काठमाडौं । सिद्धार्थ क्यापिटलले धितोपत्र बजारसम्बन्धी लगानीकर्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कम्पनीले चितवनको भरतपुरमा सोमवार उक्त कार्यक्रम गरेको हो । धितोपत्र बजारको नियामक निकायहरूको अन्तरराष्ट्रिय संस्था इन्टरनेशनल अर्गनाइजेशन अफ सेक्युरेटिज कमिसन (आईओस्को)द्वारा आयोजित ‘विश्व लगानीकर्ता सप्ताह’को अवसरमा उक्त कार्यक्रम गरिएको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रमको सहजीकरण नेपाल धितोपत्र बोर्डका सहायक निर्देशकहरू दिपेश चौलागाईं र भुवन देशारका साथै सिद्धार्थ क्यापिटलका तर्फबाट मुक्तिनाथ सुवेदी, निराजन कार्की र नमिता कट्टेलले गरेका थिए । विद्यार्थीलाई धितोपत्र बजारका आधारभूत पक्षहरू र नेपालको धितोपत्र बजारमा लगानी गर्ने प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले बताएको छ । कार्यक्रममा सय जनाभन्दा बढी विद्यार्थी तथा अन्य व्यक्तिको उपस्थिति थियो । धितोपत्र बजार र लगानी सम्बन्धी विद्यार्थीका जिज्ञासालाई सहजकर्ताले सम्बोधन गरेका थिए ।