बारा । बाराको परवानीपुर गाउँपालिका ३ लिपनीमालको बिएस पार्टी प्यालेसमा आइतवार बिहानदेखि निःशुल्क कोटामा मलेसिया जाने युवाहरुको भीड छ ।
ललितपुरस्थित ग्वार्कोमा रहेको इन्टरनेशनल म्यानपावर रिक्रुमेन्ट कम्पनीमार्फत बारा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवारले युवाहरुको अन्तरवार्ता लिन थालेको पाइएको हो । उनीहरूलाई मलेसियामा रहेको स्याकारिता सिनकलंङ्ग प्लाष्टिक इन्डष्ट्रिज कम्पनिमा “फ्रि टिकेट, फ्रि भिजा” दिएर पठाउने योजना छ ।
चुनावलाई केन्द्रीत गरेर नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले निःशुल्क कोटामा वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा परेर अन्तरवार्ता दिन आएको युवाहरु बताउँछन् ।
उनीहरुकाअनुसार नेता श्रेष्ठकै पहलमा निःशुल्क कोटामा विदेश जान पाइने पूर्व सूचनाअनुसार अन्तरवार्ता लिइएको छ । यता नेता श्रेष्ठका प्रतिष्पर्धी एकबल मियाँले निःशुल्क कोटामा वैदेशिक रोजगारीमा पठाउने भन्दै युवाहरुलाई प्रलोभनमा पार्ने काम गरेकोप्रति आपत्ति जनाएका छन् ।
बारा क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएका नेता श्रेष्ठले निर्वाचनको मिति घोषणा भइसकेपछि र उम्मेदवारी मनोनयन दर्ता पनि भइसकेको अवस्थामा जनतालाई प्रलोभनमा पार्ने काम गर्नु निर्वाचन आचारसंहीता विपरित भएकाले निर्वाचन आयोगले तत्काल कारबाही अघि बढाउनुपर्ने उनको माग छ ।
बारा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका उम्मेदवार मियाँले चुनावमा आफ्नो भोट बढाउनका लागि नै पूर्व श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री समेत रहेका श्रेष्ठले जनतालाई प्रलोभनमा पार्ने काम गरिरहेको आरोप लगाए ।
उनले प्रतिष्पर्धी श्रेष्ठले निर्वाचन क्षेत्रमा मदरसा बनाइदिने, स्वीमिङ पुल र छात्राहरूका लागि छुट्टै विद्यालय बनाइदिने जस्ता प्रलोभन दिएको आरोप लगाए । उम्मेदवार मियाँले नेता श्रेष्ठ समग्र देशको मन्त्री हुँदा कुनै काम नगरेको तर चुनाव जित्नका लागि जनतालाई भ्रम छर्ने काम भइरहेको भन्दै जनताले यसको फैसला गर्ने बताए ।
त्यस्तै बारा क्षेत्र नम्बर ४ (ख) का मधेस प्रदेश सभा उम्मेदवार आत्माराम साहले युवाहलाई विदेश पठाइदिन प्रि-अन्तरवार्ता लिने काम भइरहेको भन्दै यो निर्वाचन नियमावली बिरुद्ध भएको बताए । उनले यो विषयमा निर्वाचन कार्यालयले कारबाही गर्नुपर्ने माग गरे ।
प्रतिष्पर्धी मात्र होइन, युवा र स्थानीय नागरिकहरू पनि उम्मेदवार श्रेष्ठको कदमबाट अक्रोशित छन् । नेता श्रेष्ठले निर्वाचनका लागि प्रि-अन्तरवार्ता थालेको तर बाराका मात्रै युवाहरुलाई फ्रि भिसा, फ्रि टिकट भन्दै अन्तरर्वाता शुरू गरिएका कारण निर्वाचनमा प्रलोभन देखाउने काम भइरहेको उनीहरु बताउँछन् ।
नेता श्रेष्ठको क्षेत्रमा आइतवारदेखि वैदेशिक रोजगारीमा पठाउन प्रि-अन्तरवार्तामार्फत छनोट थालिएको थियो । म्यानपावर व्यवसायीसमेत रहेका नेता श्रेष्ठले निर्वाचनलाई लक्षित गरी उम्मेदवारी दिएकै क्षेत्रका युवाहरुलाई निःशुल्क कोटामा मलेसिया पठाउन अन्तरवार्तामार्फत छनोट गरिने प्रक्रियालाई अगाडी बढाएको उनीहरुको दाबी छ ।
नेता श्रेष्ठले उम्मेदवारी दिएको श्रेत्रका यूवाहरुलाई निःशुल्क विदेश पठाइदिने सूचना अन्य जिल्लाका युवाहरुसँग पनि पुगेपछि अन्तरवार्ता स्थलमा घुइँचो लागेको थियो ।
फ्रि भिसा, फ्रि टिकट भनेकाले आफू नुवाकोटबाट विदेश जाने प्रयोजनमा बारा पुगेको कमलबहादुर अधिकारी बताउँछन् । काठमाडौंको म्यानपावरले बारा पठाएपछि बारा पुगेपनि बाराका युवाहरुलाई मात्रै सीमित गरेकाले अन्तरवार्ता हुन नसकेको उनको भनाइ छ ।
त्यस्तै सर्लाहीका कुमार यादव, पञ्कजकुमार सहनीको अवस्था पनि कमलबहादुरको भन्दा फरक छैन । उनीहरू सर्लाहीबाट अन्तरवार्ताका लागि बारा पुगेको ४ दिन भएपनि अझै अन्तरवार्ता हुन नसकेको र स्थानीयहरूले बारा जिल्लाका लागि मात्रै विदेश पठाउने कुरा थाहा पाएको उनीहरूको भनाइ छ ।
निःशुल्क कोटामा विदेश जाने सूचना पाएका करिव ४ सय भन्दा बढी युवा अन्तरवार्ता दिन आएका थिए । नेकपा (एकिकृत समाजवादी) का स्थानीय नेता कार्यकर्ताहरू निःशुल्क कोटामा विदेश पठाउन गाउँमा पुगेर यूवाहरूलाई सम्पर्क गर्न थालेको स्थानीयहरू बताउँछन् ।