ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजेट अभावले राष्ट्रिय सहकारी संग्रहालय अलपत्र

२०७९ कात्तिक, १३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । देशकै जेठो सहकारीको रूपमा परिचित बखान बहुउद्देश्यीय सहकारी संस्थाको सक्रियतामा निर्माणाधीन राष्ट्रिय सहकारी संग्रहालय बजेट अभावमा अलपत्र परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित शारदानगरमा स्थापना गर्न लागिएको संग्र्रहालयको पूरा काम नसकिँदै अलपत्र परेको हो । संग्रहालय निर्माणमा पाँच करोड रुपैयाँ खर्च भइसकेको छ । बाँकी कामका लागि बजेट निकासा नभएकाले अलपत्र परेको बताइएको छ ।

२०७४ को संघीय निर्वाचनअघि नेपाल सरकारबाट पाँच करोड रुपैयाँ निकासा भएपछि निर्माण थालिएको थियो । बजेट अभावले काम रोकिएपछि निर्माणाधीन भवन खण्डहरजस्तै भएको छ । थप बजेट निकासा हुन नसक्दा बाँकी काम अधुरै रहेको बखान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भक्तबहादुर गुरुङले बताए ।

पाँच करोड बजेटमा संग्रहालयको ठूलो बैठक कक्ष, साना बैठक कक्ष, विशिष्ट व्यक्तिका लागि बस्ने कोठा, कार्यालय कक्ष र अन्य केही कोठा मात्र निर्माण गरिएको उनले बताए । थप बजेट निकासा नहुँदा संग्रहालय निर्माण अघि बढ्न सकेको छैन । ‘इतिहास बोकेको सहकारीले बनाउन लागेको संग्र्रहालयका लागि राज्यको ध्यान केन्द्रित हुनुपथ्र्यो,’ उनले भने, ‘अर्बौंमा कारोबार गर्ने सहकारीहरूले पनि चासो नदिनु दु:खद हो ।’ संग्रहालयमा फर्निचर, बिजुली बत्ती, भवनको प्लास्टरसँगै रङरोगन र पर्खाल निर्माणको काम बाँकी छ ।

देशका ७७ ओटै जिल्लाको चिनारी झल्किने गरी राष्ट्रिय सहकारी संग्र्रहालय निर्माणको काम अगाडि बढाइएको पनि निर्माण नहँुदा अन्योल थपिएको गुरुङको भनाइ छ । चार बिघा जग्गा संग्रहालयका लागि छुट्ट्याइएको छ । आयोजनाको कुल लागत ९ करोड ४५ लाख रुपैयाँ रहेको बताइएको छ । गुरुयोजना अनुसारका पूर्वाधार बनाउन करीब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

सहकारी संग्रहालयमा संस्थापक अध्यक्षको हातबाट लेखिएको तमसुक, २०११ सालमा राप्तीदून परियोजनाका लागि ढड्डी फाँड्न प्रयोग गरिएका औजार, ऐतिहासिक पुराना पैसा र अन्य बहुमूल्य सामान राखिनेछ । संग्रहालयमा देशभरका ३६ हजार सहकारीको पहिचान हुनेगरी केही सामग्री पनि राख्ने योजना छ । साथै भ्रमणका लागि आउने समूहहरूलाई आवासको व्यवस्था, तालीम हल, भोजनालय, शहीद पार्क बनाउने र सांस्कृतिक पहिचान झल्कने वस्तुहरू राख्ने योजना छ ।

२०१३ सालमा तत्कालीन सरकारको कार्यकारी आदेशमा चितवनमा बखान ऋण समिति समेत गरी १३ ओटा प्रारम्भिक सहकारी संस्था स्थापना गरिएका थिए । खाली जग्गामा बस्ती बसाउन र विकासका लागि बखानसिंह गुरुङले सहकारी स्थापनाको अवधारणा अघि सारेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)