काठमाडौं । नेपाल बैंकले ‘डबल धमाका मुद्दती खाता’हरूमा साँवा रकम दोब्बर हुन लाग्ने समय घटाएको छ । बैंकले ग्राहकलाई थप आकर्षित गर्न उक्त योजना अन्तर्गतका खातामा साँवा रकम दोब्बर हुन लाग्ने समय घटाएको हो । समय घटाएसँगै बैंकको डबल धमाका मुद्दती खातामा जम्मा गरिएको रकम ५ वर्ष ९ महीना २९ दिनमा दोब्बर हुनेछ । उक्त खाता योजनामा व्यक्तिगत रूपमा २५ हजार रुपैयाँ जम्मा गर्न सकिने बैंकले बताएको छ । सो योजनामा रू. ५ लाखसम्मको क्रेडिट कार्ड सुविधा समेत रहेको छ ।
यसैगरी संघसंस्थाले उक्त खाता योजनामा जम्मा गरेको रकम ७ वर्ष २ महीनामा दोब्बर हुने बैंकको भनाइ छ । संघसंस्थाहरूले रू. १ लाखभन्दा माथि रकम जम्मा गर्न सक्नेछन् । बैंकले विदेशमा कार्यरत नेपालीका लागि ‘नेपाल बैंक डबल धमाका मुद्दती खाता रेमिट्यान्स’ योजना पनि सञ्चालनमा ल्याएको छ । उक्त खातामा विदेशबाट प्राप्त रेमिट्यान्स रकम जम्मा गर्दा ५ वर्ष ५ महीनामा दोब्बर हुनेछ । यसका लागि न्यूनतम रू. २५ हजारभन्दा बढी जम्मा गर्न सकिने बैंकको भनाइ छ ।