भदौ १५, काठमाडौं । गणेशको जन्मदिनको रुपमा भाद्र शुक्ल चतुर्थी, गणेशको पूजा आराधना गर्दै गणेश चतुर्थी मनाईन्छ । मंगल चतुर्थी समेत भनिने आजको दिन काठमाडौं उपत्यकाभित्र काठमाडौंको कमलादीस्थित गणेशथान, मरुस्थित अशोक विनायक मन्दिर, भक्तपुरस्थित सुर्यविनायक, कमलविनायक, चोभारस्थित जलविनायक लगायतका विभिन्न गणेशस्थानमा पूजा गर्नेको भीड लाग्ने गर्दछ ।
त्यस्तै आजका दिनलाई नेवार समुदायले भने चथाःको रुपमा मनाउने गर्छन । चथाः देवता पूजा गर्न नेवारहरूले बिहानै उखुको बोट, अदुवाको बोट, पारिजात, कमलको पात किनेर ल्याउँछन् । आजको दिनमा गरिने पूजामा विभिन्न १२ थरी गेडागुडीसहितको छुस्यामुस्या अनिवार्य मानिन्छ ।
यसैकारण असन बजार लगायत अन्य बजारहरुमा गेडागुडी तथा अन्य सामानहरु किन्न मानिसहरुको भीड लाग्ने गर्छ । चथाःलाई जति राम्रो मनाइन्छ, दशैं पनि त्यस्तै हुने विश्वासका साथ आजको दिन सबै परिवार एकै ठाउँमा भेला भई भोज पनि खाने प्रचलन छ ।
फपोटो : सुनिल शर्मा/आर्थिक अभियान