ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सम्पदा यात्राका लागि ‘हप अन हप अफ’ बस

२०७९ भदौ, १९  
लेख | दृष्टिकोण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुमन कट्टेल

काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटकलाई सहज बनाउन ‘हप अन हप अफ’ सिटी बस सञ्चालन गर्न पर्यटन मन्त्रालयले सरोकारवाला निकायहरूसँगको छलफललाई तीव्रता दिएको छ । काठमाडौंमा पर्यटकलाई सम्पदा क्षेत्रको अवलोकन गर्न सार्वजनिक सवारी सहज नहुँदा हैरानी खेप्नुपरेकाले सार्वजनिक सवारी सहज बनाउन ‘हप अन हप अफ’ बस सञ्चालन गर्न आवश्यक देखिएको हो । काठमाडौंका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा तथा मुख्य पर्यटकीय क्षेत्रमा ‘हप अन हप अफ’ बस सञ्चालन भएपछि पर्यटकले केही घण्टामै मुख्य पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्ने सरकारको विश्वास छ ।

‘हप अन हप अफ’ बस सेवा भनेको दिनभरिको वा केही दिनको प्याकेज किनेपछि आफूलाई मन लागेको स्टपमा बस चढ्न र ओर्लन पाउने हो । निश्चित रूटमा चलाइने यस्ता बसको टिकट किनेपछि बस छुट्ने डर हुँदैन, अर्को बस चढ्न पाइन्छ । गौशालामा उत्रिएर पशुपति क्षेत्र घुमेपछि अर्को बस चढेर बौद्ध जान वा भक्तपुर जान सकिन्छ । यसका लागि अलग्ग पैसा तिर्नु पर्दैन । मुख्य पर्यकीय गन्तव्यमा यस्तो बस चलाइन्छ ।

विश्वका ७७ ओटा शहरमा सञ्चालनमा रहेका ‘हप अन हप अफ’ बसको तुलनात्मक अध्ययन गर्दा यस्तो बसबाट अवलोकन गर्नेमा पोर्चुगलको पोर्टो शहर सबैभन्दा उत्कृष्ट मानिएको छ । करीब १९ अमेरिकी डलर तिरेर २४ माइलको यात्रा गर्न सकिने यहाँको यस्तो बसबाट ३५ ओटा प्रमुख आकर्षक केन्द्रहरू हेर्न सकिन्छ । त्यस्तै दुबईको ‘हप अन हप अफ’ बस सेवा विश्वमै महँगो मानिएको छ । यस्तो बस चढ्न यहाँ झन्डै ७८ डलर तिर्नुपर्ने हुन्छ । अमेरिकामा पनि यस्तो बस सेवा विश्वमै महँगोभित्र पर्छ । यस्तो बसबाट यात्रा गर्न लन्डन सबैभन्दा राम्रो मानिन्छ जहाँ एउटा बसबाट ६५ ओटा केन्द्र पुग्न सकिन्छ ।

‘हप अन हप अफ’ इन्डेक्स हेर्दा लन्डनपछि, सियोल, मस्को, फ्लोरेन्स, न्यूयोर्क, म्याड्रिड, बार्सिलोना, सिंगापुर शहर उत्कृष्टताको सूचीमा पर्छन् । सबैभन्दा सस्तो ‘हप अन हप अफ’ बस सञ्चालन भएको शहर बुखारेस्ट हो जसले छ डलर मात्रै भाडा लिन्छ । त्यसपछि क्वालालम्पुर र जाग्रीब सस्तोको सूचीमा परेका छन् ।

‘हप अन हप अफ’ का लागि पहिलो चरणमा साझा यातायातका बिजुली बसलाई प्रयोग गर्ने तयारी गरिएको छ । ‘हप अन हप अफ’ बस प्रायः ठूला बस वा खुला छतमा यात्रु बस्न मिल्ने खालको हुन्छ । सामान्य बसबाट पनि यस्तो सेवा दिन सकिन्छ । सरकारले सञ्चालनमा ल्याउने भनिएको ‘हप अन हप अफ’ बस २७ किलोमीटरको मुख्य सम्पदा यात्राका लागि करीब साढे २ घण्टा समय लाग्ने बताइएको छ । पाँचओटा बस ३०–३० मिनेटमा छुट्ने गरी तयारी गरिएको छ । यस्तो बस सञ्चालनबाट पर्यटन क्षेत्र विकासका लागि टेवा पुग्नेछ ।

‘हप अन हप अफ’ सेवालाई हप इन र आउट पनि भन्न सकिन्छ । यो २०औं शताब्दीको अन्त्यमा पर्यटन सेवा बजारमा देखापरेको हो । यो सेवा प्रदान गर्ने पहिलो अपरेटरहरूमध्ये ओरिजिनल लन्डन साइटसिइङ टूर हो । त्यहाँ र अन्य मुलुकमा पनि यस्तो बस सामान्यतया डबल डेकरको हुन्छ । भ्रमणको रूट पहिले नै जानकारी हुन्छ । यसको टिकट कम्तीमा १ दिनका लागि मान्य हुन्छ । पर्यटक कुनै पनि स्टपबाट चढ्न र ओर्लन सक्छन् । यसका लागि विशेष चि⋲न पनि दिइएको हुन्छ । कतिपय बसमा विभिन्न भाषामा पर्यटकीय स्थलहरूको वर्णन सुन्न सकिने व्यवस्था पनि गरिएको हुन्छ । एउटा बसबाट ओर्लिएर सम्पदा हेरिसकेपछि त्यही सेवाको अर्को बस चढ्न पाइन्छ । यसरी सम्पदाहरू हेर्न यातायातको चिन्ता लिनु पर्दैन । दुई तीन दिनका लागि पनि टिकट किन्न सकिन्छ । कतिओटा बस सञ्चालनमा छ र कतिओटा स्टपहरू छन् त्यसले बस कुर्नुपर्ने समय निर्धारण हुन्छ । सिटी टुरका लागि यस्तो बस निकै उपयोगी मानिन्छ ।

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात निकै गन्जागोलयुक्त छ । उपत्यकामा रहेका चाँगुनारायण, इचंगुनारायण, बुंगमती, भक्तपुर, पाटन दरबार स्क्वायर, वसन्तपुर दरबार स्क्वायर, स्वयम्भूनाथ यस्ता कैयौं पर्यटकीय क्षेत्र छन् । यी ठाउँमा जान यस्तो बस उपयुक्त हुन्छ । तर, काठमाडौंमा खुला तलेबस सञ्चालन गर्न व्यावहारिक रूपमा उपयुक्त देखिँदैन । यहाँको धूलो र फोहोरका कारण खुला बस चढ्न कुन चाहिँ पर्यटक तयार होला र ? तर सम्पदास्थल जोड्ने गरी बस सेवा सञ्चालन गर्न सकिन्छ । कति किलोमीटरका लागि कतिओटा बस स्टप भएको कति बस सञ्चालन गर्ने भन्ने कुराले यसको सफलता मापन गर्छ । ३०/३० मिनेटमा बस छुट्ने भनिएको छ । यो समय ठीकै हो तर नियमित हुन्छ कि हुँदैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । बसको रूट र बस कहाँ आइपुग्यो भनी हेर्नका लागि एप बनाइहाल्नुपर्छ । त्यसो भएमा पर्यटकले यसको फाइदा लिन सक्छन् । साथै अन्य मुलुकमा जस्तै आफूले चाहेको पर्यटकीय स्थलबारे केही जानकारी लिन चाहेमा बसभित्रै हेडफोन लगाएर आफूले चाहेको भाषामा सुन्न पाउने व्यवस्था गरिदिन आवश्यक छ । सरकारले यी सुविधा भएको बस सञ्चालन गर्न सक्ला त ?

साझाको विद्युतीय बसलाई नै ‘हप अन हप अफ’ बस बनाउने भनिएको छ । विद्युतीय बसको ग्राउन्ड क्लियरेन्स कम हुन्छ जसले गर्दा उबडखाबड भएको सडकमा यसलाई सञ्चालन गर्न कठिन हुन्छ । त्यसैले उपत्यकाका प्रमुख सांस्कृतिक क्षेत्रमा यो बस पुग्नसक्ने सम्भावना कम छ । भक्तपुर दरबार, पाटन दरबार र वसन्तपुर दरबार तथा अन्य केही क्षेत्रमा भने यसले सुविधा दिन सक्छ ।

यस्ता बसमा निःशुल्क पर्यटक गाइडको व्यवस्था गर्न सके अझ राम्रो हुन्छ । यस्ता निःशुल्क गाइडलाई पर्यटकले स्वेच्छाले केही रकम दिन सक्छन् । यस्तो व्यवस्था धेरै देशमा पाइन्छ । पर्यटकको आवश्यकतालाई सम्बोधन गर्न सके यसले पर्यटनमा प्रभाव पार्न सक्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)