वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको स्तरोन्नतिमा सिद्धार्थ बैंक लिमिटेडले सहयोग गर्ने भएको छ । बैंकको ५५ लाख रुपैयाँ लागतमा अस्पताल भवनमा सेवा तथा प्रविधि सुधारको काम हुनेछ । यो काममा सामाजिक संस्था राउण्ड टेबल नेपालले सहजीकरण गर्ने भएको छ ।
बुधवार वीरगञ्जमा आयोजित एक कार्यक्रमका बीच सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधान र राउण्ड टेबल नेपालका राष्ट्रिय अध्यक्ष राहुल अग्रवालले हस्ताक्षर गरे ।
सम्झौताअनुसार प्राप्त सहयोग रकमबाट निर्माणाधीन भवनको सिभिल र थप संरचना बनाइने राउण्ड टेबल ८ वीरगञ्जका अध्यक्ष मनीष लाठले बताए ।
बैंकका अध्यक्ष मनोज केडियाको अध्यक्षतामा सम्झौतापत्रमा हस्ताक्षर समारोह भएको थियो । सो समारोहमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्तालगायतको सहभागिता थियो ।