काठमाडौं । नबिल बैंकले बालबालिकालाई बचत गर्न सिकाउने उद्देश्यले ‘नबिल जेन अल्फा’ योजना शुरू गरेको छ । राष्ट्रिय बाल दिवसको अवसरमा बैंकले बुधवार जेन अल्फाकी ब्राण्ड एम्बासडर समाजसेवी बालिका प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानालगायतको उपस्थितिमा उक्त योजना सार्वजनिक गरिएको हो ।
मोबाइल एपमा आधारित योजनामा अभिभावकले आफ्ना बालबालिकालाई विभिन्न कामहरू तोक्ने र त्यसका आधारमा उनीहरूको खातामा रकम जम्मा गर्न सक्ने सुविधा उपलब्ध रहेको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार योजनामा सहभागी हुन अभिभावक र बालबालिकाको छुट्टाछुट्टै खाता खोल्नुपर्नेछ । त्यसपछि मोबाइल एपमार्फत अभिभावकले आफ्ना बालबालिकाका लागि दैनिक कार्यहरू तोक्ने र उक्त कार्य सम्पादनपछि उनीहरूलाई निश्चित अंक प्रदान गर्ने प्रावधान सेटिङ गर्नुपर्छ ।
बालबालिकाले तोकिएको काम पूरा गरेपछि प्राप्त अंकभारका आधारमा अभिभावकको खाताबाट बालबालिकाको खातामा स्वत: रकम ट्रान्सफर हुनेछ । यसबाट बालबालिकालाई दैनिक क्रियाकलापमा उत्प्रेरित गर्नुका साथै बचतको बानी समेत सिकाउने बैंकको दाबी छ ।
१८ वर्षमुनिका बालबालिका सहभागी हुन पाउने उक्त योजनामा बालबालिकाको बचत खातामा ३० हजार रुपैयाँभन्दा बढी भएपछि भने न्यूनतम १० हजार रुपैयाँ साधारण बचतको रूपमा रहनेछ । बाँकी रकम मुद्दती निक्षेपको रूपमा परिवर्तन हुने व्यवस्था गरिएको बैंकले बताएको छ ।
योजना अन्र्तगत बचत खातामा ६ दशमलव शून्य ३ प्रतिशत र मुद्दतीमा ९ दशमलव शून्य ३ प्रतिशत ब्याज प्राप्त हुने बैंकको भनाइ छ । पछिल्लो समय मोबाइल गेममा मात्र समय बिताउने बालबालिकालाई मोबाइल एपकै माध्यमबाट घरायसी काममा आकर्षित गराउन र बचतको महत्त्व समेत सिकाउन योजना उपयोगी हुने बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बताए । ‘यस योजनामा सहभागी भएर अभिभावकले आफ्ना छोराछोरीलाई घरको कामसँगै बचतको महत्त्व समेत सिकाउन सक्छन्,’ उनले भने ।
बैंकले बाल मनोवैज्ञानिकसँग समेत सल्लाह गरेर योजनाको विकास गरेको उनले दाबी गरे । कार्यक्रममा बैंकका अध्यक्ष पौड्यालले एपमार्फत बालबालिकालाई वित्तीय साक्षर बनाउने दाबी गरे । ‘पछिल्लो समय मोबाइलमा गेममा मात्र समय बिताउने बालबालिकालाई एपबाट घरायसी काम र पैसाको महत्व सिकाउन सकिन्छ,’ उनले भने । बैंकले व्यावसायिकतासँगै सामाजिक उत्तरदायित्व समेत वहन गर्दै योजना विकास गरेको उनले दाबी गरे ।
जेन अल्फाकी ब्राण्ड एम्बासडर रेग्मीले जेन अल्फा योजनाबाट बालबालिकाले मोबाइलबाटै नयाँ कुरा सिक्ने र बचत गर्ने बानीको विकास गर्न सक्ने बताइन् ।