ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राजनीति भर्सेस् बाजनीति

२०७९ असोज, २८  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

मंसिर ४ मा हुन गइरहेको चुनावमा टिकट वितरणको विषयलाई लिएर टिकट बाँड्ने नेताहरूको व्यापक आलोचना भइरहेको छ । नातेदारलाई टिकट दिइयो रे, पैसामा टिकट साटियो रे । अझ डनहरूलाई माथि उठाइयो, तर उम्दा अर्थात् अलि पढेलेखेका, राम्रा अर्थशास्त्रीहरूलाई चैं सीधै पाखा लगाइयो भन्ने आरोप छ । तर यस्ता कुरा राजनीति नबुझ्नेहरूका हुन् । संसदीय प्रजातन्त्रमा नेता नै सर्वशक्तिमान् हुन्छन् । त्यसैले स्तुतियोग्य पनि । उहिल्यै भैरव अर्यालले लेखेकै थिए– ‘संसदीय प्रजातन्त्रे पार्टी नेतैव ईश्वरः’ । अब ईश्वरले गरेको कुरामा प्रश्न उठाउने तपाईं हामी को ?

राजनीतिमा सफल हुन चाहनेले शुद्ध रूपले बाजनीति अपनाउनैपर्छ । त्यसका लागि चुनाव लड्न सम्भव भएसम्म टिकट झम्टिएरै लिनुपर्छ ।

उहिल्यै कौटिल्यको राजनीतिशास्त्रमा ‘प्रजा सुखे सुखं राजा’ लेखेको पाइन्थ्यो । अहिलेको शास्त्रमा ‘नेता सुखे सुखं प्रजा । नेतानां च हिते हितम्’ लेखिएको छ । अर्थात् नेताका सुखमा नै प्रजाको सुख हुन्छ । नेताका हितमा नै प्रजाको हित लुकेको हुन्छ । उहिलेको कुरा खुइले, अहिलेको कुरा चम्के । बेलैमा चम्केका कुराका पछि लाग्नुस् अनि न तपाईंको भाग्य पनि चम्कन्छ । तर त्यसका लागि तपाईंले राजनीतिका यी पाँच नीति अपनाउनै पर्ने हुन्छ । साम, दाम, दण्ड, भेद र उपेक्षारूपी पञ्चनीति । अहिलेको खाँटी राजनीतिमा यी अनीतिले भरिएका श्रेष्ठ नीतिहरू नै हुन् । यी सबै स्वेच्छाचारको लेप लगाएर गरिने उत्तम फलनीति हुन् ।

यी पाँच नीतिमध्ये पहिलो हो साम अर्थात् सुझाव दिनु वा सम्झाउनु । कुनै काम गर्न या नगर्नका लागि दबाब दिनु । दाम अर्थात् कुनै काम गरिदिएबापत मूल्य चुकाउनु । दण्ड अर्थात् सजाय दिएर कुनै काम गराउनका लागि बाध्य पारिनु । भेद अर्थात् सम्बन्धित व्यक्तिको गोप्य रहस्यहरूको प्रयोग गरेर उसका हितैषीहरूका बीचमा दुश्मनी सृजना गरिदिएर आफ्ना कामका लागि बाध्य पार्नु । उपेक्षा अर्थात् पात्रको कुनै पनि वास्ता नगर्नु, जसरी ठूला नेताहरूका घरदैलोमा महीनौंदेखि कतिपय प्रभावशाली ठानिएका नेताहरूले टिकटका लागि दौडधुप गर्दा टिकटको त कुरा छाडौं, दर्शन भेट समेत पाएनन् ।

टिकट वितरणमा साम नीति कुनै प्रभावशाली नीति होइन । अतः टिकट फुत्काउन पात्रले दाम नीतिको सहारा लिनैपर्ने हुन्छ । त्यसैले त पार्टीमा कुनै योगदान नभएका नवप्रवेशी साहुजीहरूले सजिलै टिकट हात पारेका । दाम नीतिको अर्थ रोकडा दिएर काम गराउनु मात्र होइन, बरु टिकट प्राप्त गर्नका लागि पार्टीलाई अनेक प्रकारका प्रलोभन देखाएर आफ्नो हितमा काम गर्नु वा गराउनु हो । चाहे आफू चढेको पार्टीले भोलि सरकार बनायो भने आफ्नो व्यवसायलाई हित हुने नीति नियम पास गराउने होस् वा कुनै क्षेत्रको रोकिएको लाइसेन्स आफ्नो पोल्टामा पार्नु । यसका लागि कार, कोठी, कन्या, क्रेडिटकार्ड आदिको भुक्तानी गर्नुपर्ने नियम उल्लिखित छन् ।

कतिपय टिकटाकांक्षीले दण्ड नीति पनि अपनाएको देखिएको छ । ती सम्बन्धित राजनीतिक दललाई सजाय दिएर आफ्नो कार्य गराउन बाध्य गर्छन् । यो जरुरी छैन कि सजाय शारीरिक होस् । उनीहरू आश्वासन, नारा, घुर्की, फेसबुकीय भिडियो, ट्विटरी चराहरू आदिद्वारा टिकट नदिने नेतालाई प्रताडित गरिरहन्छन् । त्यसबाट पनि काम नबने कि त बागी उम्मेदवार उठ्छन् वा दल नै परिवर्तन गर्छन् ।

सैद्धान्तिक रूपमा यी पाँचै उपाय क्रूर हुन्छन् भन्नुहोला । कुरो त्यस्तो होइन । वास्तवमा राजनीतिको यो एक विशेषता नै हो । पुर्खाले भन्दै आएका छन् नि ‘राजनीतिमा जिते हस्तिनापुरको राज, हारे चपरीमुनिको वास’ । अब जनताले चपरीमुनि बस्न पर्‍यो त कुन ठूलो कुरा भयो र, नेता त राजै गर्न आएका हुन् क्यारे !

त्यसैले हरेक ठूला नेता अर्को व्यक्ति, भोटर, साना नेता आदिमाथि आफ्नो प्रभावको प्रयोग गरेर आफूलाई मन लागेको कार्य गराउँछन् । यसका लागि कुटिलतापूर्वक यी नीतिहरूको उपयोग गर्छन् । यदि कुनै नेताले यी नीतिहरूको सही तरीकाले प्रयोग गर्न जान्यो भने यसको प्रभावबाट जन्म जन्मान्तरसम्म कुर्सी सुख भोग गर्न सक्छ, जसरी तीन दशकदेखि केही सीमित नेताहरूले सत्तामा राइँदाइँ गरिरहेका छन् । सात पुस्तासम्मका लागि पद र पैसाको जोहो गरिदिएका छन् । अब हातमा डाडुपन्युँ लिएपछि त्यति पनि नगरे के राजनीति गर्नु ?

नेपाली कुर्सी उद्योगमा यस खालका नीतिहरूका सर्वाधिक प्रयोग हुने गर्छ । टिकट फुत्काउनेदेखि लिएर चुनावी जितका लागि भेद नीति सबैभन्दा प्रयोग गरिने र प्रसिद्धि पाइरहेको नीति हो । सम्बन्धित पार्टी हितैषीहरूका बीचमा वैमनस्य सृजना गर्ने चुनावी कृत्य गरिन्छ । पार्टीका विरोधी नेताहरूलाई आधारभूत रूपमै कमजोर गराउने कला काममा लिनु आवश्यक हुन्छ । हो, यै नीति अन्तर्गत नै प्रायः पार्टीका होनहार भनिएका नेताहरूलाई टिकट नदिईकन तरमाथिको झिँगा हटाएको झैं चुनावी मैदानबाटै हटाइएका ।

यस्तै कुटिल परिवेशमा कुनै पनि पात्र विरोधी दलको सहारा बन्ने नाटक गर्दै आफ्नो स्वार्थसिद्धि गर्न सक्छ । कुनै पनि कुटिल नेता यी चार उपायहरू अपनाउन सक्तैन भने उसले ठूला नेताले प्रयोग गर्ने गरेको उपेक्षा नीतिको प्रयोग गर्न सक्छ । तातोपानी छैन भने चिसै पानीले नुहाउँछु भनेजस्तै यो अन्तिम विकल्प सबैभन्दा सजिलो र सबैभन्दा कम खर्चिलो पनि छ । त्यसैले नेताका सुखका खातिर प्रजा उर्फ भोटरले भने परिस्थिति अनुसार उपर्युक्त अनीतिहरूको शिकार हुनै पर्छ ।

तर हाम्रो राजनीतिमा माथिका पञ्चनीतिभन्दा अर्को उत्तम नीति चैं बाजनीति नै देखिएको छ, जो सर्वाधिक प्रभावशाली, व्यापक र स्थायी छ । त्यसैले त राजनीतिको र नै नजानेका बाजनीतिका बाजे डनहरू राजनीतिमा जमेका । राजनीतिमा पहिल्यै जमेका नेताहरू त झन् बाजनीतिमा अब्बल नहुने कुरै भएन । त्यसैले बाजनीतिको बाजी मारेर निर्विरोध हुँदा शुद्ध राजनीति मात्रै गर्नेहरू चैं ट्वाँ परेका !
 
राजनीतिमा सफल हुन चाहनेले शुद्ध रूपले बाजनीति अपनाउनैपर्छ । त्यसका लागि चुनाव लड्न सम्भव भएसम्म टिकट झम्टिएरै लिनुपर्छ । अझ सकेदेखि विरोधी उम्मेदवारलाई बाजले झैं टपक्क टिपेर लैजानुपर्छ र पैसा, हातगोडा केले सकिन्छ पूजा गर्नुपर्छ र भुजाको बन्दोबस्त गर्दिनुपर्छ । त्यसैले भैरव बाजेले उहिल्यै भनेको बाजनीतिको मूल मन्त्र तपाईं पनि जप्नुस् है ?

सोझा र सज्जन कवै नलिनू दलैमा ।
पार्टी चलाउनु सधैं छल औ बलैमा ।।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)