काठमाडौं। काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा बुधवार पाःयाः जात्रा पर्व मनाइएको छ । पाको अर्थ काट्ने (खड्ग) र याः को अर्थ यात्रा भन्ने हुन्छ ।
विजया दशमी र एकादशिका दिन नेवार समुदायले निकाल्ने खड्ग जात्रामा विभिन्न शक्तिपीठमा तन्त्र साधना गरी खड्ग धारणा गरी टोल तथा गुठीका मानिस निस्किछन् । खड्ग धारण गरेर नगर परिक्रमा गरिसकेपछि आसूरी प्रवृत्तिको प्रतीक कुभिण्डोलाई खड्गले प्रहार गरी जात्रा सम्पन्न गरिन्छ । खड्ग जात्रामा शक्तिपीठबाट तन्त्र साधना गरी देवदेवीको मूर्ति रहेको शक्तिपीठको मूल घरबाट खड्ग जात्रा निकालिन्छ ।
विजया दशमीका दिन काठमाडौंमा टेःबहाल र बटुबाट भद्रकाली, कोहिटीबाट नीलवाराही, यट्खाबाट कंकेश्वरी, महाबौद्ध, किलागल र तलेजु भवानीलगायतका पीठबाट खड्गजात्रा निकालिन्छ भने ललितपुरमा नवमीका दिन तथा टिकाको मध्यरातमा निस्किन्छ । त्यस्तै भक्तपुरको तलेजुमा मध्य रातमा खड्गजात्रा सम्पन्न हुन्छ । त्यसैगरी कीर्तिपुरमा पनि सोही दिन महिलाले खड्ग जात्रा निकाल्छन् । यहाँका महिलाले खड्गको सट्टा सिन्दूरको दानी बोकेर नगर परिक्रमा गरि खड्ग जात्रा निकाल्ने परम्परा छ ।
एकादशीका दिन काठमाडौंको असनमा विशेष तरिकाको खड्ग जात्रा निकालिन्छ । यहाँ तुलाधर समुदायका एक नाबालकलाई नाइके बनाई खड्ग समातेर परिक्रमा पश्चात कुभिन्डो काटेपछि जात्रा सम्पन्न हुन्छ । यसैदिन टोखा, दोलखा, ललितपूरको बुंगमति र ठिमीमा पनि खड्ग जात्रा पर्व मनाइन्छ । असत्यमाथि सत्यको विजयको प्रतिकको रुपमा खड्ग जात्रा पर्व मनाउने गरिन्छ ।
तस्वीरहरु : सुनिल शर्मा / आर्थिक अभियान