ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चेपाङमार्गले स्थानीय उत्पादन विक्रीमा सहज

२०७९ कात्तिक, १६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनको राप्ती नगरपालिकाको भण्डाराबाट धादिङको मलेखु जोड्ने गरी निर्माण भएको चेपाङमार्गले स्थानीयको दिनचर्याका साथै उत्पादित वस्तुको बजार प्रवद्र्धनमा टेवा पुगेको छ । चेपाङ समुदायको बाहुल्य रहेका धादिङ र चितवनका पहाडी क्षेत्रका कृषि उत्पादन मलेखु र राप्ती नगरपालिकाका बजारमा पुर्‍याउन उक्त मार्गले सहज भएको हो ।

राप्तीका चार वडा पहाडी क्षेत्रमा पर्छन् । ती स्थानमा बाटोको सुविधा नहुँदा स्थानीयको दिनचर्या कष्टकर बन्दै आएको थियो । चेपाङ समुदायको पहिचान समेत हुनेगरी निर्माण गरिएको उक्त मार्गले उनीहरूलाई आवतजावत तथा उत्पादित वस्तुको ढुवानीमा निकै सहज भएको छ । स्थानीय उत्पादन विक्री र किनमेलका लागि घन्टौं लगाएर राप्ती नगरपालिकाका भण्डारा, वीरेन्द्रनगर, खुरखुरे झर्ने त्यस भेगका बासिन्दा उक्त सडक निर्माणबाट लाभान्वित भएका छन् ।

तरकारीखेती गर्दै आएका राप्ती नगरपालिका–११ का आकाश चेपाङ आफूहरूले उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउन सडकले सहज भएको बताउँछन् । ‘पहिले आफैले बोकेर बजारसम्म लैजानुपर्थ्यो, समय बढी लाग्थ्यो र सास्ती पनि धेरै नै हुन्थ्यो,’ उनले भने, ‘सडककै कारण अहिले एक डेढ घन्टामै बजार पुगिन्छ, त्यति नै समयमा घर फर्किन सकिन्छ ।’

सडक सुविधाकै कारण बजारसम्म पुग्न लाग्ने समय घट्नुका साथै पैसाको समेत बचत भएको उनले बताए । उनले करीब चार कठ्ठामा गोलभेँडाखेती गर्दै आएका छन् । बेमौसममा उत्पादन गर्न उनले दुईओटा प्लाष्टिक टनेल बनाएका छन् ।

यसअघि कतिपय किसानले उत्पादन गरेका तरकारी बजारसम्म पुर्‍याउन नसकिँदा फाल्नुपर्ने अवस्था हुन्थ्यो । सडक बनेपछि ढुवानीका साधनमार्फत बजार लगेर बेच्न सकिएको आकाशले बताए । ‘सडकको सुविधाले तरकारीबाट हुने आम्दानी पनि बढेको छ,’ उनले भने, ‘त्यसबाटै घरखर्च चल्ने गरेको छ ।’

राप्ती–११ कै किसान भरत तामाङ पनि बाटोका कारण आफूहरूको दिनचर्या सहज भएको बताउँछन् । आफूले दुई ठाउँमा करीब १५ कठ्ठा जग्गामा गोलभेँडा, सिमी र घिरौंलाको खेती गरेको उनले बताए । ‘सडक र गाडीको सुविधाले उत्पादित तरकारीको विक्रीमा टेवा पुगेको छ,’ उनले भने ।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा भण्डारा–मलेखु जोड्ने गरी चेपाङमार्गको निर्माण शुरू भएको थियो । सोही मार्गका केही ठाउँमा पक्की पुलसमेत निर्माण भएका छन् । बहुवर्षीय योजना अन्तर्गत ट्र्याक खोलेर कालोपत्रको काम समेत अघि बढाउन लागिएको चितवन क्षेत्र नं १ का निवर्तमान सांसद एवं पूर्व अर्थमन्त्री पाण्डेले बताए ।

‘तर, सोचेअनुसार काम हुन सकेको छैन । यो वर्ष उक्त सडकका लागि २० करोड रुपैयाँ विनियोजन भएको छ । बजेट धेरै हाल्दा ठेकेदारले काम गर्न नसक्ने अवस्था देखियो,’ पाण्डेले भने, ‘ठेकेदार पक्षकै कारण यो सडकको काममा ढिलाइ भएको छ ।’ सडकको स्तर सुधार गरेपछि भण्डाराबाट डेढ घन्टामा मलेखु पुग्न सकिने पाण्डेले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)