काठमाडौं । धनतेरसको दिन काठमाडौंका भाँडा र सुनचाँदी पसलमा ग्राहक बढेका छन् । यस दिन नयाँ भाँडाकुँडा र गरगहना किनमेल गर्न काठमाडौंका भाँडा र सुनचाँदी पसलमा ग्राहक आएका हुन् ।
धनतेरसमा गरगहनाको व्यापार ह्वात्तै बढ्ने गरेको सुनचाँदी व्यवसायी बताउँछन् । यस दिन ५० केजीसम्म सुनको कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको अनुमान छ । दशैंपछिको हरेक दिन ३५ किलोसम्म सुनको कारोबार हुने गरेको उनको भनाइ छ । भाँडा पसल सञ्चालक पनि यस दिन व्यापार बढ्ने गरेकाे बताउँछन् ।
हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस मनाइन्छ । यस दिन नयाँ भाँडाकुडा र गरगहना किन्नुपर्ने हिन्दू मान्यता छ । साथै यस दिन चाँदीकाे सिक्का किन्ने पनि प्रचलन छ ।
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान