ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यो शास्त्र होइन, अर्थशास्त्र हो

२०७९ भदौ, १७  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

गोर्खाको एउटा गाउँमा, बाटो नै नपुगेको ठाउँमा जंगलबीच रू. ५ करोड खर्च गरेर एउटा पुल बनेछ । यसको मतलब गोर्खामा अर्को एउटा दर्शनीय पर्यटकीय स्थल बनेछ । त्यसो त देशमा यस्ता थुप्रै ठाउँमा पुल, भ्यूटावर बनेका छन्, जहाँ कुनै मानिस पुग्दैनन् । हाम्रा शासकहरू भलीभाँती जान्दछन् कि देशमा गलत ठाउँमा सही कुराहरू बनाउँदै गएपछि स्मार्ट लाइसेन्स, स्मार्ट पासपोर्ट भनेजस्तै देश पनि स्मार्ट बन्दै जान्छ ।

सही ठाउँमा सही पूर्वाधार बनाउन त भिजन पनि चाहियो नि । भिजनका नाममा केवल टेलिभिजनमा आफ्नो थोपडा देखाउनुलाई नै जीवनको मिशन ठान्नेहरूको देशमा बाहुल्य भएपछि कसको के लाग्छ ?

राणाको पालामा सडक नबन्दै मोटर ल्याइएका थिए र त अहिले हिँड्नै नसकिने गरी सडकमा गाडी चलेका । त्यसैले हाम्रा पालामा बाटा नभएका ठाउँमा पुल बनाएर के बिग्रियो त ? भोलि पर्सी मान्छे, गाडी पनि हिँड्लान् नि त । अनि गोर्खामा बाटो नभएको ठाउँमा पुल बनेको छ भने कालिमाटीमा बाटो भएकै ठाउँमा पुल बनेको छ । तर दुवै पुलमा कोही वा केही हिँड्दैनन् । यो हो नि त नेपाली पाराको विकासको भरपर्दो र टिकाउ मोडल !

देशको आवश्यकता पुलहरू, बाटोहरू उत्तर–दक्षिणतर्फ बनाउनुपर्नेछ । त्यस्तै, थोरै मानिस मात्र बस्ने गाउँमा भन्दा धेरै मानिसको आवादी भएको ठाउँमा बनाउनुपर्नेछ । तर धेरै ठाउँमा यस्ता पूर्वाधार पूर्व–पश्चिम पारेर बनाइएको छ । यहाँ धेरै कुरा उल्टोपुल्टो भइरहेको छ । त्यसैले जो जो जनता ती पूर्वाधार प्रयोग गर्न जानुपर्ने हो वा जसका नाममा ती पुल र भ्यूटावर बनाइएका हुन्, उनीहरू त्यसबाट बचेर हिँड्न थालेका छन् । किनकि के था, कुन चैं पप्पुले निर्माण गरेको हो र ती कतिखेर भत्किन्छन् ।

सही ठाउँमा सही पूर्वाधार बनाउन त भिजन पनि चाहियो नि । भिजनका नाममा केवल टेलिभिजनमा आफ्नो थोपडा देखाउनुलाई नै जीवनको मिशन ठान्नेहरूको देशमा बाहुल्य भएपछि कसको के लाग्छ ? तर के गर्नु, देख्नुभएन हनुमानहरू ? उनीहरूकै जय–जयकार र भक्तिभावमा तल्लीन छन् र त भन्छन्,

‘वाह ! सरकार ! जनताबाट असुलेको करको क्या सदुपयोग भएको छ । धन खर्च त भयो । तर केही छैन । कुनै एउटा चीज तयार गर्नु थियो, सो तयार भयो ।

गलत ठाउँमा पुल बनेको देखेर पर्यटकहरू पनि जिब्रो टोक्दा हुन् । उनीहरू नेपालका पूर्वाधार देखेर पक्कै भन्न थाल्नेछन्, ‘ओ गड, पञ्चतत्त्वमा छैटौं तत्त्वको उचित मिश्रणबाट क्या अनुपम कृति सृजना गरेका छन् नेपालीले ।’ सिमेन्ट, कंक्रिट, फलाम, बालुवा, पानी र भ्रष्टाचार । पूरै छ तत्त्व ।

भारदारी अर्थशास्त्रीहरूले समेत देशका नयाँ नयाँ शासकहरूका वित्तीय प्रबन्धकको खुलेरै तारिफ गर्ने गरेकै छन् । त्यसबाट उत्साहित भएर नयाँ महाराजहरूले गलत ठाउँमा गलत वा सही, तर पूर्वाधार सही समयमै बनाइरहेकै छन् । अन्यथा ढिलो गरेको भए अहिले बनेको आधा पूर्वाधारका लागि दुई गुणा बढी धन खर्च हुन्थ्यो ।

चिन्तामणिहरू चिन्ता गर्छन् कि नागरिकका मेहनतको कमाइबाट बनाइएको पूर्वाधार नागरिकले नै प्रयोग गर्न पाइरहेका छैनन् भनेर । तर भक्तहरू भन्छन्, ‘नागरिकहरू ती पूर्वाधारको प्रयोग किन गर्छन् र जुन उनीहरूका लागि बनाइएकै होइनन् । हाम्रा पराक्रमी शासकहरूलाई आफ्नो कार्यकालमा स्मारकहरू बनाउनु थियो, सो बनाइदिए ।’

त्यसो त शासकहरू पनि कहिलेकाहीँ बाटो पर्दा आफ्नो पालामा बनाइएका ती सडक, पुल लगायत पूर्वाधारमा पुग्ने गरेकै छन् । तर शासकहरूको गाडी पास नभएर के छ र ? रामायणकालीन हनुमानले रामलाई काँधमा बोकेरै एक ठाउँबाट अर्को ठाउँ पुर्‍याएजस्तै आधुनिक हनुमानहरूले पनि शासकहरूलाई पिठ्युँमा बोकेरै खोला तार्दिहाल्छन् ।

भलै शासकहरूले पनि बेलाबेलामा पूर्वाधारका बारेमा चासो, चिन्ता व्यक्त गरेको सुनिन्छ । तर हनुमानहरू शासकलाई सल्लाहमा भन्छन्, ‘महाराज ! अव्यवस्थालाई कुव्यवस्थामा बदल्न सक्नु नै सच्चा विकास हो ।’ अनि शासकहरू हनुमानहरूसँगै ताली पिट्न थाल्छन् ।

के शासकहरूले पूर्वाधारमा खासै क्यै गरेनन् भन्ने तपाईंलाई लाग्छ ? लाग्छ भने तपाईं गलत हुनुहुन्छ । किनकि काम गरेर मात्रै काम हुने होइन । नाम बदलेर पनि काम गर्न सकिने रहेछ । पञ्चायतकालमा बनाइएका थुप्रै पूर्वाधारका नाम नेताहरूका नाममा नामसारी गरेर भए पनि पूर्वाधारमा काम भएका छन् । अर्थात् नाम बदल्नु पनि एउटा काम हो नि त ! काम नभए पनि आफ्नो निवासबाटै सयौं भवनको केवल शिलान्यास गरेरै गिनिज बुकमा नाम लेखाउन खोज्नेहरूको देश पो हो त यो !

शासकहरूका लागि पूर्वाधार बनाउने काम एक प्रकारको चस्का पनि हो । जिउँदैमा अमर हुन मन लागेपछि हुने र गर्ने शायद यस्तै हो । शासकले पनि यस्तो मौकाको फाइदा किन नउठाउने, जसका जनता यस्तै कर्मलाई असली काम ठान्छन् ।

फेरि सोध्नुहोला, हाम्रा शासकहरू खुलारूपमा लाखौंले भनेका कुरा पनि किन सुन्दैनन् ? किनकि उनीहरूलाई बन्द कोठामा एक–दुईले भनेको सुन्ने बानी जो परिसकेको छ नि त ।

तपाईं सोच्नुहोला गलत ठाउँमा गलत पूर्वाधार बनाउँदै हिँड्ने नेताहरूको यो कस्तो चस्का हो, यो कस्तो शास्त्र हो भनेर । यो शास्त्र होइन, अर्थशास्त्र हो । ‘इट इज इकोनोमी स्टुपिड’ । बुझ्नु भो ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)