ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घरबाट काम गर्दा कर्मचारीले कम काम गर्छन् ?

२०७९ असोज, ११  
लेख | दृष्टिकोण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काम गर्ने वातावरण लचिलो हुँदा, अप्ठ्यारो परेको बेलामा आफ्नो अनुकुल मिलाएर काम गर्न पाउँदा आफ्नो उत्पादनशिलता बढ्छ भन्ने सोच कर्मचारीहरुमा हुन्छ । कोरोना भाइरसको महामारीबीच अन्य व्यक्तिसँगको सम्पर्क सकेसम्म घटाउनु पर्ने अनि अत्यावश्यक काम बाहेक अन्य प्रयोजनका लागि घरबाट निस्कन बर्जित समयमा कर्मचारीहरुले महीनौ घरबाट काम गरे । 

अफिस आउजाउमा खर्च हुने समय, घरबाहिर निस्केपछि चिया खाजा र गाडीभाडादेखि पेट्रोलसम्मको पैसा बचत, घरमै बालबालिकाहरुसँग समय बिताउँदै काम गर्न पाउँदाको रमाइलो अनि परिवारको साथको उत्साहसम्म घरबाटै काम गर्नुको फाइदा अनेक थिए । यस क्रममा रिमोट वर्क वा वर्क फ्रम होम गर्न मिल्ने क्षेत्रले व्यवसाय जीवित राख्न सकेकै हुन् । घरबाट काम गर्दा आफ्नो उत्पादनशिलता बढेको तपाईहरु मध्ये कति जनाले महसुस गर्नु भयो ? वा महसुस गर्नु भएन ? 

घरबाट गर्ने काम र कर्मचारीप्रति हाकिमहरुको धारणा पनि सकारात्मक नै भेटिएला त ? अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टले हालै गरेको एउटा सर्वेक्षणमा हाकिम र कर्मचारीबीच कर्मचारीले घरबाट काम गर्दाको उत्पादनशीलताबारे निकै मतभेद देखिएको छ । कर्मचारीहरु घरबाट काम गर्दा कार्यालयमा गर्दा जत्तिकै उत्पादनशील हुँदैनन् भन्ने चिन्ता हाकिमहरुमा पाइएको छ । 

सर्वेक्षणमा सहभागी भएका ८७ प्रतिशत कर्मचारीहरुले घरबाट काम गर्दा कार्यालयमा हुँदा खेरिको जत्तिकै वा सो भन्दा धेरै उत्पादनशील भएको महसुस गरेको बताएका छन् । तर यो कुरा ८० प्रतिशत हाकिमहरु यो मान्न तयारै छैनन् । यो सर्वेक्षण ११ देशका २० हजारभन्दा धेरै कर्मचारीमाझ गरिएको थियो । कार्यस्थलहरुमा कर्मचारी अब कोरोना भाइरसको महामारी शुरु हुनु अघिकै स्तरमा फर्किने सम्भावना नगन्य भएकोले हाकिम र कर्मचारीहरुबीचको यो मतभेद समाधान गर्नु पर्छ भनेर माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिककारी सत्य नदेल्ला भन्छन् । 

८० प्रतिशतभन्दा धेरै कर्मचारीहरुले आफूलाई उत्पादनशील बताइरहँदा व्यवस्थापनले त्यस्तो नसोच्नुलाई नदेल्लाले व्यवस्थापन तह उत्पादनशीलतासम्बद्ध भ्रान्तिबाट माथि उठ्नु जरुरी भएको रुपमा अथ्र्याएका छन् । यसलाई उनले हाकिम र कर्मचारीहरु अपेक्षा र अनुभूतिको मामिलामा एकअर्कासँग जोडिन नसकेको अवस्थाका रुपमा चित्रित गरेका छन् । 

कार्य पद्दतिमा लचिलोपना र काम तथा निजी जीवनबीच सन्तुलन अझ भनौं तालमेलबारे बहस छेडिरहेकै समयमा कोरोना भाइरसको महामारीका कारण विश्वभर एकै पटक अप्रत्याशित रुपमा रिमोट वर्क र घरबाटै काम गर्न दिइने नीति अपनाइयो । व्यापार व्यवसाय नै ठप्प गर्नु पर्ने अवस्था आउन दिनुभन्दा घरबाटै काम गर्न दिएर व्यवसाय जिउँदो राख्नु वेश भन्ने सोचेर धेरैले मन लागेर वा नलागेर भएपनि वर्क फ्रम होम नीति अपनाए । 

भएकै जागिर पनि गुमाउने वा तलब कटौतीको अवस्थाको सामना गरिरहेका कर्मचारीका लागि यो जीविका चलायमान राख्ने सुवर्ण अवसर बन्यो । कर्मचारीहरुसामु अप्रत्याशित रुपमा आएको यो अवसर संक्रमण मतथर हुँदै गएपछि पुनः गुम्दै गयो । घरबाटै काम गर्दा पनि त चल्ने रहेछ नि भनेर कर्मचारीहरुमा सोच पलाइरहँदा हाकिमहरुमा भने कार्यालयमा हुँदाको जस्तो प्रत्यक्ष र प्रभावकारी सञ्चार नभएको, त्रुटी न्यूनीकरणलगायत अनेकौं कुराहरुबाट चिन्तित छन् । 

अहिले रोजगारदाताहरु कार्य प्रवृत्तिमा इतिहासकै सबैभन्दा ठूलो परिवर्तनको सामाना गरिरहेका छन् भन्छन्, नदेल्ला र लिंक्डइनका सीईओ रायन रोस्लान्स्की । कोरोना भाइरसको महामारी अघि लिंक्डइनमा सूचीकृत १ करोड ४०/५० लाख जब मध्ये करीब २ प्रतिशतमा मात्रै रिमोट वर्क थियो । महामारी शुरु भएयता केही महीनामा यो अनुपात २० प्रतिशतसम्म रहिरह्योे । अहिले भने रिमोट वर्क भएका जब अफर मासिक १५ प्रतिशतभन्दा तल नै छ । 

अहिले धेरै जसो स्थानमा कार्यपद्धति कोभिड पूर्वकै स्तरमा फर्किएको छैन । कर्मचारीहरु कार्यालयमै आएर प्रत्यक्ष काम गरेको देख्न नसकेपछि उनीहरुले सकेको वा गर्नु पर्ने जत्तिको परिश्रम गरिरहेका छैनन् कि भन्ने सोच हाकिमहरुमा हाबी हुन्छन् अनि उनीहरु अत्तालिन्छन् । यस्तो खालको अत्यास/सनकले पछिल्लो समय मौलाइरहेको हाइब्रिड कार्यशैलीलाई अस्थीर बनाउने चेतावनी माइक्रोफ्टले दिएको छ । 

आफूले गर्नु पर्ने कामको प्राथमकिता तोक्न व्यवस्थापकहरुको मद्दत महत्वपूर्ण छ  । तर कयौंले हाकिमबाट यस विषयमा कहिल्यै मार्ग निर्देशन नै  पाउँदैनन् । महामारी मत्थर भएपछि कयौं कम्पनीले रिमोट वर्क पूर्णतः खारेज गरिसकेका छन् । केहीले हप्तामा कम्तिमा यति दिन चाँहि कार्यालय नै आएर काम गर्नु पर्ने उर्दी जारी गरेका छन् । कर्मचारीहरुलाई कार्यालयमै आएर काम गर्न बाध्य बनाउने प्रवृत्ति बढ्दा अमेरिकामा हरेक ६ मध्ये एक जनाले जागिर (कुर्सीमा बसेर गरिने काम) छाड्ने चाहेको हालै भएको एउटा सर्वेक्षणले देखाएको थियो । 

हाकिमहरुले रिमोट वर्क गर्ने कर्मचारीको तुलनामा कार्यालयमै आएर काम गर्नेहरुलाई समर्थन गर्ने गरेको आफूलाई महसुस भएको सर्वेक्षणका २० प्रतिशत सहभागीले बताएका थिए । सबै कर्मचारी कार्यालयमै पुगेर काम गरिरहँदा घरमै काम गर्नेहरुमा कार्यालय/ हाकिमसँग लिंक टुटेको, हाकिमहरुले आफूले गरेको मेहनत नबुझिदिने वा कार्यालयमा आफ्नो अस्तित्व लोप हुँदै जाने, सहकर्मीहरुले आफूलाई बिर्सने, महत्वपूर्ण कामहरु हाकिमले कार्यालयमै आएर काम गर्नेलाई जिम्मा दिने हो कि भय पनि आउँछ । 

घरबाटै काम गर्दाका अप्ठ्याराहरु नै नभएको होइन । विशेषगरी महिला कर्मचारीले घरायशी काम र व्यवहार मिलाएर कार्यालयको काम गर्नु पर्दा कहिलेकाँही काम र निजी व्यवहारबीच तालमेल मिलाउन कठिन हुन्छ । लचिलो कार्यशैली हुँदा घरायशी समस्या वा अन्य अप्ठ्याराबीच करियर नै बिट मारेर बस्नु पर्ने अवस्था टर्छ । कयौं वर्ष लगाएर बनाएको करियर बीचमै त्याग्नु पर्ने हट्छ ।

नेपालमा वर्क फ्रम होमबारे सर्वेक्षणहरु भएका छैनन् । तर अमेरिका लगायतका देशहरुमा यस अघि भएका सर्वेक्षणहरुमा दुई तिहाई आसपास वा सोभन्दा धेरै सहभागीहरुले वर्क फ्रम होम वा रिमोट वर्क नीतिले आफ्नो उत्पादनशीलता बढाएको बताएका थिए । यस मामिलामा रोजगारदाताहरुको धारणाबारे भने खासै धेरै सर्वेक्षण भएका छैनन् । भएकाहरुमा पनि उत्पादनशीलताबारे कर्मचारी र रोजगारदाताको विचार विभाजित देखिन्छ ।        

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)