बेलायतले आफ्नो वैभवको विकास गरेर सबैलाई पछि पारिरहेको छ । अमेरिकाले अन्तरिक्षमा जताततै आफ्नो झण्डा गाडिरहेको छ । जापान इलेक्ट्रोनिक्समा अघि बढेको बढ्यै छ । अटोमोबाइल्समा जर्मनीले जादू गरिरहेको छ । चीनले विश्वभरि आफ्ना उत्पादनले भरिरहेको छ । भारतले पनि जीडीपीमा बेलायतलाई पछि पारिसक्यो । यता, हामी नेपाली भने चिया पसलदेखि अफिस, घर, चौतारामा बसेर कुन नेतासँग को ठुस्के, कोसँग को जोडिए को फुस्के भनेर जोखाना हेरेर बसिरहेका छौं । किनकि हाम्रो देशमा त सरकार र जनता दुवै जोकमा रमाइरहेका हुन्छन् । केही समययता भने जोकसँगै ठोक अभियान पनि चलिरहेको छ । यसमा कहिले को, कहाँ, कसरी ठोकिन्छ स्वयं ठोक्नेलाई पनि थाहा हुन्न । तोकवाला ठोक अधिकारी जब ठोकठाक गरेर सेवानिवृत्त हुन्छन्, तब मात्र त्यसको कारण थाहा हुन सक्छ ।
नेताजीसँग उहिले अवधका नवावले एकआपसमा मुर्गा लडाएर मनोरञ्जन लिने गरेझैं हाम्रोमा टेलिभिजनवालाहरूले पर्दामा एक–अर्को दलका नेतानेताबीच राष्ट्रिय ठोकठाक बहस चलाइरहेका छन् । ठूला शहरका मेयरले त भौतिक रूपमै तोडफोड, कर्यापझ्याप र ठोकठाक गतिविधि नै शुरू गरेका छन् ।
अहिले सबै प्रकारका सरकारहरूले आआफ्नै ढंगका ठोकठाक अभियानलाई गतिशील बनाइरहेका छन् । उहिले अवधका नवावले एकआपसमा मुर्गा लडाएर मनोरञ्जन लिने गरेझैं हाम्रोमा टेलिभिजनवालाहरूले पर्दामा एक–अर्को दलका नेतानेताबीच राष्ट्रिय ठोकठाक बहस चलाइरहेका छन् । ठूला शहरका मेयरले त भौतिक रूपमै तोडफोड, कर्यापझ्याप र ठोकठाक गतिविधि नै शुरू गरेका छन् । शायद कुन शहरमा कति गहिरो खोला वा नहर छ भनेर जान्नका लागि होला ।
यो क्रममा साँढेको जुधाइमा सामान्यजन बाच्छाहरू मिचिइरहेका छन् । दुई छाकको जोहो गर्न सडक अतिक्रमण गर्न पुगेका बिचराहरू बिचल्लीमा परेका छन् । हुन त बिचरो सर्वसाधारण सधैं पाइला पाइलामा ठोकाइ खानमा अभ्यस्त भइसकेकै छ । जुन दिन उसको ठोकाइ हुँदैन, त्यस दिन उसलाई खाली खाली झैं लाग्दो हो ।
नेपालीहरू तोडफोडका चाहिँ साह्रै भक्त छन् । हिजो कामरेडहरूको काम सडक र संसद्मा तोडफोड र जाम थियो, दंग परेर जनताले तिनैलाई सत्ताको साँचो दिए । अहिले त तोडफोड गर्दा ताली नै ताली दिइरहेका छन् । एकाध गाली गर्ने पनि छन् । तर तिनलाई ज्यान बचाउनै कठिन होला जस्तो छ ।
पेट्रोल, डिजेल त हरेक एक–दुई दिनमा दिन दहाडै बजारमा उठी उठी ठोक्ने कार्यक्रम गरिरहन्छ । नेपाली रुपियाँले त सर्वसाधारणलाई ठोकिराथ्यो, अहिले त अमेरिकी डलरले पनि राम्रैसँग हरेक दिनजसो ठोकेको ठोक्यै छ । त्यसैले मान्छेहरूले नेपाली नक्कली नोट छाप्नै बन्द गर्दिए । किनकि सक्कली नोट नै यति सस्तोमा पाइन्छ भने नक्कली किन छापिरहन पर्यो र ?
शेयर बजारले पनि साधारण लगानीकर्तालाई राम्रोसँग ठोकेको ठोक्यै छ । यसो दुई पैसा कमाउँला भन्ने सोचिरहेका लगानीकर्ताले उल्टै थप ऋणको भारी बोकेको बोक्यैै छन् । खाद्यान्न, फलफूल, तरकारी लगायत प्रत्येक वस्तु तथा सेवाहरूमा पनि संघीय र स्थानीय सरकारहरू एकआपसमा मिलेरै ‘जनता ठोक’ प्रतियोगिता गरिरहेका छन् । यसमा प्रत्येक राजनीतिक दल पनि पूर्णरूपले सहभागी छन् ।
जस्तै, ताली ठोक अभियानमा नयाँ स्वतन्त्र भनिएका दलले बाजी मारिरहेका छन् । चुनावमा पनि त्यसरी नै बाजी मार्छन् त भनेर अहिल्यै भन्न सकिन्न । त्यस्तै, गाली ठोक अभियानमा भने एमाले जहिले नि अगाडि र अब्बल नै देखिन्छ । माओवादी त गोली ठोक अभियानबाट जन्मिएको हो । तर शहरमा महलहरू ठडिएसँगै ठोक्ने अभियान अहिले आएर अलि सेलाए जस्तोे छ । कांग्रेसको त के कुरा गर्नु र ? ऊ त सधैं ठोक्नेभन्दा पनि आफ्नै दलभित्र एकआपसमा ठोक्किने अभियानमा देखिन्छ । यसरी यस्ता ठोकठाक गतिविधिमा प्राय: सबै दलहरू जुटेकै छन् र त देशमा राष्ट्रिय ठोकठाक अभियान राम्रैसँग चलिरहेको छ ।
नेता होस् या अभिनेता, मन्त्री होस् कि सन्त्री, बैंकर होस् या मेयर हरेकले सर्वसाधारणलाई आआफ्नै ढंगले ठोक्ने क्रियाकलाप गरी नै रहेका छन् । चुनावको आचारसंहिता लाग्नुअघि नेताजीहरू गाईको गोठ र शौचालयको उद्घाटन गर्न समेत भ्याइरहेका थिए । अब चुनावका माहौलमा ताली ठोक्ने अखण्ड महोत्सव शुरू भएको छ ।
कामरेडहरू ठोकौं ताली ! किनकि चुनावी भेलमा को असली को जाली छुट्ट्याउन गाह्रो छ । जसरी पनि चुनाव जित्नका लागि विरोधी दलका भीडलाई तित्राहरू वा कागहरूका बथान भन्ने उपक्रम पनि जारी छ । बातले नसके लात, लातले पनि नसके लाठीमुँग्री आदिको शास्त्रीय अस्त्रको सवारी छ । कुर्सी यात्राका लागि दल विशेषद्वारा गरिने यस्ता कार्यक्रम देखेर दलका हाई–कमान्डहरू गदगद नहुने कुरै भएन । ठोकपिट गर्ने यस्तै विशुद्ध धार्मिक कार्यक्रमलाई पार्टीका सर्वोच्च नेताहरू क्रान्तिका नामले पुकार्छन् क्यारे !
त्यसो त ठोकाइ धेरै भयो भनेर केही मान्छेहरू यदाकदा मन्त्रीको वा प्रधानमन्त्रीको पुतला पनि जलाई हिँड्छन् । तर तिनले बहुमत जनताले पुतलालाई नै मन्त्री, प्रधानमन्त्री बनाएका छन् भन्ने बुझिरहेका छैनन् ।
त्यसैले राजनीतिमा गाली ठोक कार्यक्रमले जहिले पनि प्रसिद्धि पाउँदै आएको छ । गाली ठोक्ने कार्यक्रम बार्दलीमा बसेर, बालुवाटारमा वा खुमलटारमा, जहाँ बसेर जहिले पनि गर्न सकिन्छ । यसको आयोजना गर्न कुनै विशेष कार्यक्रम गरिरहनु आवश्यक हुन्न । केवल एउटा छुच्चो र नीच मानसिकता बोकेर उभिए पुग्छ । उभिन पनि कुनै विशेष ठाउँको आवश्यकता हुन्न । चाहे मञ्चमा, ओछ्यानमा वा टीभीमा, जहाँ बसे वा उभिए पनि हुन्छ । मञ्चमा हो भने माइकको घाँटीमा जति गाली ठोके पनि हुन्छ । ओछ्यानमा हो भने एउटा राम्रो भिडियो बनाए पुग्छ ।
यसरी तल्लोस्तरको, घटिया मानसिकताको बडो स्वच्छ र उच्च परिचय दिनका लागि आफूले रचेको गाली साहित्यलाई ट्विटर या फेसबुकमा अपलोड गरेर यो राष्ट्रिय ठोकठाक अभियानलाई पँखेटा हाल्दै हिँड्नमा मस्त छन् नेताहरू । जनता जनार्दन भने सुखम् दु:खम् दशैं मनाउन व्यस्त छन् ।
तपाईंलाई पनि मेरो तर्फबाट बडा दशैं २०७९ को मंगलमय शुभकामना !