ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मौलिक वस्तुको निर्यात प्रवर्द्धनमा एचएस कोड

विशेष उत्पादन चिनाउने गरी एचएस कोड वर्गीकरण आवश्यक

२०७९ असोज, ११  
लेख | दृष्टिकोण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar कृष्णराज बजगाईं

हरेक देशसँग त्यहाँको भूगोल, संस्कृति र परम्परागत शीपसँग सम्बद्ध विशेष उत्पादनहरू उपलब्ध रहेका हुन्छन् । यस्ता वस्तुको व्यवस्थित रूपमा प्रवर्द्धन गर्न नसक्दा बजारमा माग हुँदाहुँदै पनि अपेक्षित उपलब्धि प्राप्त हुन सकेका छैन । देश विशेषका विशेष उत्पादनहरूको व्यवस्थित प्रवर्द्धन गर्न चालिने अन्य कदममा ती वस्तुको अन्तरराष्ट्रिय व्यापार व्यवस्थित बनाउनु पनि हो । अन्तरराष्ट्रिय व्यापार व्यवस्थित बनाउनुको पहिलो खुड्किलो ती वस्तु लागि पृथक्पृथक् एचएस कोडको वर्गीकरण गर्नु पनि हो जसलाई अन्तरराष्ट्रिय व्यापारको आधारभूत तत्त्वका रूपमा लिने गरिन्छ ।

विज्ञान र प्रविधिको विकास र बसाइँसराइको व्यापकतासँगै जनता देश विशेष र समुदाय विशेषका परम्परागत भौगोलिक सीमारेखाहरूमा मात्र सीमित छैनन् । उनीहरूको बसाइँसराइको प्रवाह सँगसँगै उनीहरूका परम्परागत धर्म, संस्कृति र मौलिकताहरू पनि प्रवाहित भइरहेका छन् । नेपालको सुदूरपश्चिममा मनाइने गौरापर्व होस् कि सुदूरपूर्वमा नाचिने धाननाच, सम्बद्ध समुदाय बसाइँसराइ गरेका देशहरूमा पनि निरन्तर रूपमा सोहीअनुरूप मनाउने गरेको पाइन्छ । संयुक्त राज्य अमेरिका (अमेरिका) को कुनै शहरमा बस्ने नेपालीलाई दशैंतिहारमा जमरा सँगसँगै नेपाली पोशाक पनि चाहिन्छ । धार्मिक कार्यहरू सम्पादन गर्न ब्राह्मण मात्रै होइन, पूजासामग्री पनि परम्परागत रूपमा नेपालमा प्रयोग हुने वस्तुहरू नै हुनुपर्ने हुन्छ । बसाइँसराइ गरेर विदेश गएका नेपालीहरूमा त्यहाँको स्थानीय खाद्य परिकारका अतिरिक्त उनीहरूको खाद्य संस्कृतिको अभिन्न अंग बनिसकेका परम्परागत नेपाली खाद्य परिकार पनि भान्सामा पाक्ने गरेको पाइन्छ । नेपाली गुन्दु्रक, मस्यौरा, चिउरा, अचारलगायत थुप्र्रै खाद्य वस्तु उनीहरूको जिब्रोको स्मृतिमा ताजै रहेका हुन्छन् जसको स्वाद लिन उनीहरू सदैव लालायित नै रहन्छन् । यसरी नेपाली समुदाय विश्वको जुनसुकै कुनामा रहे तापनि उनीहरूको रुचि परम्परागत नेपाली खाद्य परिकार र पहिरनमा सदैव रही नै रहन्छ । यो रुचिको व्यवस्थित उपयोग नेपाली निर्यातकर्ताका लागि सबैभन्दा महत्त्वपूर्ण अवसर हो । नेपालका परम्परागत विशेष उत्पादनहरू नेपाली समुदायमा मात्रै नभई अन्य समुदायका उपभोक्ताका लागि समेत आकर्षणका केन्द्र बन्दै आएका छन् ।

उपर्युक्त पक्षलाई दृष्टिगत गर्दै नेपालले पनि नेपाली भूगोल, संस्कृति र परम्परागत शीपहरूसँग सम्बद्ध विशेष उत्पादनहरूको व्यवस्थित प्रवर्द्धनका लागि सर्वप्रथम यी वस्तुका लागि पृथक्पृथक् एचएस कोडको व्यवस्था गर्नु जरुरी छ । यसका लागि सर्वप्रथम नेपालमा उत्पादित विशेष उत्पादनहरूको विस्तृत सूची तयार गर्नुपर्छ । ती विस्तृत सूचीलाई एचएस कोडको ६ अंकीय वर्गीकरणसँग तालमेल हुने गरी कुन उपशीर्षकमा नेशनल ट्यारिफ लाइनअन्तर्गत वर्गीकृत गर्ने हो भन्ने निक्र्योल गर्नु जरुरी हुन्छ । यसका लागि सम्बद्ध क्षेत्रका उद्यमी, निकासीकर्ता र सम्बद्ध वस्तुका विशेषज्ञहरूसँग परामर्श गरी नेपाली भूगोल, संस्कृति र परम्परागत शीपहरूसँग सम्बद्ध विशेष उत्पादनहरूका लागि वस्तु विशेषको एचएस कोडको व्यवस्था गर्नु उपयुक्त हुन्छ ।

नेपालको सन्दर्भमा भन्नुपर्दा सर्वप्रथम धार्मिक कार्य सम्पादनमा आवश्यक पर्ने वस्तुहरूलाई पृथक्पृथक् एचएस कोडको व्यवस्था हुन जरुरी छ । यसमा पञ्चामृत, पञ्चगव्य, गाईको गहुँत, नारायणपाती, नेपाली परम्परागत तीतेपाती सम्मिश्रित धूप, ध्वजा, धार्मिक पुस्तकहरू, पूजाका भाँडाकुँडा, कुशका उत्पादन (पवित्र, कुशका आसन), जनै, चन्दन आदि पर्छन् । हेर्दा सामान्य लागे तापनि यी उत्पादन भविष्यमा नेपाली समुदायमा मात्र नभई विदेशका समग्र हिन्दू समुदायका लागि पनि उपयोगी हुने उत्पादन हुन् । दोस्रो, नेपालका विशेष पहिरनहरूका लागि पनि पृथक्पृथक् एचएस कोडको व्यवस्था हुन जरुरी छ । तयारी पोशाकको अन्य शीर्षकमा निर्यात भइरहेका यस्ता वस्तुहरूमा दौरासुरुवाल, भादगाउँले टोपी, नेपाली ढाकाका उत्पादनलगायत विभिन्न जातिका परम्परागत पोशाक पर्छन् । विदेशमा नेपाली समुदायको उपस्थिति बाक्लो हुँदै गएको सन्दर्भमा यी उत्पादनका लागि विशेष पहलको एक कडीका रूपमा एचएसको वर्गीकरण पनि रहेको छ ।

तेस्रो, नेपालमा उपलब्ध विशेष कच्चा पदार्थबाट उत्पादित वस्तुहरूलाई पनि पृथक्पृथक् एचएस कोडको जरुरी देखिएको छ । रैथाने जातका भेडाको ऊनबाट उत्पादित काम्लो, दन, ल्यु, कोल्थो, राडी, लुगाल, पाखी जस्ता वस्तुहरू यस वर्गमा पर्छन् । यसरी उत्पादित वस्तुहरूमा दुर्गम स्थानमा उत्पादित उक्त उत्पादनमा परम्परादेखि संलग्न जाति विशेषबाट उत्पादित भनी थप वर्गीकरण गर्न सकिन्छ । रैथाने जातका बीज र जातबाट उत्पादित वस्तुहरूलाई यस वर्गमा राख्न सकिन्छ । जस्तै रैथाने गाईभैंसीबाट उत्पादित घ्यू, रैथाने जातका गाईबाट उत्पादित गोमूत्र, रैथाने जातका पशुको दूधबाट उत्पादित चीजजस्ता वस्तु यस वर्गमा पर्छन् । चौथो, विशेष भूगोलमा उत्पादित वस्तुहरूका लागि पनि पृथक्पृथक् एचएस कोडको व्यवस्था गर्नु जरुरी छ । यसमा निश्चित भूगोल एवम् निश्चित उचाइभन्दा माथि उत्पादन हुने वस्तुहरूलाई राख्न सकिन्छ । जुम्ला जिउलामा फल्ने धान यसको एउटा प्रतिनिधि उदाहरणका रूपमा लिन सकिन्छ । पश्चिम दार्चुलादेखि पूर्व ताप्लेजुङसम्म यस्ता सयौं उत्पादन नेपालमा विद्यमान छन्, जसलाई भूगोल विशेष र उचाइ विशेषका उत्पादनका रूपमा निर्यात प्रवर्द्धन गर्न सकिन्छ ।

पाँचौं, प्रक्रिया विशेषका उत्पादनहरूलाई पनि पृथक् एचएस कोडको व्यवस्था हुन जरुरी छ । यसको उदाहरणका रूपमा घ्यू उत्पादन प्रक्रियालाई लिन सकिन्छ । विशुद्ध परम्परागत नेपाली अभ्यासबाट उत्पादित घ्यूलाई यस वर्गमा राख्न सकिन्छ । नेपालको विविध भूगोलमा विद्यमान विविधतामा विशेष प्रक्रियाबाट उत्पादित थुप्रै उत्पादन छन् जसको व्यवस्थित विकास हुन जरुरी छ ।

जस्तै राउटे जातिले उत्पादन गरेको काठका भाँडा (गाबु) मा दुहेर सोही प्रकृतिका भाडामा जमाएर राउटे जातिले उत्पादन गरेको काठका भाडा (मल्स्या) मा मथेर तयार पारेको नौनीबाट फलामका कराईमा दाउराको आगोमा खराएर राउटे जातिबाट उत्पादित विशेष भाडा (ढुन्को) मा राखिएको घ्यूलाई व्यवस्थित रूपमा एचएस कोड प्रणालीमा वगीकृत गर्न सक्ने हो भने यस्ता उत्पादनहरूलाई विदेशमा प्रवर्द्धन गर्न धेरै सहज हुन जान्छ ।

यसरी भूगोल, संस्कृति र परम्परागत शीपहरूसँग सम्बद्ध विशेष उत्पादनहरूलाई पृथक्पृथक् संकेत नम्बरमा एचएस कोड प्रणालीमा आबद्ध गर्दा यसबाट स्थानीय उत्पादनको ब्रान्ड स्थापना, प्रचारप्रसार र पहिचान स्थापना गर्न सहज हुन्छ । यस्तै यस्ता वस्तुहरूको विकासमा नीतिगत र कार्यक्रमगत व्यवस्थाहरू गर्न नेपाल सरकारलाई ठोस तथ्यहरू उपलब्ध हुन्छन् । यी वस्तुको निर्यात प्रवर्द्धन गर्न आवश्यक पर्ने संरक्षणात्मक, प्रवर्द्धनात्मक र प्रोत्साहन व्यवस्थाहरू लागू गर्न नेपाल सरकारलाई तथ्यांकीय विश्लेषण गर्न थप आधार प्राप्त हुन्छ । सम्बद्ध व्यवसायीहरूले विशेष शीर्षकअन्तर्गत विशेष वस्तुहरू निर्यात गर्न प्रक्रियागत सहजता हुने आयात गर्ने मुलुकका प्रावधानहरू पालन गर्न पनि थप सहज हुने देखिन्छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)