भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सले २१ अक्टोबर २०२२ को अनलाइन संस्करणमा तिहारको बेला भारतमा करीब ३० अर्ब २० करोड अमेरिकी डलर (२५ खर्ब भारतीय रुपैया) बराबरको कारोबार हुने आँकडा प्रस्तुत गरेको छ । यो कारोबार अधिकांश भारतीय उद्योगहरूका उत्पादनमा आधारित भएको भएकाले तिहारको मौसम भारतीय अर्थतन्त्रका लागि वरदान भनेर परिभाषित गर्ने गरिन्छ । तर, नेपालको परिदृश्य भने एकदमै भिन्न छ । जनैदेखि उपटनसम्म आयात हुने नेपालको जस्तो आयातमुखी अर्थतन्त्रमा चाडपर्वहरूमा हुने उपभोग आयात वृद्धितर्फ उन्मुख हुँदै आएको छ ।
चाडपर्वमा हुने फजुल खर्च नियन्त्रणमा धार्मिक संघसंस्था र धार्मिक कार्यसम्पादन गर्ने पुरोहित वर्गको पनि महत्त्वपूर्ण भूमिका रहन्छ ।
नेपालमा पनि चाडपर्वहरूमा वस्तुको माग अत्यधिक हुने गर्छ । धार्मिक कार्यसम्पादनका अतिरिक्त यससँग जोडिएर आउने सांस्कृतिक पक्ष, आडम्बरजन्य पक्ष, अन्धविश्वासजन्य पक्ष तथा अनुकरणजन्य पक्षका कारण चाडपर्वहरूमा अतिरिक्त मागको अवस्था सृजना हुन्छ । बडाले गरेको चाडपर्वजन्य खर्च निम्न वर्गहरूका लागि संस्कृतिका रूपमा स्थापित हुन जान्छ, जसलाई पूरा गर्न उनीहरू ऋण लिने पुर्ख्यौली सम्पत्ति विक्री गर्ने तथा अधिक मोलमा उधारोमा वस्तु किन्नसम्म बाध्य हुन्छन् । यसले गर्दा चाडपर्वसँग सम्बद्ध उपभोग अनिवार्य उपभोगका रूपमा देखा पर्न जान्छ ।
नेपालमा पनि विगत केही वर्षयता चाडपर्वजन्य उपभोगमा उल्लेख्य वृद्धि भएको चाडपर्वका समयमा बजारको चहलपहलले नै दर्शाउँछ । यो चहलपहल पनि आयात केन्द्रित रहेको छ । यसका पछाडि देहायका कारण जिम्मेवार रहेका छन् :
पहिलो, देशभित्र उद्योगतन्त्र कमजोर हुँदै गएको सन्दर्भमा चाडपर्वजन्य उपभोग आयातमा निर्भर हुँदै आएको छ, जसलाई विप्रेषणले धानिरहेको छ । परिवारको एउटा सदस्यले विदेशबाट कमाएर विप्रेषण स्वदेश पठाउने र घरका अन्य सदस्यले उक्त रकम खर्च गर्ने नेपाली विप्रेषणको चरित्रका कारण पनि यस्तो उपभोगमा थप वृद्धि हुन गएको हो ।
दोस्रो, चाडपर्वहरूको राष्ट्रिय चरित्र हुन्छ । सोहीअनुसार चाडपर्वहरूका उपभोगहरू निर्देशित हुन्छन् । देशको भूगोल, परम्परा र उत्पादनको स्थितिले चाडपर्वहरूको मौलिक चरित्र स्थापित गरेको हुन्छ र सोहीअनुरूप उपभोगको आकारप्रकार र आवृत्ति निर्धारण हुने गर्छ । प्रकृतिमा जे प्राप्त छ, सोहीअनुरूप चाडपर्व मान्नु सनातन परम्परा रहिआएको छ । उदाहरणका लागि मध्यपूर्वमा ओलिभको तेल पवित्र मानिन्छ भने सनातन परम्परामा तिलको तेलको महत्त्व अत्यधिक छ । त्यस्तै देवताहरूलाई चढाउने धूप, दीप, नैवेद्यमा पनि स्थानीय उत्पादन र परिकार नै रहने गरेका छन् । तीतेपातीको धूप, गाईभैंसीको दूध, सेल रोटी, दुबो, दहीमा मिसाएको अक्षता, कपासको धागो, आँप, वरपीपलका पात, दुबो, फूल आदि केही प्रतिनिधि उदाहरण हुन् जो प्राकृतिक रूपमा नै प्राप्त हुन्छन् । तिहारमा पनि दहीमा अक्षता मिसाएर लगाउने, सालको पातको टपरीमा सेलरोटी पोको पारेर दिने परम्परागत नेपाली चलन हो । सारांशमा भन्नुपर्दा धार्मिक कार्यसम्पादनमा स्थानीय उत्पादनमा केन्द्रित रही न्यूनतम खर्चमा यस्ता काम सम्पन्न गर्ने पद्धति पुर्खाहरूले स्थापना गरेका थिए । परन्तु पछिल्लो समय धार्मिक कार्यसम्पादनमा हुनेखाने वर्ग, धार्मिक कार्यसम्पादन गर्ने वर्ग र व्यापारीहरूबीच अघोषित साँठगाँठ स्थापित भएको छ । यी तीनओटा वर्गले चाडपर्वमा हुने खर्चको चेकलिस्ट हरेक वर्ष लम्ब्याउँदै गएका छन् ।
भाइटीकामा सालको पातले बेरेको सेलरोटीको पोकाहरूको स्थानमा खाडी मुुलुकको छोहोरा, अमेरिकाको ओखर, तान्जानियाको काजु, अफगानिस्तानको किसमिस, भारतको नरिबल, मलेशियाको सुपारी, बंगालको पानको पात, रेमन्डका सुटका कपडा, चिनियाँ काइयो, युक्रेनको तेलले भरिन थालेका छन् । तिहारमा टीका लगाउने जग्गेको साजसज्जा गर्न पनि इभेन्ट म्यानेजरहरूको सहयोग लिन थालिएको छ । यही अवस्था कायम रहे केही समयभित्र भाइटीका ऋण भनेर बैंक तथा वित्तीय संस्थाहरूले विशेष अफर घोषणा गरेमा अचम्म मान्नु पर्दैन । एकरंगी टीकाको परम्परा सातरंगी टीकाले लिइसकेको छ । तामाको अम्खोराबाट जलधारा दिने कार्य चाँदीको झारीमा पुगिसकेको छ । भाइहरूको आयु अझ वृद्धि हुने त्रास सृजना गरी व्यापारीहरूले सुनको झारीबाट जलधारा दिने माहोल खडा हुने दिन अब धेरै बाँकी छैन । स्वदेशभित्रै यस्ता वस्तु उत्पादन हुने भए त यस्ता क्रियाकलापलाई एक हदसम्म जायज मान्न सकिन्थ्यो ।
चाडपर्वमा जसरी आवश्यक पर्ने वस्तुहरूको सूची हरेक वर्ष ज्यामितीय ढंगबाट बढ्दै गएको छ, त्यो सबै आयातमा आधारित रहेको छ । यस्ता क्रियाकलापले चाडपर्वको मौलिकतालाई नष्ट गर्ने, आडम्बरयुक्त उपभोगलाई बढावा दिने र सारमा भन्नुपर्दा मुलुकुको व्यापारघाटालाई अझ खराब दिशातर्फ लैजान भूमिका खेल्ने स्पष्ट छ ।
यस्ता क्रियाकलाप दशैंतिहार हुँदै तीज, माघेसंक्रान्ति, फागु हुँदै आदिवासी जनजातिका विशुद्ध प्रकृतिमा आधारित पर्वहरूमा पनि बढ्न थालेको छ । यसरी नेपालका मौलिक चाडपर्वहरू धर्मको अभ्युदय, धार्मिक संस्कारमा अभिवृद्धि, संस्कृति र परम्पराको रक्षा र संवर्द्धनको माध्यम बन्नुको साटो अनावश्यक उपभोगलाई वृद्धि गर्ने व्यापारिक स्वार्थको माध्यम बन्न थालेका छन् । यसरी मनोवैज्ञानिक त्रास सृजना गर्दै चाडपर्वलाई आफ्ना मालवस्तु उपभोक्तालाई जबरजस्ती भिडाउने बजार प्रवर्द्धनको औजारका रूपमा प्रयोग गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । यसरी चाडपर्वलाई मालवस्तु भिडाउने बजार प्रवर्द्धनको अस्त्रका रूपमा प्रयोग भइरहँदा यसले नेपालको परम्परागत धर्मसंस्कृति तथा मुलुकको व्यापार सन्तुलन दुवैतर्फ ठूलो हानि गरिरहेको छ । यस्तो प्रवृत्ति समयमै नरोक्ने हो भने नेपालको अर्थतन्त्र र धर्मतन्त्र दुवै चाडपर्वका नाममा हुने आडम्बरयुक्त उपभोगमा आधारित आयातले ध्वस्त गर्ने निश्चित छ ।
उपर्युक्त पक्षलाई दृष्टि गर्दै चाडपर्वका नाममा हुने आडम्बरयुक्त आयात नियन्त्रण गर्न आर्थिक र धार्मिक दुवै क्षेत्रबाट संस्थागत पहल हुन जरुरी छ । चाडपर्वका नाममा हुने आडम्बरयुक्त आयात न्यूनीकरण गर्न चाडपर्वमा उपयोग हुने वस्तुहरूको सूची संस्कृति मन्त्रालयले जारी गर्नुपर्छ । जसरी विवाहमा फजुलखर्चलाई नियन्त्रण गर्न मुलुकी ऐनमा व्यवस्था गरिएको छ, सोहीअनुरूप चाडपर्वमा अनावश्यक खर्च गर्ने प्रवृत्ति नियन्त्रण गर्न सूचीसहितको फजुलखर्ची नियन्त्रण गर्न कानूनी व्यवस्था हुन जरुरी छ । उदाहरणका लागि भाइटीका सालको पातको टपरीमा सेल रोटी मात्र राख्न पाइने कानूनी व्यवस्था गर्न सकेको खण्डमा यसले विगत केही दशकयता नवसम्भ्रान्त वर्गले भित्र्याएको भाइटीकाको पोकोमा सातै महादेशका परिकार राख्ने प्रवृत्तिमा नियन्त्रण आउने निश्चित छ । यस्ता प्रावधानले चाडपर्वहरू मौलिक र समावेशी भई यस्ता कार्यहरूमा गरीबहरूको समेत पहुँच हुने अवस्था सृजना हुने गर्छ ।
चाडपर्वमा हुने फजुलखर्च नियन्त्रणमा धार्मिक संघसंस्थाहरू र धार्मिक कार्यसम्पादन गर्ने पुरोहित वर्गको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । विगत केही समययता धार्मिक कार्यसम्पादनका लागि चाहिने पूजा सामग्रीहरूको सूची लामो र महँगो हुँदै गएको पक्षलाई आत्ममूल्यांकन गर्दै यसलाई पुर्खाले बाँधेको स्थितिअनुसार नै मौलिकतातर्फ उन्मुख गराउँदै छोटो र सस्तो बनाउन पनि आवश्यक छ । आआफ्ना धर्म नियमन गर्ने संघसंस्थाहरूले एउटा आचारसंहिता जारी गर्दै विगत केही दशकयता भित्रको चाडपर्व र धार्मिक कार्यसम्पादनमा आडम्बरयुक्त उपभोगलाई नियन्त्रण गर्न दण्डसंहितासहितको प्रावधान राख्नु जरुरी छ, जसलाई नेपाल सरकारले समेत आन्तरिकीकरण गर्नु जरुरी छ । यसो गर्न सकेको खण्डमा चाडपर्वका नाममा भइरहेको वर्तमान आडम्बरयुक्त, देखासिखीयुक्त र बाध्यात्मक आयातमा कमी आई मुलुकको व्यापारघाटामा उल्लेख्य सुधार आउने निश्चित छ । विशेष गरी तरकारी, फलफूल, मसला, खानेतेल, शृंगारका सामान, शृंगारयुक्त बत्तीहरू, कपडा, तयारी पोशाक, छाता, जुत्ता, ऐना, चुरा, पोते, टीका टिकुली, मैनबत्ती, चिनी, धूप, सख्खर, मिठाई, चकलेट आदिको आयातमा ठूलो परिमाणमा कमी आउने देखिन्छ । यसअतिरिक्त समानान्तर रूपमा चाडपर्वजन्य उपभोगमा आधारित उत्पादनमुखी उद्योगको स्थापना, क्षमता विस्तार र स्तरोन्नत्तिमा पनि ध्यान दिनु आवश्यक छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।