काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शेयरधनीहरूको भौतिक उपस्थिति तथा भच्र्युअल माध्यमबाट भएको सहभागितामा सभा गरिएको कम्पनीले जानकारी दिएको छ । सभाले वार्षिक प्रतिवेदन पारित गरेको छ । यस्तै गत आर्थिक वर्षको मुनाफाबाट ७ दशमलव ४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांशको प्रस्ताव स्वीकृत गरेको छ ।
यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारित गरिएको कम्पनीको भनाइ छ । सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले गुराँस लाइफसहित युनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत समेत गरेको छ । मर्जरका लागि सञ्चालक समितिले गरेको कामको अनुमोदन गरिएको छ ।
साथै, सभाले कम्पनीको सम्पत्ति दायित्व मूल्यांकनका लागि मूल्यांकनकर्ता, परामर्शदाता र लेखापरीक्षकहरू नियुक्ति गर्ने, उनीहरूको पारीश्रमिक निर्धारण गर्ने र बीमांकीय मूल्याकंनकर्ता नियुक्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै मर्जरका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गरिएको छ ।