जेनरिक औषधिमा भारतलाई ‘विश्वको फर्मास्युटिकल’ भन्दा अतिशय नहोला । विश्वभर उत्पादन हुने कुल जेनरिक औषधिमा झन्डै एक तिहाइ भारतमै उत्पादन हुन्छ । अफ्रिका, ल्याटिन अमेरिका र एशियाका कैयौं भागमा आपूर्ति हुने औषधिहरू भारतबाट जाने गरेको छ । तर, पछिल्लो समय भारत कफ सिरप विवादको केन्द्रमा छ ।
भारतीय कम्पनीले बनाएको खोकी औषधिको सेवनपछि गाम्बियामा झन्डै ७० जना बालबालिकाको मृत्यु भएको घटनाले भारतको औषधि उत्पादन र व्यापारको प्रभावकारी नियमनबारे चिन्ता बढाएको छ । उक्त घटनाबारे अहिले व्यापक छानविन भइरहेको छ । गएको हप्ता विश्व स्वास्थ्य संगठनले भारतीय औषधि निर्माता कम्पनी मेइडेन फर्माको खोकी र रूघाका चारओटा औषधिविरुद्ध विश्वव्यापी चेतावनी नै जारी गर् यो । उक्त कम्पनीले बनाएको औषधिको सेवनपछि बालबालिकामा मृगौलासम्बन्धी गम्भीर समस्या देखियो अनि ६९ जनाको मृत्यु भयो ।
प्रयोगशालामा ती औषधिको परीक्षणका क्रममा स्वीकार गर्न नसकिने मात्रामा डाइथेलिन, ग्लाइकोल र इथाइलिन भएको प्रयोगशालाको विश्लेषणले देखाएको छ । डाइथेलिन, ग्लाइकोल र इथाइलिन सेवन मानव शरीरका लागि विषाक्त हुन्छ । भारतीय अधिकारी र कफ सिरप निर्माता कम्पनी मेइडन फर्मास्युटिकलको कुरा पत्याउने हो भने औषधि गाम्बियामा मात्रै पठाइएको छ ।
भारतको हरियाणा राज्यको सरकारले विषाक्त कफ सिरप उत्पादक कम्पनी मेइडेन फर्मास्युटिकल्सको एउटा कारखानामा कफ सिरपको उत्पादन रोकेको छ ।
अधिकारीहरूले राज्यको सोनेपत शहरमा रहेको मेइडेनको कारखानाको निरीक्षण गरेका थिए । यस क्रममा अभ्यास र उत्पादनसम्बन्धी १२ ओटा नियम तोडेको पाइएको अनि उत्पादन तत्कालै रोक्न आदेश दिइएको छ । आफूले गुणस्तर नियन्त्रणसम्बन्धी अन्तरराष्ट्रिय मापदण्डहरूको पालना गरेको मेइडेनको भनाइ छ ।
तर, कम्पनीका केही उत्पादनहरूले भारतमा राष्ट्रिय वा राज्य स्तरमा गुणस्तर नियन्त्रणको मापदण्डहरू पूरा गर्न नसकेका घटना यसअघि समेत देखिएका थिए । मेइडेनले बनाएको खोकीको औषधिले स्थानीय मापदण्ड पूरा गर्न नसकेको भन्दै सन् २०११ मा कम्पनीलाई विहारले कालो सूचीमा राखेको थियो । गुणस्तर नियन्त्रणसम्बन्धी मापदण्ड उल्लंघन गरेको भन्दै सन् २०१८ मा भारतको औषधि नियामकले कानूनी कारबाही गरेको थियो । त्यसयता पनि कम्पनी पटकपटक केयौं राज्यमा गुणस्तर नियन्त्रण परीक्षणमा असफल भएको छ । सस्तो खालको औषधि निर्यात गरेको भन्दै भियतनामले कालो सूचीमा राखेको ४० ओटा भारतीय फर्मा कम्पनीमा पनि मेइडन पर्छ । पटकपटक गुणस्तर नियन्त्रणमा असफल भएको कम्पनीको औषधि निर्यातलाई मञ्जुरी दिने भारतीय नियामकहरूको कदमले त्यहाँको गुणस्तर नियन्त्रणको प्रभावकारिता र विश्वसनीयताप्रति प्रश्न उब्जाएको छ ।
कठोर खालको गुणस्तर नियन्त्रण मापदण्ड र उत्पादन अभ्यासको व्यवस्था गरिएको दाबी भारत सरकारले बेलाबेलामा गर्दै आएको छ । तर, अमेरिकाको खाद्य तथा औषधि प्रशासनलगायत विदेशी नियामकहरूले गुणस्तर नियन्त्रण कमजोर भएको भन्दै भारतीय कम्पनीहरूमाथि प्रतिबन्धसमेत लगाएका दृष्टान्तहरू प्रशस्तै पाइन्छन् । भारतमा गुणस्तर मापदण्डमा खेलाँची गर्ने कम्पनीहरूको निगरानी गर्ने निकायहरूमा लगानी एकदमै कम भएको पाइन्छ । अनि नियमनको व्याख्या पनि लापर्बाहीपूर्ण भएको देखिन्छ । कमसल वा कम गुणस्तरको औषधिको वर्गीकरण बेतुकका छन् । वर्षेनि गुणस्तरहीन औषधिको सेवनका कारण हुने मृत्युले पनि यही कुरा पुष्टि गर्छ । गएको वर्ष पनि हिमाचल राज्यको औषधि निर्माताले बनाएको खोकीको औषधि खाएर १३ जना बालबालिकाको मृत्यु भएको थियो । औषधि निर्माता कम्पनी नयाँ कम्पनी थिएन । एक दशकभन्दा लामो समयदेखि औषधि बनाइरहेको कम्पनी थियो ।
गुणस्तर मापदण्डको पालना नगर्ने कम्पनीहरूलाई दण्ड जरीवाना अति नै कम छ । यस्ता कम्पनीलाई २४२ डलर सम्मको जरीवाना र बढीमा २ वर्षसम्म जेल सजाय छ । कम्पनीहरूले जस्तोसुकै कमसल औषधि बनाएर त्यसको सेवनबाट मृत्यु नै भयो भने पनि बढीसे बढी पाउने सजाय भनेको २४२ डलरसम्मको जरीवाना र बढीमा २ वर्षसम्म जेल मात्रै हो । अर्को दु:खको कुरा भारत औषधिको नियमन गर्ने डब्ल्यूएचओको राष्ट्रिय निकायहरूमा भारत समावेश छैन । यस्ता कारणहरूले गर्दा भारतको फर्मा कम्पनीहरूको गतिविधि नियन्त्रण गर्ने नियामक नियन्त्रण विसंगत खालको छ ।
गाम्बियाको कफ सिरपको मामिलामा भारत सरकारले अनुसन्धान शुरू गरेको छ । तर, औषधि आयात गर्ने देशले आयातित सामानको परीक्षण गर्ने गुणस्तर ठीक छ छैन भनेर हेर्ने गरेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । तर, आफ्नो चेकजाँचमा मलेरिया, एन्टिबायोटिक्स र दुखाइ कम गर्ने औषधिहरूको गुणस्तर मात्रै प्राथमिकतामा रहेको कफ सिरप यसमा नपर्ने गाम्बियाका औषधि नियन्त्रण विभागका कार्यकारी निर्देशक मार्किउ जेन्नेहले बीबीसीलाई भनेका थिए । समस्याकारी औषधि निर्यातको अनुमति गाम्बियाका लागि मात्रै दिइएको भारत सरकारले बताएको छ । तर, अनौपचारिक बजार वा माध्यमबाट अन्यत्र समेत गएको हुन सक्ने डब्ल्यूएचओले बताएको छ । नेपालमा खपत हुने ८० देखि ९० प्रतिशत औषधि भारत र तेस्रो मुलुकबाटै आउने गरेको छ । यीमध्ये अधिकांश औषधि भारतबाटै आउँछन् ।