काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ‘एक्सिलेन्स इन प्रिपेड कार्ड्स बिजनेश २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इन्नोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो ।
भिसा अन्तर्गत रहेका नेपालका बैंकहरूमध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट उपलब्धि हासिल गरेको आधारमा सो अवार्ड प्राप्त गर्न सफल भएको बैंकको भनाइ छ । सिद्धार्थ बैंकलाई यसअघि पनि भिसाले ग्राहकको आवश्यकता अनुसार नयाँ आइडियालाई अवलम्बन गरी कार्ड सेवालाई अझै प्रभावकारी बनाएको आधारमा ‘एक्सिलेन्स इन ड्राइभिङ इन्नोभेसन अवार्ड’बाट सम्मानित गरेको थियो ।
ग्राहकप्रतिको प्रतिबद्धतालाई उक्त उपाधिले थप मजबूत बनाउने र आगामी दिनहरूमा अझ उच्चस्तरीय सेवा प्रदान गर्न प्रेरित गर्ने बैंकले बताएको छ । बैंकले हाल देशभर १९० ओटा शाखा (४ एक्स्टेन्सन काउन्टरसहित), ११७ शाखारहित बैंकिङ सेवा, १७ सयभन्दा बढी पीओएस मेशिन र २० हजारभन्दा बढी क्यूआर मर्चेन्टमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।