काठमाडौं । ग्लोबल आइएमई बैंकको सहकार्यमा त्रिभुवन विश्वविद्यालय परिसरमा वृक्षरोपण गरिएको छ । बैंक र त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पतालको सहकार्यमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस प्रमुख प्राडा शिवमंगल प्रसाद तथा ग्लोबल आइएमई बैंक कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्त रूपमा बिरुवा रोपेर गरे ।
विश्वविद्यालय आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्तर्गत क्याम्पस परिसर तथा शिक्षण अस्पताल भवनबाट मूल सडकसम्म चाँप, राजवृक्ष, पारिजात, शिरीश, अमलालगायतका बिरुवा रोपिएको बैंकले जानकारी दिएको छ ।
कार्यक्रममा विश्वविद्यालयको आयुर्वेद क्याम्पस प्रमुख प्राडा शिवमंगल प्रसादसहित त्रिभुवन विश्वविद्यालयका कानूनी सल्लाहकार नारायण खनाल, आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा विनोदकुमार सिंह, प्रशासकीय प्रमुख कुमार केसी, प्राध्यापक, कर्मचारी, विद्यार्थीका साथै बैंकका कर्मचारीको सहभागिता थियो ।