आर्थिक वर्ष २०७८/८९ मा संसारका विभिन्न मुलुकबाट १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ । निर्यात २ खर्ब ३ करोड रुपैयाँभन्दा माथि छ । यसले नेपाली अर्थतन्त्र आयातमुखी रहेको देखाउँछ । अन्तरराष्ट्रिय स्तरमा हुने स–साना घटनाले पनि आयातमा आधारित अर्थतन्त्र भएका मुलुकमा छिट्टै प्रभाव पार्छ । जसको ज्वलन्त उदाहरण हो– रुस–युक्रेन युद्ध र त्यसको बाछिटाले नेपाली अर्थतन्त्रमा परेको असर ।
अर्थतन्त्रको बलियो स्रोत मानिएको रेमिट्यान्स वृद्धिदरमा आएको कमी, न्यून निकासी, कमजोर पर्यटक आगमन तथा ऐतिहासिक उचाइमा पुगेको महँगीका कारण विदेशी मुद्रा सञ्चितिमा परेको चापले कतै नेपाल संकटको स्थितिमा पुग्ने त होइन भन्ने आशंका पनि शुरु भएको छ ।
यस्ता समस्याबाट मुक्ति पाउने एउटा मात्रै उपाय हो– आत्मनिर्भर अर्थतन्त्र निर्माण । सीमित स्रोत र साधनमार्फत आत्मनिर्भर बन्नु चानचुने काम चाहिँ होइन । यो सन्दर्भमा राज्यले दीर्घकालीन र अल्पकालीन स्रोत व्यवस्थापनतर्फ ध्यान दिनुपर्छ । हामीले आयात प्रतिस्थापनसहित निर्यातलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ । यसमा दीर्घकालीन स्रोत बन्न सक्छ– इन्फर्मेसन टेक्नोलोजी (आईटी), यसमा पनि सफ्टवेयर बिजनेश ।
नेपालले आईटीको विकास गर्ने मामलामा धेरै अवसर गुमाइसकेको छ । छिमेकी भारतको बैंगलोर आईटी हबको रूपमा विकास भयो । तर, हामीले आईटीमा आएका धेरै अवसरको उपयोग गर्न सकेका छैनौं ।
कुनै समय यस्तो थियो कम्प्युटर खरीद गर्दा पैसा खेर गयो भनिन्थ्यो । बैंकहरूले समेत कम्प्युटर प्रयोग गरेका थिएनन् । नेपालमा एउटा राष्ट्रिय कम्प्युटर केन्द्रा थियो, जहाँ भित्र पस्दा जुत्ता खोल्नुपर्थ्यो । त्यहाँबाट शुरु भएको नेपालको यात्रा अहिलेको इन्फर्मेसन टेक्नोलोजीलाई नै देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा लिने अवस्थासम्म आएको छ ।
तर, नेपालले आईटीको विकास गर्ने मामलामा धेरै अवसर गुमाइसकेको छ । छिमेकी भारतको बैंगलोर आईटी हबको रूपमा विकास भयो । तर, हामीले आईटीमा आएका धेरै अवसरको उपयोग गर्न सकेका छैनौं ।
नेपालमा निजीक्षेत्रको मुख्य सक्रियतामा आधार तयार भएको यो क्षेत्रलाई राज्यले आर्थिक स्रोतको रूपमा लिन सक्नुपर्छ । पछिल्लो १० वर्षमा आईटीमा राम्रो प्रगति भएको छ । कैयौं मान्छे आईटी क्षेत्रमा आबद्ध भएर काम गरिरहेका छन् । कसैले संस्थागत रूपमा काम गरेका छन् त कसैले व्यक्तिगत रूपमा । घरघरमा बसेर आईटीका प्रडक्ट निर्माण र निर्यात गरेका छन् । यो वास्तविक तथ्यांकमा आउन नसकेको पनि सत्य हो । विदेशी तथा बहुराष्ट्रिय कम्पनीले काठमाडौंमै हजारौं मान्छे राखेर काम गरिरहेका छन् ।
नियामक नहुँदा नीति छैन, तथ्यांक पनि छैन
नेपालमा यस्ता सफ्टवेयरको कारोबार कति छ भन्ने यकीन तथ्यांक छैन । कम्प्युटर तथा टेली इक्विपमेन्ट निर्यातको डेटा भए पनि सफ्टवेयर सेवाक्षेत्रमा पर्ने भएकाले छुट्टै रेकर्ड नभएको नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पौडेल बताउँछन् । नेपालबाट सफ्टवेयर सेवाका रूपमा बाहिरिने भएकाले त्यसबाट आउने रकममा यसको ठूलो अंश रहेको उनको भनाइ छ ।
कम्प्युटर एशोसिएशन नेपाल (क्यान) का अध्यक्ष नवराज कुँवरका अनुसार नेपालमा नियामक निकाय नहुँदा यसको वास्तविक तथ्यांक छैन । नेपाली सफ्टवेयर डेभलपर सन्तोष ताम्राकार आईटी कम्पनीहरूलाई अन्तरराष्ट्रिय बजारमा जान सरकारले सहयोग गर्नुपर्ने बताउँछन् ।
‘प्रविधि जहिले पनि नियमभन्दा अगाडि हुन्छ, पहिला चारपांग्रे गाडी ल्याउने बेलामा पनि नियम थिएन । किनकि त्यसबेला घोडागाडी मात्र थिए । यहाँ मात्र होइन, अन्य देशमा पनि त्यस्तै हो । आईटी कम्पनीलाई अन्तरराष्ट्रिय बजारमा जान सरकारको सहयोग हुनुपर्छ । सरकार हाम्रो अभिभावक हो,’ उनले भने, ‘सरकारले अमेरिकाबाट ग्राहकै खोजेर ल्याएर दिने त होइन तर अमेरिकामा गएर कार्यालय खोल्न सक्छौ भनेर नीति ल्याउन सक्छ नि । यस्तो सहयोग हुनुपर्छ ।’
५ वर्षमै रेमिट्यान्सको विकल्प बन्न सक्छ सफ्टवेयर निर्यात
नेपाली अर्थतन्त्रको एउटा खम्बा हो रेमिट्यान्स । नेपालले निर्यातबाट नभई रेमिट्यान्सबाट विदेशी मुद्राको जोहो गरेको धेरै वर्ष भयो । रेमिट्यान्स आप्रवाह घटिरहेको बेला नेपालमै बसेर रेमिट्यान्स र डलर भित्र्याउने अबको स्रोत भनेको सफ्टवेयर बिजनेश नै भएकोले राज्यले बेलैमा यसलाई चिन्नुपर्ने ताम्राकार बताउँछन् ।
‘सरकारले प्रमोट गरोस् । १ प्रतिशत मात्रैको कुरा छ, त्यो प्रमोट गर्ने कोसिस नै होला । हाम्रो जस्तो कम्पनीले इन्डियाबाट सालमै २–३ करोड ल्याउँछ । नेपालमा यस्ता कम्पनी धेरै छन् । अबको ५ वर्षपछि नेपालमा विदेशी मुद्रा भित्र्याउनेमा रेमिट्यान्सपछि सफ्टवेयर कम्पनी नै हुन्छन्,’ उनले भने ।
सरकारले स्वदेशी आईटी कम्पनीलाई विश्वासै गरेन ।
सरकारले नेपाली कम्पनीलाई विश्वास नै नगरेको आईटी व्यवसायी सञ्जय गोल्छा बताउँछन् । ‘सरकारले स्वदेशी आईटी कम्पनीलाई विश्वास नै गरेन, ट्रस्ट डेफिसिट छ,’ उनी भन्छन्, ‘हामी पनि अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने थियौं । तर, स्वदेशी कम्पनीले गर्न सक्दैन भन्ने सोच सरकारको छ ।’
धेरै नेपालीले अन्तरराष्ट्रिय स्तरमा विश्वास पाइरहँदा नेपालमा आएका धेरैजसो विदेशी कम्पनीले गरेका काम असफल भएका पनि प्रशस्तै उदाहरण छन् । ड्राइभिङ लाइसेन्सकै प्रोजेक्ट हेर्दा स्पष्ट हुने उनको भनाइ छ । नेपालले बहुराष्ट्रिय कम्पनीहरू पनि ल्याउन सक्नुपर्ने उनको तर्क छ । विदेशीले व्यवस्थापन कौशल ल्याउने र प्राविधिक शीप नेपालमै रहेको उनको भनाइ छ ।
अध्यक्ष कुँवर भने अन्तरराष्ट्रिय स्तरमै प्रतिस्पर्धा गर्न सक्ने भएकाले विदेशी कम्पनी ल्याउनुभन्दा नेपाली कम्पनीलाई नै जिम्मा दिनुपर्ने तथा सरकारकालाई आवश्यक पर्ने सफ्टवेयर विकास गर्न लगाउनुपर्ने बताउँछन् ।
नेपालमा सरकारी तथा निजीक्षेत्रमा समेत विदेशी सफ्टवेयर ल्याइएको र त्यसबाट ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको छ । त्यो आयात रोक्न र विदेशी मुद्रा आयात गर्न नेपाली इन्जिनियर तथा डेभलपर सक्षम रहेको कुँवर बताउँछन् ।
नेपालमा पनि उच्चस्तरको आईटीसम्बन्धी ज्ञानको आधार आउन आवश्यक छ । माथिल्लो तहलाई तयार गराउनुपर्छ । अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कोर्स भइरहेका छन् । अमेरिका गएका नेपाली पनि फर्केर यहीँ काम गरिरहेका छन् । क्षमतावान जनशक्तिको विकास पनि भइरहेको यस क्षेत्रमा आबद्ध व्यक्तिहरु बताउँछन् ।
गुगल, माइक्रोसफ्ट जस्ता विश्वका ठूला कम्पनीलाई नेपालमा डेटा सेन्टर राख्न प्रोत्साहन गर्नुपर्ने गोल्छा बताउँछन् । ‘गुगल, माइक्रोसफ्ट जस्ता कम्पनीलाई नेपालमा डेटा सेन्टर राख्न प्रोत्साहन गर्नुपर्छ । आईटीमा डेटा सेन्टर निकै महत्त्वपूर्ण हुन्छ । त्यसका लागि जलविद्युत् र चिसो पानी चाहिन्छ । र, हामी कहाँ यी दुवै चीज छन् । यो आर्थिक उपार्जनको विषय हो,’ उनी भन्छन्, ‘यसैगरी स्वास्थ्य, कृषिलगायत थुप्रै क्षेत्रमा सूचना प्रविधिको विकास भइसकेको छ । ती ल्याउन सके अझै राम्रो हुन्छ ।’
प्राविधिक रुपमा सक्षम, मार्केटिङ स्किल छैन
नेपाली डेभलपरहरु प्राविधिक रुपमा सक्षम भए पनि अन्तरराष्ट्रिय स्तरमा मार्केटिङ गर्न सक्ने स्किल नभएको विज्ञ बताउँछन् । गोल्छाका अनुसार नेपालमै सफ्टवेयर बन्छ तर सहजै अन्तरराष्ट्रिय बजारमा बेच्न सक्ने अवस्थामा पुगिएको छैन । प्राविधिक रूपमा त्यो स्तरमा पुगे पनि मार्केटिङ स्किल छैन, पहुँच छैन ।
नेपालमा सफ्टवेयरभन्दा पनि डेटामा बाहिरको काम धेरै भइरहेको इन्जिनियर हिमाल रावल बताउँछन् । ‘नेपालमा सफ्टवेयरभन्दा पनि डेटामा बाहिरको काम धेरै छ । म पनि त्यही गरिरहेको छु । नेपालमा पनि एकदमै राम्रा इन्जिनियर छन्, जसले धेरै राम्रो सफ्टवेयर बनाउन सक्छन् । अर्थतन्त्रमा गतिलो योगदान दिन सक्छन्,’ उनी भन्छन् ।
नेपालीले निर्माण गर्ने सफ्टवेयरमा डेटासम्बन्धी बढी छन् । ‘डेटा इज द फ्युचर फ्युल’ हो । त्यसैले विदेशको होस् या नेपालको, यहाँ यसको राम्रो प्रोसेसिङ भइरहेको छ । त्यो डेटाको इन्साइड भ्यालु कसरी जेनेरेट गर्ने भन्ने कुरामा नेपालमा धेरै एक्सपर्ट भइसकेका छन् ।
स्वदेशी र विदेशी प्रडक्टको तुलना गरेर भन्ने हो भने विदेशी बजारमा प्याकेज सफ्टवेयर छन् । बजारमा ५ हजारदेखि ५० हजार रुपैयाँसम्मको प्याकेज सफ्टवेयर छन् । नेपालमा राम्रो पैसा नहुँदा इन्जिनियरहरुले सफ्टवेयर बनाएर विदेशमा विक्री गरिरहेका छन् । नेपालका ठूला कम्पनीहरू करोडमा चलिरहेका छन् । यो सम्भव पनि छ ।
नेपालमा शिक्षाक्षेत्रबाहेक विद्यार्थीले आफै सिकेर पनि राम्रो सफ्टवेयर बनाएर निर्यात गरी डलरमा आम्दानी गरेका उदाहरण छन् । करोडौंको कारोबार गरेका छन् । नेपालका धेरैजसो आईटी कम्पनीले नेपालबाहिरकै काम गरिरहेका छन् । करोडौंको व्यापार भइरहेको छ । नेपालमै २/३ सय इन्जिनियर पालेरै सञ्चालन भएका छन् ।
नेपालमा परामर्शदाता, विज्ञहरू छन् । सफ्टवेयरको मात्र होइन बिजनेश सफ्टवेयरकै कुरा गर्ने हो भने नेपाली डेभलपरले नि:शुल्कदेखि एकदम उच्च मूल्यसम्मका सफ्टवेयर दिन सक्छन् । ग्राहकले कुन हदसम्म अटोमेशन गर्न खोजेका छन्, कुन हदसम्म आफ्नो व्यवसायलाई आईटीमार्फत नियन्त्रण गर्न खोजका हुन्, त्यहीअनुसार सेवा दिइरहेका छन् ।
डलरमा कारोबार, पैसा ल्याउनै मुश्किल
नेपालमा कामको भ्यालू छैन । नेपालीले करोडौं रुपैयाँको सफ्टवेयर विक्री गरिरहेका छन् । त्यो रकम नेपाल ल्याउन झन्झटिलो प्रक्रिया छ । त्यसैले बाहिरको पेमेन्ट प्रयोग गरेर पैसा नेपाल ल्याएको अवस्था छ । पेमेन्ट इन्टिग्रेसन सहज बनाइदिनुपर्ने इन्जिनियर रावल बताउँछन् । बैंकिङ च्यानलबाट नआउँदा पनि रकम त भित्रिन्छ तर राज्यकोषमा त्यसले कुनै योगदान गर्दैन ।
यस्तै, नेपालमा बसेर विदेशको काम गरेकालाई तलबको पैसा ल्याउन पनि गाह्रो छ । किनभने, नेपालमा पेमेन्ट गेटवे नै त्यो अनुसारको भएन । क्रेडिट कार्डबाट भुक्तानी लिन उस्तै गाह्रो छ । ‘यिनीहरू कर बचाउन नेपालमा पैसा ल्याउँदैनन् भन्ने छ । तर, त्यस्तो होइन,’ रावल भन्छन्, ‘काम गर्ने साथीहरूले पैसा नेपालमै ल्याउन खोजेका छन् । त्यसका लागि प्रणाली त हुनुपर्योन नि ।’ त्यही काम गर्न पहिले पैसा पठाउनुपर्ने पनि हुन्छ । केही लगानी त गर्नै पर्छ, त्यसको लागि पैसा पठाउन अप्ठ्यारो हुने गरेको ताम्राकारले बताए ।
नेपालमा सफ्टवेयर कम्पनीलाई नयाँ भन्न त मिल्दैन तर यो पछिल्लो समय ह्वात्तै बढेको पाइन्छ । २०औं वर्ष भइसकेका कम्पनीसमेत छन् । नेपालमा यस्ता कम्पनी २ प्ररकारका छन्, एउटा डोमेस्टिक मार्केटको लागि अर्को इन्टरनेसनल मार्केटको लागि वा बाहिरको काम गर्ने ।
ताम्राकारका अनुसार १ प्रतिशत मात्रै आयकर लाग्ने सरकारी कुरा छ । अन्तरराष्ट्रियमा पनि ५ करोड र १० करोडको सीमा छ । भए पनि यसलाई सकारात्मक रुपमा लिनुपर्ने र यसले धेरै सहज हुने उनको बुझाइ छ ।
विदेशी मुद्रामा रेमिट्यान्सपछिको विकल्प
अहिलेको परिप्रेक्ष्यमा असीमित सम्भावना छ । कोभिडले देशमै बसेर काम गर्नु पर्दो रहेछ भन्ने सिकायो । इन्टरनेट भए जहाँ बसेर पनि काम गर्न सकिने रहेछ भन्ने सिकायो । यसकारण यसबाट विदेशी मुद्रा आर्जन हुने काम एकदमै धेरै भएको छ । पहिलेपहिले विदेशी कम्पनीको काम गर्नुपर्योब भने सोही देशमा जानुपर्थ्यो । अहिलो त्यस्तो छैन । अहिले भर्खर आएका इन्जिनियर सबैलाई राम्रो भएको छ । सबैले काम पनि पाएका छन् ।
नेपाली सफ्टवेयर इन्जिनियरले ठूलाभन्दा ठूला कम्पनीका काम गरिरहेका छन् । नेपालमा बसेर कार्टुन मुभीहरूको एनिमेसन बनाउने गरेको पाइन्छ ।
नेपालमा सयजना इन्जिनियरलाई पुग्ने काम छैन तर एउटै कम्पनीले सयौंलाई रोजगार दिएका छन् । यसको अर्थ नेपाली इन्जिनियर विदेशी मार्केटमा चलेका छन् भन्ने हो । यो विदेशी मुद्रा आर्जनको राम्रो स्रोत हो । यसमा कुनै सीमा छैन । नेपाली सफ्टवेयर इन्जिनियरले ठूलाभन्दा ठूला कम्पनीका काम गरिरहेका छन् । नेपालमा बसेर कार्टुन मुभीहरूको एनिमेसन बनाउने गरेको पाइन्छ । अहिले सफ्टवेयर इन्जिनियर बाहिर गएको खासै नपाइने सफ्टवेयर ताम्राकार बताउँछन् । उनका अनुसार नेपालीले विदेशको काम गर्न रुचाउँछन् तर विदेशिन रुचाउँदैनन् । उनी भन्छन्, ‘घरको लबीमा बसेर डलर कमाउन सक्छ भने कोही पनि बाहिर जाँदैन । डलरमा कमाएर नेपालीमा खर्च गर्नु जति राम्रो के होला ?’
अहिले आईटी कलेजहरू पनि आइरहेका छन् । धेरै नयाँ विद्यार्थी आइरहेका छन् । यसले निकट भविष्यमा राम्रो लय लिनेमा दुईमत छैन । नेपालको शिक्षामा आउटडेटेड कोर्सहरु छन् । सैद्धान्तिक बढी पढ्नुपर्ने, प्राक्टिकल्ली त्यति राम्रो ल्याबको व्यवस्था पनि नभएको अवस्था छ ।
आईटीमा जो दक्ष छ, उसका लागि पूरा दुनियाँ नै बजार हो । काठमाडौंमा बसेर संसारभरको काम गर्न सक्छ र गरिरहेका पनि छन् । उनीहरुलाई अमेरिका, जापान जस्ता देश रेड कार्पेट बिछ्याएर स्वागत गर्न तयार छन् । त्यो अवस्थामा हामीले उनीहरूलाई नेपालमै राख्नु चुनौतीपूर्ण छ ।