काठमाडौं । आजभोलि बालबालिकाहरु मोबाइल तथा कम्युटरमा गेम खेल्न व्यस्त हुने गरेका छन् । यस्तो संस्कृतिमा थोरै समय भए पनि चङ्गा उडाउने सिप सिकाउनका लागि अभिभावकहरु बजारमा शनिवार अपरान्ह चङ्गा तथा लट्टाई किन्दै गरेको भेटिए।
काठमाडौं उपत्यका बाहिरका शहर र गाउँहरुमा पनि दशैंमा चङ्गा नउडाइने होइन तर विशेषगरी काठमाडौं उपत्यकामा यो प्रचलन बढी छ। सफा नीलो खुलेको आकाशमा रङगीचङ्गी चङ्गा उडेको हेर्नु दशैंकाे एक आनन्दमय क्षण हो।
दशैंमा चङ्गा उडाउने प्रचलन कहिलेदेखि शुरु भयो भन्ने एकिन तथ्य नै त छैन तर, ज्येष्ठ नागरिकहरुका अनुसार दशैंमा चङ्गा उडाउने प्रचलन धेरै पुरानो हो । आफ्नै संस्कृति बोकेको चङ्गा उडाउने प्रचलन हजारौं वर्ष अघिदेखि शुरू भएको हो। यो संस्कारलाई जोगाउन चङ्गा, लट्टाई वर्षेनी भारतबाट आयात हुने गरेको छ । नेपालमा पनि लट्टाई उत्पादन भए पनि भारतीय लट्टाई अलि सस्तो हुनाले बालबालिका त्यसैमा आकर्षित हुन्छन्।
बजारमा कागज र प्लास्टिक को चङ्गाको मूल्य १० देखि २०० रुपैयाँसम्म पाइन्छ। लट्टाई १०० देखि ५०० रुपैयाँसम्म पाइन्छ । अनि धागो ब्रान्ड अनुसार तथा मीटर अनुसार पाइन्छ । कुलेश्वरस्थित नवनीत टडलर्स जोनले आफ्ना विद्यार्थीहरुलाई चङ्गा संस्कृतिसँग परिचित गराउन विद्यालय प्राङ्गणमा नै चङ्गा उडाएर रमाइलो गरेका थिए। ससाना बालबालिकाहरू चङ्गा चेट चङ्गा चेट भन्दै आफ्ना शिक्षकहरुसँग चङ्गा उडाउँदै खुसी भएका थिए।
दशैंमा चङ्गा उडाउने प्रचलन धार्मिक आस्थासँग जोडिएको पाइन्छ । वर्षा र सहकालका देवता इन्द्रसमक्ष खेतीबालीको लागि पानी पुग्यो भन्ने सन्देश पुर्याउन चङ्गा उडाउने प्रचलन शुरु भएको सँस्कृतविद्हरु बताउँछन् । तस्वीरहरु : सुनिल शर्मा /आर्थिक अभियान