डि ब्रुइजिन सिक्वेन्सको सबैभन्दा आदिम उदाहरण पिंगलको छन्द शास्त्रमा पाइन्छ जहाँ लघु र गुरु अक्षरहरू तीन तीनओटा सम्भावित रचनामा गणबद्ध गरिएका हुन्छन्, जहाँ एक मात्रालाई छोड्दै अरू थप दुई मात्रा लिँदै तीन तीनओटा गण गणबद्ध गरिन्छ । ( विकिपिडिया)
जसरी सांख्य दर्शनले पुरुष र प्रकृतिको संयोगको पद्धतिबाट यो चराचर जगत् र अनन्तकोटी ब्रह्माण्डको सृष्टि, स्थिति र प्रलय, यसको विस्तार र चरित्रको व्याख्या गर्दछ, वैदेशिक व्यापारमा यसलाई उपयोग गर्न सकेकोे खण्डमा नेपालको वैदेशिक व्यापारको यथार्थ चित्रणसहित धरातलमा आधारित वाणिज्य नीति तर्जुमा गर्न यसबाट मद्दत मिल्ने देखिन्छ ।
वर्तमान समयमा पिंगलको छन्दशास्त्रमा गण सृजना गर्दा प्रयोग हुने सूत्र ‘यामाताराजभानसलगा’बाट गण सृजना गरिने पद्धति न्यूरो साइन्सको उत्तेजनाको इमेजिङमा प्रयोग गरिएको छ जो डि ब्रुइजिन सिक्वेन्सका रूपमा पश्चिमी प्राज्ञ जगत्मा परिचित छ । यहाँ यो उदाहरण प्रस्तुत गर्नुको प्रयोजन अध्ययन र अनुसन्धान, बोध, ज्ञान, मेधा, बुद्धि जस्ता विषय आदिम सूत्रहरू प्रतिपादित भएका छन् भन्नु हो । ती सूत्रमा टेकेर वर्तमान विश्वमा ज्ञानको भण्डार सृजना भएको छ । पश्चिमको ज्ञानमाथि प्रभुत्व यही ज्ञानप्रवाहको निरन्तरताबाट भएको हो । पश्चिमी भूगोलमा ज्ञान संस्थागत हुँदै जाँदा संस्कृतमा रहेका विशिष्ट ज्ञानहरूलाई पनि निष्ठापूर्वक विधाको मूल स्रोत वा आदिम स्रोतका रूपमा स्वीकार गरिएको छ ।
वर्तमान समयमा नेपालको वैदेशिक व्यापार पनि अध्ययनको एक प्रमुख विषयमा रूपमा देखा परेको छ । वैदेशिक व्यापार तथ्यांकमा सहज र नियमित पहुँचका कारण यो विषय राजनीतिपछि समाजमा बढी चर्चा परिचर्चा हुने विषयका रूपमा देखा परेको छ । यस विषयमा नीतिगत तहमा र प्राज्ञिक तहमा व्याप्त चिन्ता र चासोलाई सम्बोधन गर्न विभिन्न आवधिक अध्ययनहरू पनि सम्पन्न हुँदै आएका छन् । यस्तो अध्ययन गर्दा विभिन्न मोडलहरूको प्रयोग हुँदै आएको छ । बाह्य मुलुकहरूमा अध्ययन गरेका विभिन्न प्रतिवेदनलाई आधार मानी अध्ययन प्रतिवेदनहरू तयार गरिन्छ । यस्ता अध्ययनको निष्कर्षलाई अध्ययन गर्दा एउटै विषय कहिले प्रधान तत्त्वका रूपमा त कहिले त्यही विषय सहायक तत्त्वका रूपमा लिने गरिन्छ । यसरी प्रधान तत्त्व र सहायक तत्त्वको अन्योलमा वैदेशिक व्यापारका सम्बन्धमा बन्ने नीतिहरूमा अन्योल सृजना हुने गर्छ ।
सत्य निरूपणमा ६ ओटा पूर्वीय दर्शनहरू (न्याय, वैशेषिक, सांख्य, योग र मीमांसा) रहेका छन् । न्याय र वैशेषिक दर्शन प्रमाणका आधारमा सत्यको खोजतर्फ लक्षित छन् भने सांख्य दर्शनले पुरूष र प्रकृति तथा योगले मनलाई शुद्ध गर्ने आठओटा तत्त्वका बारेमा व्याख्या गरेको छ । यस्तै पाणिनीको व्याकरणमा धातु र प्रत्यय, पिंगलको छन्द शास्त्रमा लघु र गुरु, भरतको नाट्यशास्त्रमा तीव्र र मृदु स्वर तथा वात्स्यायनको कामसूत्रमा न्यून र अधिकको युग्म ( बाइनरी) को प्रयोग भएको देखिन्छ ।
सांख्य दर्शनका आधारमा हेर्दा वैदेशिक व्यापारको पनि आफ्नै बाइनरी प्रणाली रहेको छ । सिंगो सांख्य दर्शन पुरुष र प्रकृतिका वरिपरि घुमेको हुन्छ देशको व्यापार पनि मूल तत्त्व र सहायक तत्त्वका वरिपरि घुमेको हुन्छ । यसमा मूल तत्त्व भनेको पदार्थ हो र यो पदार्थको आवातजावतमा प्रभाव पार्ने विषयहरू सहायक तत्त्वहरू हुन् । जसरी पुरूष र प्रकृतिको समायोजन सृष्टि भएझैं पदार्थरूपी मूल तत्त्व र प्रभावी सहायक तत्त्वहरूले वैदेशिक व्यापारको सृजना गर्ने गर्छन् । सांख्य दर्शनले पदार्थ तीन प्रकार (सात्त्विक, राजसी र तामसी) का हुन्छन् भनी वर्गीकरण गरेको छ । यसलाई त्रिगुण भनिन्छ ।
वैदेशिक व्यापारका सम्बन्धमा वस्तुहरू तीनै प्रकारका हुन्छन् । सात्त्विक वस्तुहरू जसको माग अपरिहार्य हुन्छ, जो देख्नमा सुन्दर, उपभोगमा फलदायी, प्राप्तिमा सहज र सुलभ हुन्छन् ती वस्तु हुन् । सात्त्विक गुण भएका वस्तुहरूलाई बजार सहज प्राप्त हुन्छ क्रेताहरू वस्तुको गुणका कारण आफै अग्रसर हुन्छन् । वर्तमान आधुनिक परिभाषामा निरपेक्ष लाभका वस्तु यस वर्गमा पर्छन् । जुन वस्तुको व्यापार गर्दा धेरै ठूलो साधनस्रोत खर्च गर्नुपर्छ, जहाँ अधिक प्रतिस्पर्धा हुन्छ र बजार क्रेताको अधीनमा रहन्छ, त्यस्ता वस्तुहरू राजसी गुण भएका वस्तुको वर्गमा पर्छन् । आधुनिक परिभाषामा तुलनात्मक लाभका वस्तु यस वर्गमा पर्छन् । जुन वस्तुहरूको छद्म भेषमा छलकपटको प्रयोग गरी व्यापार हुने गर्छन् त्यस्ता वस्तु तामसी गुण भएका वस्तुको वर्गमा पर्छन् । सात्त्विक, राजसी, तामसी यी पदार्थका यी त्रिगुण व्यापारिक प्रयोजनका लागि पनि जस्ताको त्यस्तै लागू हुन्छन् ।
गुणस्तर, परिमाण मूल्य, पहुँच यी चार विषयका १२ थरी प्रधान चरित्र स्थापित हुन्छन् । एउटा वस्तु एउटा गुणस्तरमा सात्त्विक हुन सक्छ, परन्तु अन्य तीनओटामा तामसी हुन सक्छ । तीनओटा विषयमा सात्त्विक हुन सक्छ, परन्तु एउटा विषयमा तामसी हुन सक्दछ । कुनै वस्तु सबै विषयमा राजसी पनि हुन सक्छ । यसरी यी तीनओटा गुणबाट २४ ओटा संयोग सृजना हुन्छन् जुन मध्ये एउटा संयोगमा तीनओटै गुण सात्त्विक भएको हुन आउँछ । अर्थात् गुणस्तर, परिमाण, मूल्य र पहुँचका आधारमा सबै गुण सात्त्विक भएको एउटा मात्र संयोग सिद्ध हुन्छ । बाँकी संयोगहरूमा केही राजसी गुणहरूको त केही तामसी गुणको प्रधानता रहेको हुन्छ ।
सारांशमा भन्नुपर्दा गुणस्तर, परिमाण, मूल्य र पहुँचका सबै पक्षमा सात्त्विक गुण भएका वस्तुलाई देशको निर्यात प्राथमिकतामा राख्नुपर्छ । यही क्रममा क्रमशः कम सात्त्विक गुण भएका वस्तुलाई त्यही प्राथमिकताको क्रममा राखी राजसी र तामसी गुणलाई सात्त्विक गुणमा रूपान्तरण गर्न सकिन्छ भने त्यस्ता वस्तु सम्भाव्य निर्यातयोग्य वस्तुहरूको सूचीमा सूचीकृत गरी सोहीअनुसार प्राथमिकता निर्धारण गरिनुपर्छ ।
यदि कुनै वस्तु गुणस्तर, परिमाण, मूल्य र पहुँचका आधारमा तामसी गुणहरू मात्र भएको छ भने त्यस्ता वस्तुलाई निर्यात प्राथमिकतामा राख्नु नै समय र साधनस्रोतको दुरुपयोग मात्र हुन जान्छ । यसरी गुणस्तर, परिमाण, मूल्य र पहुँचका आधारमा सबै पक्ष सात्त्विक भएको र गुणस्तर, परिमाण, मूल्य र पहुँचका आधारमा सबै पक्ष तामसी चरित्र भएका वस्तुका माझ निर्यातयोग्य वस्तुहरूको पहिचान स्थापित हुन पुगेको हुन्छ । यसका जुन गुणको कमी हुन्छ, त्यही गुणमा सुधार गरी निर्यात रणनीति तयार गर्दा बुद्धिमानी हुन्छ ।
यसका लागि गुणस्तर, परिमाण, मूल्य र पहुँचका आधारमा नेपालका सबै निर्यातयोग्य वस्तुहरूलाई त्रिगुणका आधार वर्गीकृत गर्ने म्याट्रिक्स तयार गर्नुपर्छ । त्यही म्याट्रिक्सका आधारमा उक्त वस्तुको संयोगका गणहरू तयार हुन्छन् । ती संयोगका गण कुन प्रभावी र कुन निष्प्रभावी हुन्छ त्यो वर्गीकृत गणको संयोजनले निर्धारण गर्छ । यस्तो म्याट्रिक्स तयार गरिसकेपछि सहायक तत्त्वहरूको अर्को म्याट्रिक्स तयार गर्नुपर्छ । ती सहायक तत्त्वहरूमा आपूर्ति पक्षीय बाधा र माग पक्षीय बाधाहरूलाई सूचीकृत गरिनुपर्छ । यसरी प्रधानतत्त्वको गुण म्याट्रिक्स र सहायक तत्त्वको प्रभावी म्याट्रिक्सलाई समायोजन गर्दा जुन संयोग (कम्बिनेशन) निस्किन्छ, त्यसले नेपालको निर्यात रणनीति तर्जुमा गर्ने सैद्धान्तिक आधार प्रदान गर्छ । जसरी सांख्य दर्शनले पुरुष र प्रकृतिको संयोगको पद्धतिबाट यो चराचर जगत् र अनन्तकोटी ब्रह्माण्डको सृष्टि, स्थिति र प्रलय, यसको विस्तार र चरित्रको व्याख्या गर्दछ, वैदेशिक व्यापारमा यसलाई उपयोग गर्न सकेकोे खण्डमा नेपालको वैदेशिक व्यापारको यथार्थ चित्रणसहित धरातलमा आधारित वाणिज्य नीति तर्जुमा गर्न यसबाट मद्दत मिल्ने देखिन्छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।