ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘घुमफिर वर्ष’ शुरू गर्दै बागमती प्रदेश, पर्यटन मन्त्रालयबाट १ कराेड निकासा 

२०७९ असोज, १०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले ‘घुमफिर वर्ष २०७९/८०’ शुरू गर्ने भएको छ । प्रदेशका १३ ओटै जिल्लाका पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि घुमफिर वर्ष शुरू गर्न लागिएको हो । यसका लागि यी सबै जिल्लाका पर्यटकीय क्षेत्रलाई सामाजिक, सांस्कृतिक, धार्मिक र पर्यापर्यटनको रूपमा विभाजन गरी प्रचारप्रसार गरिने मन्त्रालयले बताएको छ । 

चितवनको सौराहामा औपचारिक कार्यक्रम गरी मंगलवार घुमफिर वर्षको उद्घाटन गरिने आइतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । घुमफिर वर्षको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्नेछन् ।

कोभिडका कारण शिथिल भएको पर्यटन क्षेत्रलाई पुन: चलायमान बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०७९/८० लाई घुमफिर वर्षको रूपमा मनाउन लागिएको मन्त्रालयका संस्कृति, पर्यापर्यटन तथा वातावरण शाखा प्रमुख उत्तम चापागाईंले जानकारी दिए । यसका लागि मन्त्रालयले पर्यटन व्यवसायी, स्थानीय निकाय, हवाई सेवाप्रदायक कम्पनी, शैक्षिक संस्थालगायत सरोकारवाला संस्थासँग समन्वय र सहकार्य गर्ने छ । ‘बागमती प्रदेशको मुख्य पर्यटन क्षेत्र सौराहा हो,’ उनले भने, ‘घुमफिर वर्षको अभियान पनि यहीँबाट शुरू गर्न लागेका हौं । यद्यपि सबै जिल्लाको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्दै छौं ।’ वर्षभरि पर्यटन प्रवर्द्धनका करीब ४० ओटा कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

‘घुमफिर वर्ष’ कार्यक्रमका लागि मन्त्रालयबाट १ करोड बजेट निकासा भएको र अन्य खर्चका लागि पर्यटन व्यवसायीसँग समन्वय गरिने चापागाईंले बताए । विगत केही वर्षदेखि पर्यटन प्रवर्द्धन तथा आकर्षणका लागि कुनै पनि गतिविधि नभएकाले चालू आर्थिक वर्षलाई घुमफिर वर्षको रूपमा मनाउन लागिएको उनको भनाइ छ । सो अवधिमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि छूट प्याकेज, नयाँ गन्तव्यको पहिचान, ट्राभल प्याकेजका साथै थप नयाँ पर्यटकीय गतिविधि सञ्चालन गरिने उनले बताए ।

घुमफिर वर्षको शुरुआतसँगै पर्यटन प्रवर्द्धनका लागि सौराहामा सूचना एवं सम्पर्क कार्यालय स्थापना गरिने चापागाईंले जानकारी दिए । यसले पर्यटकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । गत भदौ १६ गते बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० लाई घुमफिर वर्षको रूपमा मनाउने निर्णय गरेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)