काठमाडौं । एभरेष्ट बैंकले २८औं वार्षिकोत्सव मनाएको छ । बैंकले बुधवार विशेष कार्यक्रमका साथ वार्षिकोत्सव मनाएको हो । सो अवसरमा बैंकले प्रधान कार्यालयमा वृक्षरोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम गरेको थियो । कार्यक्रममा बैंकका २०० भन्दा बढी कर्मचारी तथा ग्राहकको उपस्थिति थियो । कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीलाई सम्मान समेत गरेको थियो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल नेत्र ज्योति संघलाई डा. रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटामा रहने गरी आँखा जाँच्ने मेशिन खरीद गर्न रू. ४ लाख ८० हजार २५० आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल नेत्र ज्योति संघका बोर्ड सदस्य द्रोण गुरागाईंलाई कार्यक्रममार्फत सो चेक हस्तान्तरण गरे । कार्यक्रममा नेपाल नेत्र ज्योति संघ धनकुटाका तर्फबाट रोशेस श्रेष्ठको पनि उपस्थिति थियो ।
साथै बैंकले ललितपुरको टैखेलमा सोलार यात्रु प्रतीक्षालय निर्माणका लागि गोदावरी नगरपालिका वडा नं ३ सँग सम्झौता गरेको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र वडा कार्यालयको तर्फबाट अध्यक्ष सानु राजा घिमिरेले एक कार्यक्रमका बीच सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।