ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनएचपीसीले पायो पश्चिम सेतीको लाइसेन्स 

२०७९ कार्तिक, ४  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भारतीय कम्पनीले पश्चिम सेती जलविद्युत् आयोजनाको अध्ययन अनुमतिपत्र (लाइसेन्स) पाएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले एनएचपीसीका उपमहाप्रबन्धक अशोककुमार जोशीलाई बिहीवार अनुमतिपत्र हस्तान्तरण गरेका हुन् । 

भारतीय सरकारी कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन (एनएचपीसी) ले ७५० मेगावाटको पश्चिम सेतीको अध्ययन अनुमतिका लागि गत असोज ११ गते आवेदन दिएको थियो । 

लगानी बोर्डबाट लाइसेन्स पाएसँगै एनएचपीसीले आयोजनाको आर्थिक लाभ भए/नभएको, आयोजना निर्माण गर्दाको लागत, वातावरणीय प्रभाव मूल्यांकन, अधिकतम विद्युत् उत्पादन हुनसक्ने सम्भावनालगायत विषयमा २ वर्ष लगाएर अध्ययन गर्नेछ ।

२०७९ भदौ २ मा बोर्ड र एनएचपीसीबीच ४५ दिनभित्र अनुमतिपत्रका लागि निवेदन दिने गरी समझदारी भएको थियो । उक्त समझदारीपत्रमा लगानी बोर्डका सीईओ भट्ट र एनएचपीसी अध्यक्ष तथा प्रबन्ध निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गरेका थिए । सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्नेगरी दुई परियोजना एउटै कम्पनीलाई दिएको हो । 

उक्त समझदारीपत्रमा प्रस्तावकले पश्चिम सेती जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमतिपत्रका लागि समझदारीपत्रमा हस्ताक्षर भएको मिति (भदौ २ गते) ले ४५ दिनभित्र र सेती नदी–६ जलविद्युत् परियोजनाको लागि ६ महीनाभित्र आवेदन दिनुपर्ने शर्त थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष प्राथमिकतासाथ सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना पश्चिम सेतीको निर्माण अगाडि बढाउन तदारुकता देखाएसँगै लगानी बोर्ड र राष्ट्रिय योजना आयोगले चासो दिएका थिए । सरकारले चालू आर्थिक वर्षभित्रै पश्चिम सेती आयोजनालाई विशेष प्राथमिकता दिने घोषणा बजेटमा गरेको थियो । गत वैशाखमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट पश्चिम सेती निर्माण गर्न भारतीय कम्पनीलाई जिम्मा दिने घोषणा भएको थियो ।

चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएको २ वर्षपछि यो आयोजना भारतलाई दिने गरी सरकारले तयारी गरेको थियो । २४ वर्षअघि अस्ट्रेलियाको स्मेक कम्पनीले पश्चिम सेती निर्माणको जिम्मा लिएको थियो । १७ वर्षमा १० पटकसम्म इजाजतपत्र नवीकरण गर्दा पनि स्मेकले काम अगाडि नबढाएपछि सरकारले इजाजत रद्द गरेको थियो । त्यसपछि सन् २०१२ मा यो आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिइएको थियो । अध्ययनअनुसार यो परियोजना ६५२ मेगावाटसम्मको बन्नसक्छ । यसका लागि २०७ मिटर अग्लो बाँध बाँध्नुपर्छ ।

लगानी बोर्डले पश्चिम सेतीसँगै सेती नदी–६ आयोजना पनि अगाडि बढाउने निर्णय गरेको छ । यसलाई पनि एकसाथ अघि बढाउन अध्ययन शुरू गरिएको थियो । बूढीगंगा र पश्चिमसेतीको तल्लो भागमा बन्ने सेती नदी–६ को क्षमता भने ३०८ मेगावाट छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)