काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत कोष व्यवस्थापकको अनुमति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डबाट भदौ १९ गते क्यापिटलले नेपालको पूँजीबजारमा विशिष्टीकृत लगानी कोषअन्तर्गत विभिन्न कोषहरू सञ्चालन गर्ने अनुमति प्राप्त गरेको हो ।
विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ एवं निर्देशिका तथा प्रचलित नियमकानूनको अधीनमा रही कोष व्यवस्थापकले कोष दर्ताको प्रक्रिया अगाडि बढाउनेछ । साथै इकाइ विक्रीमार्फत रकम संकलन गरी संकलित रकमलाई जोखिम न्यूनीकरणका उपाय अपनाई विभिन्न क्षेत्रका कम्पनीका शेयर तथा अन्य वित्तीय उपकरणमा लगानी गर्नेछ । यसरी गरिएको लगानीबाट आर्जित मुनाफालाई इकाइधनीलाई वार्षिक प्रतिफलको रूपमा वितरण गर्ने उद्देश्यसमेत क्यापिटलले राखेको छ ।
यसरी स्थापना भएको कोषले विभिन्न कम्पनीको शेयरमा लगानी गर्ने हुँदा विशेषगरी साना तथा मझौला व्यवसाय तथा नवप्रवर्तनमा आधारित व्यवसायलाई बढी लाभदायी हुने कम्पनीले बताएको छ । साथै समग्र नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा समेत कम्पनीको छ ।