ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘रेडिमेट’ प्रतिबद्धता बजारमा

२०७९ कार्तिक, ४  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

 

तिहार ढोकैमा छ र उम्मेदवारहरूको देउसी रे शुरू भइसक्यो । कोही टीभीमा कुर्लिरहेका छन्, कोही चर्काचर्कीमा उर्लिरहेका छन् । असारमा धान रोपेका किसान धान भित्र्याउने चटारोमा छन्, नेताहरू तिनलाई रोकेर मत माग्न हतारोमा छन् । त्यसैले धान त बोरामा पो फल्छ भन्ठान्ने नेता पनि किसानको एक मुठो धान काटेर फेसबुक/इन्स्टामा फोटो राख्न मरिहत्ते गरिराछन् । किनकि उनीहरू पाँच वर्ष मजाले बाली भित्र्याउन पाउने चिट्ठाका पछि जो लागेका छन् ।

जुन नेता भित्र जति खोक्रो हुन्छ बुझ्नुस् बाहिर उसले त्यति नै ठूलो प्रतिबद्धता देखाउँछ । उसले संकल्प पनि होलसेलमै खरीद गरेको हुन्छ र विक्री पनि होलसेलमै गर्छ ।

पाँच वर्ष जनताका कुरा नसुन्ने, नदेख्ने, नबोल्ने नेताहरू अहिले जनताका अघि गोहीका आँसु झारिरहेछन् । अनि जे जे भनेर हुन्छ, भोटका लागि नोट दिनुपर्‍यो भने चोट खानसम्म तयार देखिन्छन् । मतदाताहरूलाई सपनाको भारी नबोकाए आफू सिंहासनमा बसेर आदेश फरमान जारी गर्न कहाँ पाइन्छ र ? त्यसैले त महलमा राज गर्ने अर्बपतिहरू झुपडीमा साष्टांग दण्डवत् गर्न पुगेका छन् र यसो गरीबका कुटीमा गरीबसँगै खाना खाँदै किचिक्क दाँत देखाएका फोटा सामाजिक सञ्जालमा पोस्ट्याउन भ्याएका छन् । यी नेता हुन् कि अभिनेता थाहा पाउनै गाह्रो छ ।

प्रायः सबै उम्मेदवारको एउटै चिन्ता छ– मतदाताकहाँ के नयाँ कुरा लिएर जाऊँ र के भनेर उनीहरूको ध्यान आफूतिर आकृष्ट गरुँ ? आजैमात्र विदेश जानेलाई सित्तैमा टिकट, तालीम दिने र ढेवा पनि नचाहिने भनी एक जना मान चाहिने नेताले भनेको भाषण यहाँले सुन्नु भएकै होला । उता आफूले जिते डिजेल पेट्रोलको भाउ घटाउने भनेर गुल्मीतिरका एकजना काजी भट्याउँदै छन् । पाँच वर्षसम्म बिझाएका जनतालाई एक महीनामै रिझाउन नयाँ फन्डा नलिई कहाँ हुन्छ र ?

हुन त उहिल्यै भैरव काकाले सबैलाई मिल्नेगरी चुनावी घोषणापत्रको मस्यौदा तयार गरिदिएकै थिए त : पढ्नेलाई पास, खेल्नेलाई तास, पण्डालाई भेटी, गुण्डालाई केटी, जोगीलाई जक्सन, रोगीलाई इन्जेक्सन, पुलिसलाई डण्डा, नेतालाई झण्डा आदि आदि । जमाना बदलिए पनि जसलाई जे चाहिन्छ, त्यही दिने वाचा चुनावताका गर्ने चलन भने झन् झाँगिदो छ ।

त्यसैले आबद्धता जतासुकै भए पनि प्रतिबद्धता चाहिँ दरै हुनुपर्छ है । यस्तो मीठो प्रतिबद्धता कहाँ पाउने भन्नुहोला । चिन्तै गर्नुपर्दैन । बजारमा तपाईंलाई जस्तो चाहिएको एक से एक प्रतिबद्धता पत्रहरू तयार छन् । आफूलाई मन पर्ने खालको प्रतिबद्धता छान्नुस् र चुनावअघि मतदातालाई मज्जाले बाँड्नुस् अनि विपक्षीको समूहलाई भाँड्नुस् । हो, अहिले बजारैभरि थरीथरीका संकल्पहरू सजिलै खरीद गर्न पाइन्छ, जसरी प्रेमपत्रका नमूनाहरू किन्न पाइन्छ । ठूल्ठूला शोरूमहरूमा भव्य भव्य संकल्पहरू वा प्रतिबद्धताहरू सजाएर राखिएका छन् । मतदाताहरू पनि नेताहरूका थरीथरीका प्रतिबद्धता खरीद गर्न आतुर नै देखिन्छन् । हरेक संकल्पको वा प्रतिबद्धताको आआफ्नै मूल्य छ ।

खरीददारले चाहेको खण्डमा प्रतिबद्धतापत्रको मोलमोलाइ पनि गर्न सक्छ । त्यसैले ती विभिन्न संकल्पहरूका मोलभाउ पनि भइरहेको छ । त्यसैले यी संकल्पहरू हिजोआज गाउँको चिया पसल, चौतारादेखि पाँचतारे होटल र विदेशसम्म पनि खरीदविक्री भइरहेको देखिन्छ । हुन पनि यतिबेला प्रतिबद्धताहरूको ह्वात्तै माग बढेको छ । रमाइलो यो छ कि यी प्रतिबद्धताहरू केवल चुनावताका मात्र खरीदविक्री हुन्छन् । चुनाव सकिनासाथ यो खाली–शिशी पुराना–कागजवालाले सित्तैमा उठाएर लैजान्छन् । यो प्रतिबद्धतापत्र यस्तो हुन्छ कि त्यसमा लेखेको कुरा तपाईंले सिन्को पनि भाँच्नु पर्दैन ।

यी संकल्प वा प्रतिबद्धताहरू कसैले पनि पढ्न, पढाउन पर्दैन । मान्छेहरूलाई विभिन्न रंगढंगका प्रतिबद्धतापत्रहरू हेर्दा रमाइलो लाग्छ, व्यंग्य निबन्ध हो कि स्वैरकल्पना हो पाठक त्यसैमा अलमलिहाल्छ ।

अर्को रमाइलो कुरा यो पनि छ कि हरेक नेताले आफ्नो प्रतिबद्धता विक्रीमा राखेका छन् र यी विक्री पनि भइरहेका छन् । यी प्रतिबद्धताहरू जनताका बीच उछाल्ने काम पनि भइरहेको छ ।

जुन नेता भित्र जति खोक्रो हुन्छ बुझ्नुस् बाहिर उसले त्यति नै ठूलो प्रतिबद्धता देखाउँछ । उसले संकल्प पनि होलसेलमै खरीद गरेको हुन्छ र विक्री पनि होलसेलमै गर्छ । राजनीतिज्ञ भनेकै खोक्रो नै हुने हो । त्यसैले उसका लागि सम्पूर्ण संकल्प भनेकै केवल भोट प्राप्त गर्नु मात्र हो । भोट प्राप्त गर्न उसका लागि एकमात्र विकल्प भनेकै राम्रो अर्थात् पढ्दा, सुन्दा यो नेताले वा त्यो दलले क्यै गरी पो हाल्छ कि भन्ने भ्रम छर्न सक्ने खालको घोषणापत्र बनाएर बाँड्नु हो । त्यसैले त चुनावलाई प्रतिबद्धताको पर्व पनि भनिन्छ ।

नेताजीहरू संकल्प र प्रतिबद्धताहरूको पोका लिएर चुनाव अघि जनताका अगाडि छर्ने काम गर्छन् । तर, भोट त्यहाँ मात्र फल्छ, जहाँ प्रतिबद्धतासँगै दानदक्षिणा पनि बाँड्ने काम हुन्छ । अर्थात् संकल्पका साथ लेनदेनको पनि रीतिरिवाज हुन्छ । त्यसैले जब चुनाव आउँछ, तब एउटा गल्लीको कुकुर पनि आफ्नो पुच्छर बांगो बांगो पारेर आफ्नो प्रतिबद्धताको झण्डा लहराउँदै हिँड्न थाल्छ । एउटा सडकछाप असली गधा पनि चुनावका बेला त प्रतिबद्धता बोकेर गल्ली गल्ली मान्छेहरूलाई नमस्कार गर्दै हिँड्न भ्याइरहेको देखिन्छ ।

यो चुनावी माहोलमा आफूलाई नेता ठान्ने जो कोहीले पनि यदि नयाँ प्रतिबद्धता जनतासामु पेश गरेन भने त उसको जीवनको पूरै पाँच वर्ष खेर गएको ठान्दछ । अरे चुनाव आइसक्यो ! तपाईंले अझै संकल्प र प्रतिबद्धताहरूले भरिएको घोषणापत्र लेखेर बाँड्न भ्याउनुभा छैन र ? के भन्लान् भोटररूपी जनताले ? कति आतुर छन् जनता तपाईंको प्रतिबद्धताले भरिएको घोषणापत्र पढ्न, सुन्न ।

चुनाव मुख आँ गरेर आइरहेको छ । यदि तपाईंले अहिलेसम्म प्रतिबद्धतापत्र वा घोषणापत्र बनाइसक्नु भएको छैन भने बजारबाट आफ्नो प्रति उठाइहाल्नोस् है । नभए पुस्तकालय गएर कुनै पनि दलको पुरानो घोषणापत्र कपि गरिहाल्नुस् र दुईचार लाइन यताउता गरेर आफ्नो नामबाट नयाँ घोषणापत्र जारी गरिहाल्नुस् । पानी जहाज, रेल, सित्तैमा ग्यास र तेलका नाराहरू अब पुराना भैसके । यसो वैदेशिक रोजगारमा सित्तैमा पठाउने जस्ता आधुनिक नुस्काहरू थप्यो भने बरु नयाँ र गजबको घोषणापत्र तयार हुन सक्छ । त्यसपछि सामाजिक सञ्जाल, मिडिया, चौतारा कहाँ कहाँ सक्नुहुन्छ छर्न थाल्नुस् । अनि न तपाईं पनि नेतामा दरिनुहुन्छ । नत्र ढिला होला है !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)