ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विश्व बजारमा स्वागत !

२०७९ भदौ, ३१  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

अनौठो ढंगको देखिन थालेको छ । अर्थशास्त्रको नियमबाट चलेको पाइँदैन । माग र आपूर्तिको आधारमा पनि चलेकोछनै । तपाईलें जति गरे पनि हिजोको त्यो शेयर बजार होस् वा असन बजार वा ठमेल बजार अहिले पाउनुहुन्न, जो बिहानदेखि राति अबेरसम्म हल्लाखल्ला, ट्युबलाइट,धक्कम धक्का गरेर, मोलतोलबीच चलिरहेको हुन्थ्यो । मानिसहरू खरीद गर्न  नभए पनि मोलमोलसइ गर्नै भए पनि बजार पुगिरहेकै हुन्थे । अनि त्यहाँ व्यापार गर्ने रैथाने व्यापारी पनि हिजोका कहाँ छन् र ?

अहिले अर्धरूपमै सही, बैंक तथा बीमा आदि पनि चलिरहेकै छन् । औषधि, खाद्यान्न, तरकारी तथा फलफूल बजार पनि ठीकै देखिन्छन् बाहिरबाट । पूर्णरूपमा चलेको छ त केवल राजनीतिको माछा बजार ।

कोरोनाले मानिसलाई तर्साउन छाडेको छ । तर व्यवसायलाई भने त्यसले पिछा छाडेकै छैन । त्यसैले त अझै पर्यटनदेखि मनोरञ्जन क्षेत्र, शिक्षादेखि रियल इस्टेट र निर्माण व्यवसायसम्मका आधाभन्दा बढी बजारमा ताला लागेका छन् । यी क्षेत्रहरूभित्रका कतिपय साना तथा मझौला सेवा उद्योग र उत्पादनमूलक कम्पनीहरूले सदाका लागि वीरगति प्राप्त गरिसकेका छन् वा गर्ने बाटोमा छन् । मरेकालाई  बचाउने औषधि त आफै धरमर धरमर चलिरहेको सरकारसँग के हुन्थ्यो र ?

अहिले अर्धरूपमै सही, बैंक तथा बीमा आदि पनि चलिरहेकै छन् । औषधि, खाद्यान्न, तरकारी तथा फलफूल बजार पनि ठीकै देखिन्छन् बाहिरबाट । पूर्णरूपमा चलेको छ त केवल राजनीतिको माछा बजार । सरकारी हाटबजारहरू कर कार्यालय, खानेपानी, बिजुलीका अड्डा आदि भने पूर्णरूपमा चल्ने नै भए ।

यी बजारहरू भन्दाभिन्दै एउटा अर्को नयाँ हाट पनि छ, जो हट छ र सधैं पूर्णरूपमा चलिहरेको छ, त्यो हो ‘विश्व हाट बजार’ । यो नेपालको यस्तो बजार हो, जहाँ शो केसहरूमा आकर्षक ढंगले सजाएर राखिएका विश्वभरिबाट आयात गरिएका विभिन्न वस्तु तथा सेवा उपलब्ध छन् । हो, यो बजारमा एकै छतमुनि अलग अलग स्टलमा सबै कुरा किनबेच हुने गर्दछ । अरू सुक्दा पनि यो हट बजार चाहिँ फुकेको फुक्यै छ ।

एउटा स्टलमा विश्वभरिका आयातित सामान उपलब्ध छन्, चाइनिज जहाजदेखि सुट टाइसम्म र अमेरिकी बन्दुकदेखि जापानिज सेक्स टोयसम्म । पैसाको चिन्ता गर्नै पर्दैन । सँगै बैंकहरू पनि छन् । साँवा ब्याज तिर्न नसके छाला काढ्ने शर्तमा मागे जति ऋण दिन तम्तयार । हाललाई उद्योग गर्न बैंकबाट पैसा नपाए पनि आयातको व्यापार गर्न अवश्य पैसा पाइन्छ । यस्ता हट बजारका सामान किन्न त बैंकले पनि तँछाडमछाड गरेर पैसा दिन्छन् । यहाँको हाट बजारमा सामान्य मात्रै होइन, कमालका माल पनि पाइन्छन् । पत्याउनु भएन ? त्यहाँभित्र गएर हेर्दा पो अचम्म ! ठूला ठूला हिरो हिरोइन विक्रीमा छन् । अझ जुन हिरोइनका कपडा कम, उनको मूल्य ज्यादा । साथै विक्रीकै लाइनमा एक से एक नामधारी प्रोफेसर, अर्थशास्त्री, पत्रकार, वकिल, इन्जिनीयर, व्यापारी आदि पनि छन् ।

अर्को स्टलमा अगाडि बढ्नुभयो भने ‘भारी छूट’ भनेर लेखिएको छ । त्यहाँभित्र मान्छे मात्र होइन, मान्छेका इमानदेखि नाक, आँखा, दिमागसमेत विक्रीमा देखिन्छन् । सँगै तालीम पनि चलिरहेको छ कि कसरी दलाली गर्ने, कसरी ठेक्का हात पार्ने, कसरी कर छल्ने, कसरी नेता रिझाउने, कसरी नीतिगत भ्रष्टाचार गर्न सरकारलाई फकाउने नभए छक्याउने र कसरी देश लुट्ने भनेर । थुपै बेरोजगारहरूले यो तालीम केन्द्रबाट प्रशिक्षण लिएर अहिले देशका ठूलै मान्छेमा दरिइसकेका छन् ।

अर्को स्टल छ साम्प्रदायिकताको । साथमा ‘समाजमा घृणा कसरी फैलाउने’ भन्ने पुस्तक सित्तैमा । पाखण्ड, अन्धविश्वासको पसल पनि यहीभित्र छ । यहाँ निर्लज्जता, बेइमानी थोकमै किन्न पाइन्छ । यता, अर्को स्टलमा शैक्षिक प्रमाणपत्र भिरेका हुलका हुल युवा युवतीहरू छन् । उनीहरूलाई विदेशीहरूले आफ्ना देशमा बँधुवा मजदूर बनाउन तौली तौली छानी छानी मोलतोल गरिरहेको दृश्य देखिन्छ, जुन काममा सघाउन स्वयं मन्त्रीहरू, सरकारी कर्मचारी प्रफुल्ल भएर खटिएका छन् । सँगै अर्क स्टलमा जातिवाद, प्रदेशवाद र राष्ट्रियताको खुब विक्री भइरहेको छ । पहिले केही जिल्ला वा सीमित ठाउँमा मात्र यो उत्पादनको विक्रीवितरण हुन्थ्यो । तर अहिले यी उत्पादन करीब करीब देशैभरि उम्रन र फल्न थालेका छन् । वास्तवमा यी तीन उत्पादन देशको प्रमुख फसलका रूपमा उदाइसकेका छन् ।

यो विश्व बजारमा अर्को एउटा ‘फ्री स्टल’ छ, जहाँ ईर्ष्या, बेइमानी, धोखा, वैमनस्य, घृणा, दु:ख, अपराध, क्रूरता, क्रोध, लोभ, लालच, छलकपट आदि करीब सित्तैमा विक्री भइरहेको छ । र, सबैभन्दा बढी भीड नै यही स्टलमा छ । तर नजिकै अर्को स्टल छ, जनु विश्व बजारमा सबैभन्दा महँगो मानिन्छ । यहाँ ससाना प्याकेटमा आँसु, हाँसो, करुणा, खुशी, ममता, भाइचारा, विश्वबन्धुत्व, मेलमिलाप, दया, माया, मानवता आदिको विक्री भइरहेको छ । तर यी चीजहरू खरीद गर्न स्टलमा एक दुईजना बाहेक कोही पनि छिर्ने हिम्मत गर्दैनन् ।

सबैभन्दा अन्तिम स्टल अगाडि देशको ठूलो चुच्चे नक्सा टाँगिएको छ । स्टलभित्र थूप्रै मानिस राष्ट्रिय पोशाकमा उभिएर ठूलठूलो स्वरमा कराइरहेका छन्, ‘देश लिलाममा छ’ भनेर । देशका कुनै सीमा, खोलानाला वा धर्म पनि छुट्टै किन्न पाइन्छ । एक हुल सुट, बुट, ह्याटवाला विदेशीहरू ब्रिफकेस बोकेर मोलमोलाइ गरिरहेको दृश्य देखिन्छ । केही स्थानीय बिचौलियाहरू बेला बेलामा छातीमाहातको क्रश बनाउँदै विदेशीहरूलाई देश किन्ने काममा सघाइरहेका देखिन्छन् ।

साइडमा दुई चारजना देश कुनै हालतमा पनि बिक्न नदिने भनेर रुवाबासी गरिरहेका छन् । तर उनीहरूको स्वर निकै सानो छ, जुन खास कसैले पनि सुनिरहेको छैन । हो, यो नेपालभित्रकै एउटा ‘विश्व हाट बजार’ हो । अझ यसलाई बजार मात्र भन्दा पनि बजारवाद भन्न सकिन्छ । किनकि बजार भनेको आवश्यकता अनुसार उत्पादन तथा सेवाको सृजना गर्नु हो । तर बजारवादको अर्थ हो उत्पादन तथा सेवाको सृजना पहिल्यै गरेर आवश्यकता सृजना गर्नु । हो, अहिलेको युगु बजारवादको हो । तपाईं एकपटक यसभित्र छिर्नुभयो भने केही न केही नकिनी त्यसै फर्किन सक्नुहुन्न । त्यसैले आउनुस्, यो विश्व बजारमा तपाईंलाईं  स्वागत छ !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)