काठमाडौं । एभरेष्ट बैंक लि. र पतञ्जली आयुर्वेद प्रालि, नेपालले ‘को–ब्रान्डेड’ क्रेडिट कार्डको शुरुआत गरेका छन् । तीजको अवसरमा नयाँ दिल्ली, भारतमा भएको सो कार्यक्रममा स्वामी रामदेव र आचार्य बालकृष्णले संयुक्त रूपमा सो कार्डको शुरुआत गरेका हुन् । यस कार्डबाट उपभोक्ताले चाडपर्वको अवसरमा पतञ्जलीका सामानको खरीदमा विभिन्न नगद फिर्ता, बीमाका साथै अन्य थुप्रै सुविधा पाउनेछन् । साथै शुरुआती ३ महीनाका लागि ‘इस्युयन्स फी’मा ५० प्रतिशत छूट रहेको बताइएको छ । पतञ्जलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले उक्त कार्डबाट ग्राहकलाई निकै फाइदा पुग्ने बताए । स्वामी रामदेवले उक्त सुविधाबाट विभिन्न नगद फिर्ता, बीमा र अन्य सुविधाले गर्दा आफ्ना ग्राहकलाई खर्च व्यवस्थापनमा निकै टेवा पुग्ने विश्वास व्यक्त गरे ।
एभरेष्ट बैंकले ११८ शाखा, चार एक्स्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, १५३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।