले धेरै मात्रामा नियन्त्रण गर्न सक्ने देखिन्छ ।
विश्वमा आयात व्यापारमा संलग्न व्यवसायीले आफ्नो पायक पर्ने स्थानबाट आयात गर्ने गर्छन् चाहे त्यो तुलनात्मक रूपमा महँगो नै किन नहोस् । यस पक्षलाई दृष्टिगत गर्दै नेपालले पनि कुन देशमा कुन वस्तु सस्तो र गुणस्तरीय पाइन्छ भन्ने विषयमा सूक्ष्म जानकारी राख्नुपर्छ । तुुलनात्मक रूपमा सस्तो मोलमा पाइने देशहरूसँग सरकारले मोलतोल गरी मूल्य अझ कम गराई आयात गर्नुपर्छ । यसले गर्दा नेपाली आयात अझ सस्तो हुने देखिन्छ । विशेष गरी औद्योगिक कच्चापदार्थको आयात यस विधिबाट हुन आवश्यक देखिन्छ ।
आयातको नियमन पनि आयात न्यूनीकरणको उपायका रूपमा रहेको छ । स्वदेशी उद्योगलाई नै धराशयी गर्ने गरी अतिन्यून मूल्यमा बजार कब्जा गर्ने रणनीतिका आयात कानूनी रूपमा नियन्त्रण हुन जरुरी छ । यसैगरी इकोनोमी अफ स्केलका कारण नेपालमा सस्तोमा भित्रिरहेका उत्पादनहरूबाट नेपाली उद्योगलाई संरक्षण गर्न र उपभोक्ताको समेत हित प्रवर्द्धन हुने गरी आयातमा भन्सारका दरहरू र गैरभन्सार मापनको उपयोग हुन पनि त्यत्तिकै जरुरी छ ।
उपर्युक्त पक्षहरूलाई दृिष्टगत गर्दै नेपालले उपर्युक्त पाँचओटा औजारको प्रयोग गरी आयात न्यूनीकरण गर्नु आवश्यक देखिन्छ । त्यसबाहेकका वस्तु कुनै न कुनै रूपमा नेपालको औद्योगिकीकरणमा प्रत्यक्ष र अप्रत्यक्ष योगदान दिने खालका छन् । आव २०७८/७९ मा करीब ६२ प्रतिशत आयात पूँजी निर्माणका साधन र औद्योगिक कच्चापदार्थको रहेको छ । बाँकी ३८ प्रतिशत आयातलाई व्यवस्थापन गर्न सकेको खण्डमा नेपालको आयात त्यत्ति समस्याका रूपमा रहेको देखिँदैन । सारमा भन्नुपर्दा सबै आयात खराब हुँदैनन् र सबै निर्यात लाभदायी पनि हुँदैनन् । वर्तमान नेपालको आयात तथ्यांकले नेपालमा विशाल बजार छ र त्यस विशाल बजारसँगै उद्योगमा लगानीको अवसर रहेको पनि प्रमाणित गर्छ ।
यी सबै पक्षलाई ध्यान दिँदै असल आयातको प्रवर्द्धन र आयातको विकल्पसहितको प्रतिस्थापनमा हाम्रो ध्यान जानु आवश्यक छ । आवश्यक छ, उत्पादनका लागि उचित वातावरण तयार गर्नु । यस उचित वातावरणमा वित्तमा सहज र सुुलभ पहुँच, प्रक्रियागत सहजीकरण, विकसित देशसरहका पूर्वाधारहरूको निर्माण एवम् स्वदेशी उद्योगलाई प्रोत्साहनात्मक र संरक्षणात्मक व्यवस्था गर्नासाथ वर्तमान विशाल आकारको आयातलाई धेरै हदसम्म स्वदेशमा औद्योगिकीकरणका माध्यमबाट समाधान गर्न सकिन्छ । यसका लागि भारतीय गुजरातको द्रुत विकासमा नरेन्द्र मोदीले अंगीकार गरेको पद्धति अंगीकार गर्नु नेपालका लागि पनि उपयुक्त हुन्छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।