काठमाडौं । एभरेष्ट बैंकले २८औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैंकिङ प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको बैंकले बताएको छ । कार्यक्रममा बैंकका ४०० भन्दा बढी कर्मचारीको उपस्थिति रहेको थियो । बैंकको प्रधान कार्यालय लाजिम्पाटबाट शुरू भएको प्रभातफेरी लैनचौर–गैरीधारा–नारायणचौर नक्साल–नागपोखरी–लैनचोर हुँदै पुनः लाजिम्पाट पुगेर सम्पन्न भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बैंकमा डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्न तथा बैंकलाई यस वर्ष तोकिएको डिजिटल बैंकिङको विषयवस्तु पूरा गर्न जोड दिइने बताए । साथै डिजिटल बैंकिङको प्रयोगबाट ग्राहकले कुनै पनि समय र स्थानबाट बैंकिङ सेवा लिन तथा आफ्नो नियन्त्रणमा राख्न सक्ने उनले बताए ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले डिजिटल बैंकिङको प्रयोगबाट ग्राहकले २४ घण्टा सातै दिन रकमान्तर, बिल भुक्तानी, मोबाइल टपअप, क्यूआर भुक्तानी लगायतका सेवा लिन सक्ने बताए ।