काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त भएको छ । सो सम्बन्धमा आइतवार कम्पनी र क्यापिटलबीच सम्झौता भएको छ । सम्झौतापत्रमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीका अध्यक्ष रन्जना दाहाल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन् ।
काठमाडौंमा रजिष्टर्ड कार्यालय रहेको हिमाल दोलखा हाइड्रोपावर कम्पनीले १:०.७५ को अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले इलाम नगरपालिका–९ र १० मा रहेको माईखोला साना जलविद्युत् आयोजना (४.५ मेगावाट) र माईखोला नगरपालिका–९ मा रहेको माईखोला साना क्यास्केड जलविद्युत् आयोजना (८ मेगावाट) सञ्चालन गरेको छ । कम्पनीको हालको पूँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।